महोत्तरीका अधिकांश सडक हिलाम्य



 

लक्ष्मी कुमार साह, महोत्तरी
महोत्तरीको सदरमुकाम जोडने सबै सडकमा दुई दिनदेखि परेको पानी हिलाम्य भएको छ। लगातारको वर्षात्का कारण सडकमा पानी जमेपछि सो सडकमा चल्ने यातायात सेवासमेत प्रभावित बन्न पुगेको छ।

महोत्तरीमा सोमबार साँझदेखि परिरहेको पानीका कारण जलेश्वर–मटिहानी सडक खण्ड, जलेश्वर–सम्सी सडक खण्ड, भिट्टामोड, जलेश्वर जनकपुर सडक खण्ड, जलेश्वर–रौजा सडक खण्डलगायतका सडक हिलाम्मे भएका छन्।

लगातार पानी पर्न थालेपछि जलेश्वर मटिहानी सडक खण्डमा चल्ने यातायात समेत बन्द भएको छ भने महोत्तरीको हुलाकी सडकमा पर्ने भिट्टामोड जलेश्वर जनकपुर सडक, जलेश्वर सम्सी सडकको अवस्थासमेत पानीले गर्दा हिलाम्य भई यातायात सेवा प्रभावित बन्न पुगेको छ।

महोत्तरीको जलेश्वर मटिहानी सडकमा यत्रतत्र भएको खाल्डाखुल्डी र जमेको पानीले दुर्घटनाको जोखिम बढेको छ जसले जानआउन समस्यासमेत उत्पन्न भएको छ। यहाँको व्यस्त सडकमा गाडीको चाप अत्यधिक रहेको र वर्षापछि हिलामे हुँदा मानिस, साइकल, रिक्सा, मोटरसाइकललगायत सबै बीच सडकमा नै हिंड्ने गरेकाले दुर्घटनाको जोखिम उत्तिकै बढेको जलेश्वर ४ का स्थानीय अर्पण कर्णले बताए।

कर्णका अनुसार सो ठाउँमा एउटा मोटरसाइकल पार गर्न स्थानीयहरूले ६० रुपियाँदेखि एक सय रुपियाँसम्म लिने गरेका छन्। सडक निर्माण गर्ने ठेक्का पाएका ठेकेदारहरूले सुस्त गतिमा कामलाई अघि बढाउँदा अहिले उक्त सडक हिलाम्य भएकाले सडकमा आवतजावत गर्ने यात्रुलाई पहिले भन्दा बढी समस्या खेप्नुपरिहेको अवस्था आएको हो।

पानी जमेपछि सो सडकमा चल्ने सवारी साधन, पैदल यात्रीहरूलाई निकै समस्या परेको छ भने कतै कतै त वृहत मात्रामा पानी जमेकाले सवारी साधन चल्नै नसक्ने अवस्था समेत रहेको स्थानीय दिपु कुमार साहले बताए।

वर्षाका कारण हिलो र पानी जमेर सडकमा बस, जिप, ट्यांकर, ट्रक, टेम्पो, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउन नसकिने अवस्था छ।

यहाँका व्यस्त सडकमा ओहोरदोहोर गरिरहने गाडीले छ्यापेको हिलोले बाटो हिंड्नै नसक्ने भएको छ। पसल अगाडिको सडकमा जमेको पानी र हिलोले आफूहरूको व्यापार चौपट बनाएको सुगाका व्यापारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्