वन्यजन्तु संरक्षणका लागि कृत्रिम पोखरी निर्माण



 

रविन भट्टराई, ताप्लेजुङ
जंगली जनावर लोप हुनबाट जोगाउन ताप्लेजुङका सामुदायिक वनभित्र कृतिम पोखरी निर्माण गर्न थालिएको छ।

जिल्लाको माथिल्लो क्षेत्रमा पाइने लोपउन्मुख वन्य जन्तुहरू हिउँदको समयमा पानी खोज्दै बसाई जाने भएका कारण वन्य जन्तुलाई संरक्षण गर्ने उद्देश्यले पोखरी निमार्ण गरिएको हो।

सामुदायिक वनसँगको साझेदारीमा विगत ६ वर्षदेखि वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत संस्था हिमाली संरक्षण मञ्च र रेड पाण्डा नेटर्वकको सहर्कायमा जिल्लाको लालिगुराँस सामुदायिक वन र फुरुम्बू खर्क सामुदायिक वनभित्र २ वटा कृत्रिम पोखरी निर्माण गरिएको हो।

यी पोखरी रेडपाण्डलाई लक्षित गरी निर्माण गरिएको रेड पाण्डा नेटर्वकका कार्यक्रम अधिकृत दिनेश घलेले बताउनुभयो। सो संस्थाले जिल्लाको एक नगरपालिकासहित ५ ओटा गाउँपालिकामा वन्यजन्तुको संरक्षणका लागि काम गरिरहेको छ।

भौगोलिक रुपमा बिकट मानिएको ताप्लेजुङमा हाब्रे(रेड पाण्डा), हिउँ चितुवा, कस्तुरी, खरायो, घोरल, भालु, नाउर, वाघ लगायतका वन्य जन्तुहरू पाइन्छन्। तर तिनिहरूको बासस्थान, खानेकुरालगायतका विभिन्न कारण यसको संख्यामा दिन प्रतिदिन ह्रास आइरहेकाले संरक्षणमा थप मद्दत पुगोस भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको हो अधिकृत घलेको भनाइ छ।

पर्यटकीय क्षेत्रको सम्भावना बोकेको ताप्लेजुङलाई खास गरी रेड पाण्डा (हाब्रे) को मुख्य बासस्थानको रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्