लुटबहादुरको “ह्याट्रिक”



 

कुमार श्रेष्ठ, बाँके
लुटबहादुर रावतले कोहलपुरमा ‘ह्याट्रिक’ गरेका छन्। दुईपटक अध्यक्ष बनेका रावतले कोहलपुर नगरपालिकाको मेयर बन्दै जितमा ‘ह्याट्रिक’ गरेका हुन्।

रावतले २०४९ र २०५४ सालमा साविकको कोहलपुर गाविसको अध्यक्ष जितेका थिए। दुवै निर्वाचनमा रावतको निकटतम प्रतिस्पर्धी राप्रपाका नेत्रलाल वली थिए। २०४९ मा ईश्वरी पौडेल र २०५४ मा राजेन्द्र श्रेष्ठले पछ्याएका थिए।

विकासमा दु्रतगतिले अघि बढेको कोहलपुरलाई रझेना गाविस मिसाएर नगरपालिका बनाइएको छ। नगरपालिका बनेपछि भएको पहिलो चुनावमा पनि रावतले बाजी मारेका छन्। कांग्रेसका भानुभक्त भट्टराईलाई ८३ मतले पछि पार्दै रावतले जितमा ह्याट्रिक पूरा गरेका छन्। रावतले ९ हजार ७ ल्याएका थिए भने भट्टराईले ८ हजार ९ सय २४ मत ल्याए। माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ६ हजार २ सय २१ मत ल्याए।

कोहलपुरका जननेता रावतको परिवार २०२२ सालमा सल्यानबाट झरेका हुन्। हरिप्रसाद रावतको नेतृत्वमा कोहलपुर झरेका रावत परिवार कोहलपुरको खम्बा नै मानिन्छन्। स्कुल, कलेज निर्माणदेखि बजार व्यवस्थित गर्नमा लुटबहादुरको ठूलो हात रहेको छ। दुईपटक गाविस अध्यक्ष हुँदा गरेका राम्रा कामले गर्दा नै रावतलाई फेरि जनताले पत्याएका छन्। सरल स्वभावका रावतलाई कोहलपुरका जनताले फेरि एकपटक विकासको चाबी दिएर भरोसा जनाएका छन्। पूर्व–पश्चिम राजमार्ग र सुर्खेत जाने रत्न राजमार्गको संगमस्थल कोहलपुरमा शिक्षण अस्पताल, उच्च मावि शिक्षा परिषद् मात्रै होइन, अरू सेवाप्रदायक कार्यालयहरू स्थापित हुँदै छन्। तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्व चरम सीमामा पुगेका बेला कोहलपुर अझ घनाबस्ती हुन पुगेको स्थानीयहरू बताउँछन्।

कोहलपुरको विकासमा अहोरात्र खटिने नेताका रूपमा चिनिएका रावतलाई ह्याट्रिक गर्न २० वर्ष लागेको छ। ‘कोहलपुरमा त उहाँ हार्नुहुन्न, २० वर्षको बीचमा स्थानीय निकायको चुनाव भइदिएको भए कति पटक अध्यक्ष या मेयर हुनुहुन्थ्यो भन्न सकिँदैन’, कोहलपुरका स्थानीय पत्रकार एवं अगुवा यम रावत भन्नुहुन्छ– ‘प्रजातन्त्रपछिका हरेक स्थानीय निकायको चुनावमा उहाँले जित्दै आउनुभएको छ।’

शिक्षा, स्वास्थ्य, बाटो र ढलको निकास राम्रो बनेको कोहलपुरलाई जनप्रेमी, विकासप्रेमी लुटबहादुरको नेतृत्वले व्यवस्थित शहर बनाउनेमा स्थानीय ढुक्क भएका छन्। नवनिर्वाचित मेयर रावतले २०४९ सालदेखि कोरेका योजनालाई परिमार्जित गरेर पूरा गर्ने बताउनुभयो। बुधबार दिउँसो अन्तिम नतिजा बाहिर आएपछि एमालेका नेता तथा कार्यकर्ताले कोहलपुरमा विजय जुलुस निकालेका थिए।

कोहलपुरको उपमेयरमा भने कांग्रेसकी सञ्जु चौधरी विजयी भएकी छन्। सञ्जुले १० हजार ५६ मत ल्याएर विजयी हुँदा एमालेकी कृष्णा चौधरीले ९ हजार ३ सय ७९ मत ल्याएकी छन्।

कोहलपुरको नतिजा आएसँगै बाँकेको आठवटै तह फाइनल भएको छ। जिल्लामा कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिका जितेर एमाले ठूलो पार्टी बनेको छ। कांग्रेसले डुडुवा र राप्तीसोनारी गाउँपालिका जितेको छ। राप्रपाले नेपालगन्ज उपमहानगरपालिका र संघीय समाजवादी फोरमले नरैनापुर गाउँपालिका जितेको छ।

२०७० सालको संविधानसभा चुनावमा ठूलो पार्टी बनेको एमालेले २० वर्षपछिको स्थानीय निकायको चुनावमा पनि त्यो साखलाई बचाएको छ। यद्यपि, संसदीय चुनावको इतिहासमा भने बाँकेबासीले फरक–फरक पार्टीलाई ठूला बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्