सप्तरीमा बाढीको प्रभाव जारी, प्रभावित क्षेत्रका विद्यालय एक साताका लागि बन्द



 

शिवहरिप्रसाद भट्टराई, राजविराज
अविरल वर्षाका कारण आएको बाढीले एक दर्जनभन्दा बढी गाविसका १ हजार ५ सय घर डुबानमा परे पनि हालसम्म खोलालाई नियन्त्रण गर्न नसकिएका कारण जनजीवन कष्टकर भएको छ।

शुक्रबार रातभरको वर्षापछि विभिन्न खोला र नदीमा आएको बाढीले सप्तरीको विभिन्न गाउँपालिका र नगरपालिकाको झन्डै १ हजार ५ सय घर डुबानमा पारेको थियो। शनिबार, आइतबार र सोमबार मौसम सफा भएपछि विभिन्न संघसंस्थाले तत्कालीन राहत सामग्री लिएर पीडित परिवारको घरघर पुगेका थिए। बाढीले घरबार गुमाएकाहरू थोरै रूपमा पाएको चिउरा, भुजा, चाउचाउ, बिस्कुटभन्दा पनि मौसम सफा भएकोमा केही राहत महसुस गरेका थिए।

तर, मंगलबारदेखि पुनः शुरू भएको अविरल वर्षाले फेरि पनि उनीहरूलाई बिचल्ली बनाएको छ। एक साताभित्रै दोस्रो पटक बाढीले भयावह अवस्था पारेपछि पीडितहरूमा थप त्रास फैलिएको छ। वर्षाले बुधबार पनि निरन्तरता पाउँदा खाडो, जिता, बलान, महुली, दुधैला, सुन्दरीलगायतका खोला र नदीमा आएको बाढीले राजविराज नगरपालिकाको वडा नं. २, ९ र १० का साथै तिलाठी, पकरी, मैनाकडेरी, लौनियाँ, मलेठ, सकरपुरा, रम्पुरा मल्हनियाँ, रूपनी, बसविट्टी, लोखरमलगायत एक दर्जन गाविसका अधिकांश भू–भाग फेरि डुबानमा परेका छन्।

गाउँमा बाढी पसेकाले ४ फिटसम्म पानी जमेको छ। बाढीबाट सर्वाधिक प्रभावित तिलाठीको वडा नम्बर, २, ३, ४, ८ र ९ वडामा ९० घर डुबानमा परेका छन्। त्यहाँ केही आफन्तको शरणमा पुगेका छन् भने कोही मौसम सफा हुने आशामा घर नजिककैको उच्च स्थानमा कष्टपूर्ण जीवन बिताइरहेका छन्।

बाढीले तिलाठीस्थित भन्सार, प्रहरी पोस्ट र राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्याोगिक क्षेत्रलगायतको कार्यालयसमेत जलमग्न बनाएको छ। त्यस्तै महुली खोलाको बाढीले जिल्लाको त्रिकोल र भेडिया तथा दुधैला खोलाको बाढीले रूपनी र वीरेन्द्रबजारका ५ दर्जन घर डुबानमा पारेको छ। लोखरममा घरघरमा बाढीको पानी पसेको छ भने राष्ट्रिय प्राथमिक विद्यालयको खेल मैदान निर्माणका लागि जम्मा गरिएको २० ट्याक्टर माटो र बालुवा बगाएको छ।

घरभित्र बाढी पस्दा तिलाठी वडा नम्बर २, ३, ४, ८ र ९ का २४ परिवार अन्नपात र भाँडाकँुडा छाडेर विस्थापित हुन पुगेका छन्। सो वडाका केही भने अन्नपात र गाईगोरु लिएर सुरक्षित स्थान खोज्दै बस्तीबाट बाहिरिएको तिलाठी गाउँका देवनारायण यादवले बताए। बाढीले तिलाठी खण्डमा एक सय मिटर सडक कटान गर्दा राजविराज–कुनौली सडक खण्डको आवतजावत अवरुद्ध बनेको छ।
उक्त गाउँका सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ। उक्त गाउँमा निजी तथा सरकारी गरी ७ वटा विद्यालय छन्। बाढीले जिल्लाको अधिकांश भूभाग जलमग्न बनाउँदा सयौं बिघा जग्गामा लगाइएको अन्नबाली नष्ट भएको पीडित कृषकहरूले बताएका छन्। पीडितहरूले बाढी नियन्त्रणका लागि दीर्घकालीन उपाय खोज्न सरकारसँग माग गरेका छन्। यता, स्थानीय प्रशासनले बाढीले विभिन्न खोलाका भत्काइएका तटबन्ध मर्मत कार्य शुरू गरेको जनाएको छ। यस कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी साथै सेनाको सहयोगसमेत लिएको छ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बुधबार पनि बाढी प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ। सो क्रममा उहाँले बाढी नियन्त्रणका लागि भइरहेको कामहरू अध्ययन गर्नुका साथै कार्यलाई तीव्रता प्रदान गर्न निर्देशन दिनुभएको थियो। उहाँले बाढीबाट हुने क्षति न्यूनीकरण र पीडितको राहत तथा उद्धारलगायतका कार्यमा स्रोतसाधनले भ्याएसम्म आफूले काम गरिरहेको जनाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्