घर पाएपछि फलामेमा फर्कियो खुसी



 

नेपाल समाचारपत्र
काभ्रे
भूकम्पले भत्काएका घरहरूको पुनर्निर्माण भएपछि पनौती–१ रयाले फलामेका स्थानीयहरूको लुटिएको खुसी फर्किएको छ। फलामेमा स्यामरिटेन्स पर्सले निर्माण गरिदिएका १ सय ४७ घरहरू हस्तान्तरण गरिएको छ।

रयालेको फलामेमा खानेपानी ट्यांकी निर्माण, १ सय ७९ जना व्यक्तिहरूलाई प्रकोपपछिको तयारीको तालिम, २० जना कृषकहरूलाई आय आर्जनका लागि अलैंची खेती सम्बन्धी तालिम दिएको छ। बाँकी १ सय ५० व्यक्तिहरूलाई समेत उक्त संस्थाले तालिम दिने तयारी गरेको छ। साविक रयाले गाविसमा १ हजार ८९ जना भूकम्पपीडितको लाभग्राही सूचीमा समावेश भएका छन्। उक्त संस्थाले घर निर्माण गरिएका व्यक्तिहरूले सरकारको अनुदान प्राप्त गर्ने छैनन्। सरकारको अनुदान प्राप्त गर्नेहरूले घर निर्माण गरेका छैनन्। घरहरू निर्माणको घरमा जग्गा नहुने व्यक्तिहरूलाई समेत स्थानीयको सहयोगमा जग्गा व्यवस्थापन गरी घर निर्माण गरिदिएको छ।

अपांगता, असहाय व्यक्तिहरूलाई पनि उक्त संस्थाले सहयोग गरेको छ। स्थानीय राजनीतिक दल र तत्कालीन गाउँ विकास समितिका सचिव शम्भुप्रसाद सापकोटाको विशेष सहयोगमा रयालेको फलामेका भूकम्पपीडितहरूले आवास प्राप्त गर्न सकेको स्थानीयले बताए। हस्तान्तरण कार्यक्रममा नगरपालिकाका मेयर भीमप्रसाद न्यौपाने, उपमेयर गीता बञ्जारा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सदस्यहरू, प्रमुख जिल्ला अधिकारी शिव सिंखडा, विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष गुणनाथ सापकोटाले रयालेका सबै बस्तीमा आवास निर्माणको कामलाई प्राथमिकता दिने बताए।

९० प्रतिशत माटोले मात्रै निर्माण गरिएको उक्त घरहरू वातावरण अनुकूल मानिएका छन्। तापक्रम नियन्त्रण गर्न सक्ने, भूकम्प प्रतिरोधात्मक, आगलागीसमेत नहुने घरमा चारवटा कोठा छन्। रयालेको कहालीलाग्दो अवस्थालाई उक्त संस्थाले सहयोग गरेपछि फलामेका स्थानीयहरूमा खुसी छाएको स्थानीय नम्रता तामाङले बताइन्। झन्डै साढे ५ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको उक्त घर निर्माणका लागि उक्त संस्थाले स्थानीय २ सय ५२ जना व्यक्तिलाई डकर्मी तालिम दिएको छ। मेथिन्कोटमा समेत २ सय ५५ घरलाई सहयोग गरेको उक्त संस्थाले स्थानीयलाई आफ्नो घर निर्माणका लागि ५० दिन श्रमदान गराएको छ भने काठ, माटो र अन्य स्थानीय सामग्रीहरूको आफैं व्यवस्थापन गर्न लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्