विवाह भोजको ५ लाख आश्रमलाई



 

नेपाल समाचारपत्र
हेटौंडा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य प्रताप विष्टले छोराको विवाह भोजमा खर्च गर्ने रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गरेका छन्। विवाहपछि भोज गरी खर्च गर्ने आमपरम्परा तोड्दै विष्टले आश्रमलाई सहयोग गरेका हुन्।

जेठा छोरा दिवंगत र दुर्गा कार्कीको विवाह भोजमा खर्च गरिने ५ लाख ११ हजार १ सय ११ रुपियाँ हेटौंडाको मानव सेवा आश्रमको भवन निर्माणका लागि उनले सहयोग गरेका हुन्। बुधबार विष्ट परिवारले आश्रम संरक्षक डाक्टर गोविन्द टण्डन र आश्रम प्रमुख रामजी अधिकारीलाई चेक हस्तान्तरण गरेको हो।

आश्रमको हेटौंडा–९, लामसुरेधापमा निर्माणाधीन भवनका लागि केही सहयोग गर्ने उद्देश्यले रकम सहयोग गरिएको उनले बताए। स्वास्थ्य मन्त्रालयमा शाखा अधिकृत बिहंगत र म्याग्दीको सहायक वन अधिकृत दुर्गाबीच असार १९ गते पोखरामा विवाह भएको थियो।

विष्टले नेपाल पत्रकार महासंघ मकवानपुरको लाइब्रेरी निर्माणका लागि १ लाख रुपियाँ सहयोगको घोषणा गरेका छन्। कैलाश गाउँपालिकामा वर्षौंसम्म ओढारमा बिताएका स्व. जयपति चेपाङको प्रतिमा निर्माणका लागि १ लाख रुपियाँ सहयोग गर्ने घोषणा पनि उनले गरेका छन्।

रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले फजुल खर्च गर्ने रकम आश्रमको मानवीय काममा खर्च गर्नु प्रशंसनीय भएको बताए। २० वर्षअघि आफूले छोरीको विवाह गर्दाको रकम हेटौंडा–११ मा रहेको सुकुम्बासी परिवारका छोराछोरी अध्ययन गर्ने शंकरज्योति आधारभूत विद्यालयलाई सहयोग गरेर मानवीय सेवामा लगाएको स्मरण गर्दै मेयर महतले भने– ‘त्यति बेला विवाहको रकम मानवीय क्षेत्रमा खर्च गर्दा धेरैले राम्रो मानेनन्, तर अहिले सबैले राम्रो रूपमा हेरेका छन्। फजुल खर्च गर्नुभन्दा मानवीय क्षेत्रमा खर्च गर्न ध्यान जानुपर्छ।’
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले हेटौंडा मानवीयताको शहरका रूपमा अगाडि बढिरहँदा रकम सहयोग गर्नु उदाहरणीय काम भएको बताए। पत्रकार समाजको सचेतकमात्र नभएर समाजमा सकारात्मक प्रवृत्तिसमेत विकास गर्नुपर्ने समूह भएकाले बिहेको अवसरमा भोजको आयोजना गर्दा हुने खर्चलाई सामाजिक सेवाको क्षेत्रमा क्रियाशील संस्थालाई सहयोग गरिएको विष्टको भनाइ छ। ‘म अरूको बिहेमा सहभागी भएर भोज खाँदै खुसी भएर नाँचे पनि आफ्नै छोराको बिहेमा अरूलाई पनि निम्ता गरेर खुवाउने र नचाउने रहर थियो’, विष्टले भने– ‘भोजको क्रममा हुने खर्चले सामाजिक सेवाको क्षेत्रमा केही सहयोग पुग्ने मेरो सोचाइ रह्यो। छोराले पनि भोज गर्नुभन्दा सहयोग गर्नुपर्छ भन्ने भएपछि उनको मनोबल अझ बढ्यो। र, सहयोग गरें।’

प्रतिक्रिया दिनुहोस्