जनप्रतिनिधिद्वारा काम शुरू



 

नेपाल समाचारपत्र
बैतडी
बैतडीका स्थानीय तहमा जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेलगत्तै कार्यालयमा काम शुरू गर्न थालेका छन्। जनताका पीरमर्का बुझ्ने, कार्यालयलाई व्यवस्थित रूपले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा नगरबोर्डमा छलफल गरेर अघि बढ्ने दशरथचन्द नगरपालिकाका नवनिर्वाचित मेयर नरेन्द्रसिंह थापाले बताउनुभयो।

दशरथचन्द नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापनका लागि छिट्टै पहल गर्ने समेत उहाँले बताउनुभयो। यस्तै अन्य स्थानीय तहमा पनि जनप्रतिनिधिहरूले पदभार सम्हालेर काम गर्न थालेका छन्। पाटन नगरपालिकाको पहिलो बोर्ड बैठकले नगरक्षेत्रभित्रका बिरामीहरूलाई अन्यत्र लग्नुपरेमा निःशुल्क रूपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ। नगर क्षेत्रभित्र आर्थिक अवस्था कमजोर भएका मानिसहरूको पनि बसोबास भएकाले उक्त निर्णय गरिएको नगरपालिकाका नवनिर्वाचित मेयर केशवबहादुर चन्दले बताउनुभयो।

नगरबोर्डले निःशुल्क रूपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको र यसलाई नगरपालिकाको पूर्ण बैठकमा लगेर अनुमोदन गराइने उहाँले बताउनुभयो। यो निर्णयबाट नगरबासीलाई सजिलो हुने विश्वास लिएको मेयर चन्दले बताउनुभयो। शपथग्रहणपछि पदभार ग्रहणगरेसँगै पाटन नगरपालिकाले सो निर्णय गरेको हो। बिरामीहरूलाई डाक्टरले अन्यत्र रेफर गरेमा एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्