जनप्रतिनिधिको ध्यान यता पनि जाओस् , कुकुर र मान्छेले खाने मासु सँगै



 

प्रशान्त वली
काठमाडौं। बजारमा बेच्न राखिएको अधिकांश मासु गुणस्तरहीन रहेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा काठमाडौंका बानेश्वर, शंखमूललगायतका स्थानमा भएको बजार अनुगमनका क्रममा मासु बिक्री–वितरण वैज्ञानिक तवरबाट नभएको खुल्न आएको हो।

फ्रिजमा लामो समयदेखि राखेको, फरक–फरक प्रकृतिका मासु वर्गीकरण नगरेर एउटै भाँडोमा राखेको र वधशालाको उपयुक्त व्यवस्था नगरिएको पाइएको हो।
गुणस्तरहीन मासु बिक्री गरेको भन्दै केही मासु पसलहरूबाट ३ किलो मासु र लेबल नराखेको मसलासमेत नष्ट गरिएको छ। अनुगमन टोलीका संयोजक एवं विभागका मूल्य विश्लेषण शाखा अधिकृत लोकबहादुर कार्कीले अनुगमनलाई प्रभावकारी बनाउन योजना बनाएर अघि बढ्ने बताउनुभयो।

अनुगमनका क्रममा मरेको कुखुराको मासु बिक्रीका लागि राखेको, सडेको मासुबाट ससेज बनाएको तथा खाद्य अनुज्ञापत्रसमेत नलिएको भेटिएको थियो। कुकुरलाई खुवाउने मासु र मान्छेले खाने मासु एउटै फ्रिजमा सँगै राखिएकोसमेत फेला परेको थियो।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका सदस्य दर्शन आचार्यले बजारमा गुणस्तरहीन खाद्य वस्तुको बिगबिगी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन र स्वयं व्यक्ति सचेत हुनुपर्ने बताउनुभयो। उपभोक्ता अधिकारमाथि खेलवाड गर्नेमाथि कडा कारबाही हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

गुणस्तरहीन मासु बिक्री गर्नेलाई स्थानीय शासन ऐन २०५५ अनुसार न्यूनतम २ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ। अनुगमन टोलीका सदस्य भेटनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयका पशु चिकित्सक डा. शशि डंगोलले अयोग्य मासुमा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, बरुसोलोसिसलगायतका जीवाणु भेटिने भन्दै त्यस्तो मासु ख्याल गरेर किन्न आग्रह गर्नुभयो।

मासु खरिद गर्दा हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद नगर्न पशु चिकित्सक डा. डंगोलले सुझाउनुभएको छ। यस सम्बन्धमा सरकारी निकायको अतिरिक्त नवनिर्वाचित स्थानीय प्रतिनिधिहरुले पनि ध्यान दिएमा अनुगमन प्रक्रिया अझ सुदृढ हुन्थ्यो कि ?

प्रतिक्रिया दिनुहोस्