मेयरको पहिलो ध्यान मदिरामा



 

विष्णुप्रसाद भण्डारी, अछाम
मंगलसेन नगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि नवनिर्वाचित मेयर पदमबहादुर बोहराले आफ्नो पहिलो निर्णयका रूपमा नगरपालिकामा बिक्री–वितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने निर्णय गर्नुभएको छ।

शपथ ग्रहण प्रश्चात् कार्यभार सम्हाल्दै मेयर बोहराले यस्तो निर्णयमा हस्ताक्षर गर्नुभएको हो। जिल्लामा अव्यस्थितरूपमा बिक्री–वितरण हुँदै आएको मदिरा व्यवस्थित गर्न त्यसको बिक्री–वितरणको व्यवस्था मिलाउने र यदि व्यवस्थित भएको नपाइए कारबाही प्रक्रियामा जाने निर्णय सम्पन्न नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठकले गरेको छ।

साथै सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाउने सेवाग्राहीलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्रत्येक वडाको टोल–टोलमै गएर वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ। यसका साथै नागरिक उपभोक्ता सहुलियत कार्डलाई व्यवस्थापन गर्न तथ्याङ्क संकलन गरी उक्त कार्य अगाडि बढाउने निर्णय पनि बैठकले गरेको मंगलसेन नगरपालिकाका सूचना अधिकारी नरेश कठायतले जानकारी दिनुभयो। यसअघि नवनिर्वाचित मंगलसेन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम पनि सम्पन्न भएको थियो। यही असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचनबाट निर्वाचित मेयर पदम बोहरा, उपमेयर सरिता उपाध्याय, १४ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

कार्यक्रममा अछामका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद उपाध्याय, पगेनिले मेयर, उपमेयर र वडा अध्यक्षलाई शपथ ग्रहण गराउनुभएको थियो। मेयर पदमबहादुर बोहराले सबै निर्वाचित सदस्यलाई शपथ खुवाउनुभएको थियो। कार्यक्रममा मगलसेन नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य गरी ७२ जनाले सुन्दर मगलसेनको निर्माणका लागि लाग्ने बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट, मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद जैसी ढुगाना, नेपाली कांग्रेसका जिल्ला सचिव नमबहादुर शाही, नेकपा एमाले सचिवालय सदस्य चन्द्र बोहरा, नवनिर्वाचित मेयर पदमबहादुर बोहरा, उपमेयर सरिता उपाध्याय, पत्रकार शिवराज ढुगाना, वडा नम्बर का १ अध्यक्ष मानबहादुर बोगटी, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, वडा नम्बर १४ सदस्य बलबहादुर सोडारी, वडा नम्बर ९ का सदस्य टोपबहादुर रावल, जिल्ला बार ईका अछामका अध्यक्ष कृष्णप्रसाद ढुंगानालगायतले शुभकामना मन्तव्य राख्दै ‘राम्रो नगर, हाम्रो नगर’ बनाउन सबै लागिपर्नुपर्नेमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सहायक निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला अदालतका रूपेश रानाले गर्नुभएको थियो।

यस्तै पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचित जन प्रतिनिधिहरुको शपथ तथा प्रदभार ग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ। नगरपालिकाका निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित नगरपालिा प्रमुख देवराज देवकवोटा, उपप्रमुख अम्बिका चलाउनेलगायत विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति खेमराज अधिकारी, नेकपा एमालेका नगर संयोजक टेकबहादुर शाही, नेकपा माओवादी केन्द्रका नगर संयोजक प्रकाश नेपालीलगायतले बधाई मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी रामबहादुर भण्डारीले गर्नुभएको थियो। यस्तै नेकपा एमाले साँफेबगर नगरपालिका वडा नं. १४ पातालकोटको विजयोत्सव कार्यक्रम सम्पन्न भएको छ। नगर कमिटी सदस्य रामकृष्ण जोशीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश नं. ७ का प्रदेश कमिटी सहकारी विभाग सदस्य एवं खुला सदस्यमा विजयी उम्मेदवार ध्वजबहादुर खड्का रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्