शिवराजमा नेत्रराज र शिवकुमारीको जगजगी



 

सीताराम चौधरी, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेको उदय भएको छ। मेयर र उपमेयर दुवैमा एमालेले विजय हासिल गरेको हो। मतगणनाको शुरुवातदेखि नै अग्रता लिएका मेयर पदका उम्मेदवार नेकपा एमालेका नेत्रराज अधिकारी र उपमेयर पदकी उम्मेदवार शिवकुमारी चौधरीले अन्ततः जित हासिल गरेका हुन्।

कुल २४ हजार ६ सय १८ सदर मतमा नेत्रराजले ६ हजार १ सय ५५ मत प्राप्त गरेका छन्। उनले प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरीलाई १ हजार ४ सय १३ मतले पछाडि पार्दै जित हासिल गरेका हुन्। प्रतिस्पर्धी कृष्णकुमारले ४ हजार ७ सय ४२ मत पाएका थिए। स्थायी शिक्षकको जागिर छाडेर राजनीतिमा छिरेका नेत्रराजलाई विगतका दुवै संविधानसभाको निर्वाचनमा पराजय बेहोर्नुपरेको थियो। तर, यस पटकको स्थानीय तहको निर्वाचनमा उनलाई जनताले साथ दिएपछि शिवराजको मेयर बन्न सफल भए। उमेरले ६० नाघेका उनी अझै पनि निकै जोसिला र फूर्तिला छन्। मीठो बोली, मिजासिला, आँटिला, तार्किक र बफादार स्वभावका उनी आफ्नो कामप्रति सधैं कटिबद्ध रहेको बताउँछन्। शिवराज नगरबासीको सहयोग, साथ र समर्थनमा जित हात पारेको बताउँदै उनले जनचाहनालाई मध्यनजर गर्दै काम गर्ने प्रतिबद्धता जाहेर गरे।

यता उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरी थारूले प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी सुमन यादवभन्दा १ हजार ९ सय ३३ मत बढी पाई जित सुनिश्चित गरिन्। शिवकुमारीले ५ हजार ९ सय ६२ मत पाएकी थिइन् भने प्रतिद्वन्द्वी सुमनले ३ हजार २९ मत ल्याएकी थिइन्। शिवकुमारीले सुमनभन्दा दोब्बर मत ल्याई शिवराजको उपमेयर बनेकी हुन्।

यसै गरी एमालेले शिवराज नगरपालिकाको ४ वटा वडामा प्यानलै जितेको छ। वडा नं. १, ३, ४ र ५ मा एमालेमय बनेको छ। कुल ११ वटा वडा रहेको शिवराजमा दुई वटा वडा ६ र ८ मा संघीय समाजवादी फोरमको प्यानल विजयी बनेको छ। वडा नं. ७ र १० मा स्वतन्त्र उम्मेदवारले जितेका छन् भने वडा नम्बर ११ मा नेपाली कांग्रेसको प्यानलले जित हासिल गरेको छ।

उपमेयरको उम्मेदवारमध्ये शिवकुमारी सायद उनी मुलुककै कान्छी उम्मेदवार हुन्। शिवराज नगरमा नेकपा एमालेबाट उपमेयरको टिकट पाएसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा राम्रै चर्चा पाएकी शिवकुमारीले चर्चालाई सार्थकतामा परिणत गरेर देखाइदिइन्।

टिकट पाएसँगै पहिलोपटक औपचारिक समारोहमा सबैको मन छुने भाषणले उनी एकाएक चर्चामा आएकी थिइन्। अर्कोतर्फ उनको परम्परागत जातीय पहिरनले पनि उनी आकर्षणको केन्द्रविन्दु बनेकी थिइन्। जसले गर्दा उनी सामाजिक सञ्जाल र सञ्चार माध्यममा रञ्जु दर्शनाको नामले समेत चर्चा पाइन्। उनलाई कतिपयले प्रचारका लागि एमालेले उनलाई रञ्जु बनाएको आरोप लगाए भने कतिपयले उनको बोल्ने क्षमता र आत्मविश्वासलाई सम्मान गर्दै रञ्जुको नाम दिएको भन्दै प्रशंसा गरे। उनले सामाजिक सञ्जालमा करिब २ महिनादेखि राम्रो स्थान पाएकी थिइन्। एमालेले मेयरको मत प्राप्त गर्न उनलाई मोहरा बनाएको भनेर विपक्षीले प्रसस्त आरोप पनि लगाएको छ। तर, अहिले आएर यो गलत सावित भयो। उनी निकटम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले शिवराजको उपमेयर बनिन्।

कुल सदर मत २४ हजार ६ सय १८ मध्ये उनले ५ हजार ९ सय ६२ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी सुमन यादवलाई २ हजार ९ सय ३३ मतले पछाडि पार्दै उनले जित हासिल गरिन्। उनका प्रतिद्वन्द्वी सुमन यादवले भने ३ हजार २९ मत पाएकी थिइन्। शिवकुमारीको जितले यतिबेला थारू समुदायमा मात्र होइन नगरबासीमा खुसीयाली छाएको छ। उनको जितले जिल्लामा मात्र नभई देश विदेशमा समेत चर्चा पाएको छ।

जिल्लाको शिवराज नगरपालिका १, शिवपुर घर भएकी शिवकुमारी भर्खर २३ वर्ष ११ महिनाकी छन्। बुबा भग्गु थारू र आमा बउँरी थारुको कोखबाट उनी शिवराज नगरपालिका १, (साविक शिवपुर ७), चैनपुरमा जन्मेकी हुन्। उनी मीठो बोली, हँसिलो अनुहार, निकै मिजासिलो र कसैको आँखामा नबिझाउने स्वभावकी छन्।

शिक्षण पेसा छाडेर एमालेबाट उनी उपमेयरको उम्मेदवार बनेकी थिइन्। गाउँमै रहेको सरस्वती आधारभूत विद्यालयमा निजी स्रोतमा उनी अध्यापन गराउँदै आएकी थिइन्। एमालेबाट शिवराज नगरमा उपमेयरको टिकट पाएलगत्तै परिवारकै सल्लाहमा उनले स्कुलमा राजीनामा दिइन्। आफ्नो जितलाई नगरबासीको जित भएको बताउँदै उनले शिवराजलाई एक नमुना नगरको रूपमा अगाडि बढाउन पहल चाल्ने प्रतिबद्धता जाहेर गरेकी छन्।

शिक्षाशास्त्र संकायबाट स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी सर्वप्रथम आफूले नगरभित्र शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन्। आफू आदिवासी थारू समुदायकी एक नारी भएको बताउँदै उनले दलित, जनजाति, पीछडावर्गका बालबालिकाहरु गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चितीकरणमा परेको गुनासो गरिन्। उनले नगरभित्र मौलाएको भ्रष्टाचार, विभेद, लैंगिक हिंसाजस्ता समस्याको न्यूनीकरण गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा विशेष कदम चाल्ने बताइन्।

सानै उमेरमा विवाह भएकी शिवकुमारीको अहिले ३ वर्षकी एक छोरी छिन्। उनका पति राजेन्द्र चौधरी भने वैदेशिक रोजगारीमा अहिले कतारमा छन्। छोरी अहिले नजिकैको एक निजी स्कुलमा नर्सरी कक्षामा अध्ययनरत छिन्। उनी नगरको गरिमामय उपमेयर पदमा सफल हुनुमा आफ्नो पति राजेन्द्र, ससुरा रामबहादुर, सासु मन्नीलगायत घर–परिवारलाई श्रेय दिन्छिन्।

प्रतिक्रिया दिनुहोस्