खै कसको ध्यान जाने ? महोत्तरीका प्रायः सडकहरु हिलाम्य



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको सदरमुकाम जोडने सबै सडकहरुमा दुई दिनदेखि लगातार पानी पर्नाले सडकहरु हिलाम्य भएको छ ।

 

लगातारको वर्षातका कारण सडकमा पानी जमेपछि सो सडकमा चल्ने यातायात सेवा समेत प्रभावित बन्न पुगेको छ ।

 

महोत्तरीमा सोमबार साँझदेखि एक्कासी परिरहेको पानीको कारण जलेश्वर–मटिहानी सडक खण्ड, जलेश्वर–सम्सी सडक खण्ड, भिठामोड जलेश्वर जनकपुर सडक खण्ड, जलेश्वर–रौजा सडक खण्ड लगायतका सडकहरु हिलाम्मे भएका छन् ।

 

लगातार पानी पर्न थालेपछि जलेश्वर मटिहानी सडक खण्डमा चल्ने यातायात समेत बन्द भएको छ भने महोत्तरीको हुलाकी सडकमा पर्ने भिठामोड जलेश्वर जनकपुर सडक, जलेश्वर सम्सी सडकको अवस्था समेत पानीले गर्दा हिलाम्य भई यातायात सेवा प्रभावित बन्न पुगेको छ ।

 

महोत्तरीको जलेश्वर मटिहानी सडकमा यत्रतत्र भएको खाल्डाखुल्डी र जमेको पानीले दुर्घटनाको जोखिम बढेको छ जसले जान आउन समस्या समेत उत्पन्न भएको छ । यहाँको व्यस्त सडकमा गाडीको चाप अत्यधिक रहेको र वर्षापछि हिलामे हुँदा मानिस, साइकल, रिक्सा, मोटरसाइकललगायत सबै बीच सडकमा नै हिंड्ने गरेकाले दुर्घटनाको जोखिम उत्तिकै बढेको जलेश्वर ४ का स्थानिय अर्पण कर्णले बताए ।

 

कर्णका अनुसार सो ठाउँमा एउटा मोटरसाईकल पार गर्न स्थानीयहरुले ६० रुपैयादेखि एक सय रुपैयासम्म लिने गरेका छन् ।

 

सडक निर्माण गर्ने ठेक्का पाएका ठेकेदारहरूले सुस्त गतिमा कामलाई अघि बढाउँदा अहिले उक्त सडक हिलाम्य भएकाले सडकमा आवतजावत गर्ने यात्रुलाई पहिले भन्दा बढी समस्या खेप्नुपरिहेको अवस्था आएको हो ।

 

पानी जमेपछि सो सडकमा चल्ने सवारी साधन, पैदल यात्रीहरुलाई निकै समस्या परेको छ भने कतै कतै त वृहत मात्रामा पानी जमेकाले सवारी साधन चल्नै नसक्ने अवस्था समेत रहेको स्थानीय दिपु कुमार साहले बताए । वर्षाका कारण हिलो र पानी जमेर सडकमा बस, जिप, ट्यांकर, ट्रक, टेम्पो, अटोरिक्सा र मोटरसाइकल समेत चलाउने नसकिने अवस्था छ ।

 

यहाँका व्यस्त सडकमा ओहोरदोहोर गरिरहने गाडीले छ्यापेको हिलोले बाटो हिंड्नै नसक्ने भएको छ । पसलअगाडिको सडकमा जमेको पानी र हिलोले आफूहरूको व्यापार चौपट बनाएको सुगाका व्यापारीहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्