मृतक र राजस्व बढ्दो



हेटौंडा, (नेस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३÷०७४ को जेठसम्म सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६३ रहेको जनाएको छ ।
गत आर्थिक वर्षमा मकवानपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४२  थियो । गत वर्षको तुलनामा यस वर्ष मकवानपुरमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेको पाइएको छ । मृत्यु हुने ६३ मध्ये ४७ पुरुष, ७ महिला, ७ बालक र २ बालिका रहेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक नवीनकुमार अधिकारीले सवारी चापअनुसार बाटो नबढेकाले दुर्घटना हुने गरेको बताए ।

जिल्ला ट्राफिक कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको जेठसम्म २५ हजार १ सय ५० वटा सवारीलाई कारबाही गरी करिब २ करोड राजस्व असुल गरेको छ । ट्राफिक नियमविपरीत काम गर्ने सवारीचालकबाट कारबाहीस्वरुप १ करोड ९१ लाख ६९ हजार ५ सय असुल गरिएको हो ।

विभिन्न सवारीले ट्राफिक नियम उलंघन गरेको भन्दै मकवानपुरका विभिन्न स्थानमा गरिएको चेकिङबाट यस वर्ष गत वर्षको भन्दा बढी राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अधिकारीले बताए ।

गत आर्थिक वर्षमा २४ हजार ९ सय ४९ वटा सवारी कारबाहीबाट १ करोड २५ लाख ७३ हजार राजस्व संकलन गरिएको थियो । ट्राफिक चेकिङलाई कडाइ गरिरहेकाले असारको समेत जोड्दा राजस्व अझै बढ्ने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्