असारे विकास धमाधम



 

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वत जिल्ला समन्वय समितिबाट सञ्चालित योजनाहरूमध्ये संसद् निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतका योजनाहरूमा उपभोक्ता समितिले गुणस्तरीय काम गरेको पाइएको छ।

जिल्ला समन्वय समितिले अहिले यो आर्थिक वर्षभित्र मर्मत भएका सडक, सिँचाइ तथा अन्य योजनाहरूको प्रगतिको बारेमा स्थलगत अनुगमन क्रममा यस्तो पाइएको हो।


जिल्लाको दक्षिणी क्षेत्रका ३ गाउँपालिका पैंयु, महाशिला र बिहादी गाउँपालिकामा विभिन्न शीर्षकमा झण्डै २ करोड रकम विनियोजन गरिएको थियो। खानेपानी, सिँचाइ, विद्युत् विस्तार, सडक, भवन निर्माणलगायत सो क्षेत्रमा सञ्चालित रहेका योजनाहरूमध्ये धेरैजसो योजनाहरूको काम सम्पन्न हुने चरणमा रहेका छन्।
निर्वाचन क्षेत्र पूर्वाधारको बजेटले त्यहाँका धेरैजसो सडक अहिले सुधारोन्मुख देखिएका छन्। बाच्छा भोक्सिङ, होस्राङ्दी, सरौखोलाअन्तर्गत निर्वाचन पूर्वाधार विशेष कार्यक्रमको ४० लाख बजेट विनियोजन भएकोमा उक्त बजेटअन्तर्गत बिग्रिएको बाटोमा नाली बनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भइरहेको अनुगमनको क्रममा पाइएको छ। पाडेगाउँ (पैदलमार्ग) भञ्ज्या· चिलाउनेखर्क बहाकी स्वास्थ्य चौकी चौरासी फाँट नयाँपोखरी आपलाय कालिगण्डकी सडकको स्तरोन्ततिका लागि विनियोजित भएको ११ लाख रुपियाँ गेप्ता· चिउरीखाल्टा शिवपुरी बेउलीबास सालघारी खोरपोखराको सडकको पनि ११ लाख र भुर्तेलथोक पियाखेत उपल्लो थोक मर्दिखोला सौरीकोट समीबोट टिकरिक सडकमा विनियोजित १० लाख रकम सडकको स्तरउन्नति र सडक मर्मतमा खर्च भएको पाइएको हो। त्यस्तै पूर्वाधार विशेष कार्यक्रमकै शिक्षा र सिँचाइतर्फ रहेका योजनाहरूको पनि अधिकांश योजनाहरूको काम सम्पन्न भइसकेको छ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाहेक अन्य शान्तिका लागि विकास कार्यक्रम, स्रोत सुनिश्चितता तथा जिल्ला समन्वय समितिले बजेट विनियोजन भएर बनेका अन्य योजनाहरूको काम पनि सन्तोषजनक रहेको पाइएको हो। सो क्षेत्रमा सञ्चालित अधिकांश योजनाहरूमध्ये एक⁄दुई बाहेक अन्य योजनाहरूको काम धमाधम भएको पाइएको छ। असार सकिन मात्रै १० दिन बाँकी रहँदा, धेरै उपभोक्ताहरू आफैं काम गरिरहेका थिए त केही उपभोक्ता समितिले डोजर लगाएर छिटो–छिटो सडक खनिरहेको देख्न सकिन्थ्यो। योजनाहरूको काम भएको जुन गाउँमा गयो त्यतै उपभोक्ताहरूलाई काम भ्याईनभ्याई थियो। धेरै उपभोक्ताहरू काममै व्यस्त देखिन्थे। बजेट सक्न ठेकेदारदेखि उपभोक्ता समितिसम्म भ्याईनभ्याई छ। अनुगमनको क्रममा असारे विकासले गर्दा गाउँमा रोपाइँमा समेत कामदार पाउन गाह्रो हुने गरेको पाइयो।

 

प्रतिक्रिया दिनुहोस्