जीएसटी असरको आशंका नेपाल भित्रिने सामान घटे



 

कृष्णउदास खनाल
वीरगन्ज
मेकी देश भारतले यही जुलाई १ तारेखदेखि नयाँ एकीकृत कर प्रणाली गुड्स एन्ड सर्भिसेस टयाक्स (जीएसटी) लगाएपछि त्यसको प्रभाव नेपालको मालसमान आयातमा पनि पर्न थालेको छ। भारतमा उक्त नीति लागू भएको तीन दिनमा नै वीरगन्ज नाकाबाट कम मालसमान भित्रिएको भन्सार कार्यालयले जनाएको छ। खास गरी तेस्रो मुलुकबाट आयात हुने मालसामानको आयातमा निकै कमी आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए। उनका अनुसार मंगलबार दिउँसो सम्ममा ७ गाडी मात्र तेस्रो मुलुकबाट आयात गरिएकोमा त्यसमा कस्मेटिक, खेलौना र रेडिमेड कपडाको आइटम भएको उनले बताए। जब कि १ जुलाई पहिले तेस्रो मुलुकबाट यस्तो सामानहरूको गाडी कम्तिमा १२ वटा प्रवेश गर्दथे।

उनले कर प्रर्णालीले हो कि, के कारणले मालसमान कम आइरहेको छ, ठ्याक्कै भन्न गार्हो भए पनि सामान आयातमा कमी आएको बताएका छन्। यसैका कारण सामान आयातमा कमी आएको भन्ने आफूहरूलाई लागेको उनले बताए। भारतमा यो प्रर्णाली लागू हुनुभन्दा अगाडि भने नेपालमा सामान आयातमा कुनै समस्या नभएको तर यो नीति भारतमा लागू भएपछि सामान कम भित्रन थालेकाले यही कारणले भएको हो कि भन्ने व्यवसायीहरूको विश्लेषण पाइएको छ।

व्यवसायीहरूबाट रक्सौल आसपासमा नेपाल भित्रिने गाडीहरूको लामो लाइन लागेको खबर पाएको पनि उनले बताए। खाद्यान्न तथा नेपाली उद्योगको लागि आयातित कच्चा पदार्थ पहिलेकै परिमाणमा आइरहेको उनले बताए। भारतबाट आउने महँगा गाडीहरूको संख्यामा पनि कमी आएको सूचना अधिकारी यादव बताउँछन्। भारतमा लगाइएको एकीकृत कर प्रणालीले नेपालका व्यवसायीहरूलाई प्रत्यक्ष रुपमा असर पर्न थालिसकेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले बताए। खास गरी भारतको कर नीति र नेपालको कर नीतिमा एक रुपता नभएका कारण पनि यसको असर नेपालमा देखिनु स्वभाविक भएको उनको तर्क छ। यद्यपि यो असर दीर्घकालीन रुपमा भने नरहनेमा उनी विश्वस्त देखिन्छन्। भारतको कर प्रणालीको असर लामो समयसम्म देखिएमा भने नेपालका व्यवसायीहरूसहित सर्वसाधारण पनि मारमा पर्ने व्यवसायीहरूको बुझाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्