महानगरपालिकामा छाडातन्त्र, ‘मान्दै मान्दिनँ, के गर्छौ ?’



 

ईश्वरराज ढकाल
काठमाडौं
‘हामी किन उसले भनेको मान्ने? मान्दै मान्दैनौं, तपाईंले जे गर्नुछ गर्नुस्।’ यो भनाइ काठमाडौं महानगरपालिकाका दुई नगर नायब निरीक्षक (डीएसपी) को हो। आफ्नो मातहतका प्रहरीलाई किन स्पष्टीकरण नसोधेको? भन्ने विषयमा छलफल गर्न बोलाउँदा डीएसपीद्वय राजुनाथ पाण्डे र दिनेश अर्यालले कामपाका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीलाई यस्तो जवाफ दिएका थिए।

पूर्व क्षेत्रका दुई नगर प्रहरीले तास खेलेको विषयमा स्पष्टीकरण सोध्न नमानेपछि प्रहरी महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले स्पष्टीकरण सोध्दा डीएसपी अर्यालले पत्र च्यातेको विषयमा जानकारी लिन महानगरको कार्यालयमा बोलाउँदा दुई डीएसपीले आफूले कसैको पनि आदेश नमान्ने बताएका थिए।

‘हामीले स्पष्टीकरणको विषयमा जानकारी लिन बोलाउँदा दुई वरिष्ठ नगर प्रहरीले मनपरी गाली गरे। कार्यालय नजिक सुन्नेले समेत प्रहरीको आचरणप्रति प्रश्न गरे– ‘ओहो ⁄ कस्तो प्रहरी हो ? कार्यालय प्रमुखलाई मनपरी बोल्ने? उनीहरूलाई कारबाही गर्न नसक्ने पनि त्यस्तै प्रशासन।’

स्पष्टीकरणको विषयमा जानकारी लिन बोलाउँदा प्रहरी महाशाखा प्रमुखको भनाइ नमान्ने भन्दै प्रशासन विभागका प्रमुख कार्की र महाशाखाका प्रमुख हरि कँुवरले सम्झाउन खोज्दा डीएसपी अर्याल र पाण्डेले तथानाम बोलेका थिए। विभागीय प्रमुख कार्कीले आचरणविपरीत काम गर्ने माथि कारवाही गर्ने चेतावनी दिएका थिए।

महानगरका प्रहरीबीच अहिले अत्यन्तै भनाभनको अवस्था आएको छ। आफूसंगैका डीएसपी जोशीलाई प्रमुख बनाएको विषयमा कार्की र पाण्डेले आक्रोश पोख्दै आएका छन्।

वरिष्ठताको आधारमा कामपाले जोशीलाई नै प्रमुख बनाएको थियो। डीएसपीद्वयले भने संगैका प्रहरीलाई हामी कसरी ‘प्रमुख’ मान्ने भन्दै जोशीको निर्देशनको ठाडै उल्लंघन गर्दै आइरहेका छन्।

एक नगरप्रहरीले नेपाल समाचारपत्रसंग भने– ‘अहिले हाम्रो डीएसपी साबबीच त बोलचाल नै छैन। यहाँसम्म कि प्रमुख जोशी साबले सेटबाट दिनुभएको निर्देशन पाण्डे साबले मान्नुहुँदैन। सेटमासमेत बोल्नुहँुदैन।’ आफू जुनसुकै तबरले भए पनि प्रमुख बन्ने चक्करमा लागेका पाण्डेले आफूसंगैको प्रहरीको कुनै पनि कुरा नमान्ने बताउँदै आउनुभएको छ।

हाल कामपामा ३ डीएसपी, ५ जना प्रहरी निरीक्षक र अन्य गरी १ सय २५ जना नगर प्रहरी कार्यरत छन्। अहिले डीएसपीबीच भनाभन हुँदै पानी बाराबारको स्थिति भएपछि संगठनसमेत भद्रगोल हुन थालेको छ।

कार्यकारी अधिकृत ईश्वरराज पौडेलले संगठनको नियमअनुसार वरिष्ठताको आधारमा जोशीलाई प्रमुख बनाउनुभएको थियो। ‘प्रमुखको निर्देशन नमान्ने प्रहरीमाथि पहिलो चरणमा स्पष्टीकरण सोध्छौं, नमाने कारवाही प्रक्रिया अघि बढाउनेछौं’ –प्रशासन विभाग प्रमुख कार्कीले भन्नुभयो।

उहाँले मंगलबार कार्यालय खुल्नासाथ आएका दुई डीएसपीले अशोभनीय क्रियाकलाप गरेको बताउनुभयो। ‘हामी नियमविपरीत चल्ने जोसुकैलाई छाड्दैनौं’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्