कालीगण्डकीको पानीजहाज सेवा अवरुद्ध



 

दुर्गाप्रसाद शर्मा, सेतीबेणी, पर्वत
लुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर) वर्षायामसँगै अवरुद्ध भएको छ। नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो।

स्टिमर सेवा अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा ले ४ घण्टा लामो यात्रा गर्नुपरेको छ। विगत १७ वर्षदेखि व्यावसायिकरूपमा स्टिमर सञ्चालन भएपछि दर्जनौं गाविसका बासिन्दाले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षातको समयमा भने ३ महिना अवरुद्ध हुने गरेको हो।

दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित साविकको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करिब ८ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वत दक्षिणवर्ती क्षेत्रका बासिन्दाका साथै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी साविकका गाविसहरूमा सहजरुपमा यात्रा गर्नुका साथै मालसामान ओसारपसार गर्दै आएका थिए। यातायातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टिमर सेवा वरदान सावित भए पनि वर्षायाममा भने सास्ती खेप्नुपरेको स्थानीयबासीको गुनासो छ। पानीको सतह घटेपछि मात्र स्टिमर सञ्चालनमा आउने व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो।

‘असोजको दोस्रो सातापछि पानीको सतह कमहुने भएकाले त्यसपछिमात्र सञ्चालन गर्छौं’ –उहाँले भन्नुभयो। यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा ४ घण्टाको पैदल यात्रा हिँडेर स्याङ्जाको मिर्मीसम्म पुग्न बाध्य भएका छन्। हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यवसायीले वर्षामा खच्चरमार्फत् महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य हुनुपरेको गुनासो गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्