“लामो खडेरीले अनिकाल निम्त्याउने भो”



 

वीरबहादुर बम
मुगु
विरल वर्षाले देशको विभिन्न भागमा बाढी पहिरो गएर ठूलो जनधनको क्षति पुर्याइरहेको समाचार प्रकाशित भइरहँदा मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा लामो खडेरीले भोकमारी निम्त्याउँदै छ। यहाँ लामो समयदेखि परेको खडेरीले खेतमा लगाएको बालीनाली सुक्न थालेपछि कृषकहरू चिन्तित बनेका छन्।

लामो समयदेखि पानी नपर्दा कृषकहरूले खेतबारीमा लगाएको कोदो, कागनु, पाखो धान, धानको बीउ ब्याडमा नै सुक्न थालेपछि सोरु भेगका साविकका गाविसहरू जिमा, नार्थपु, भिई, फोतुका स्थानीयबासीको बालीनाली खडेरीले बढी असर पारेको छ भने कर्णाली नदीवारिका रारा, कालै र धैनकोटमा आशिक प्रभाव पारेको छ।

चैतको अन्तिमदेखि नै वर्षा हुन छोडेपछि खेतबारीमा लगाएको बालीनाली सुक्न थालेको छ। स्थानीयबासीहरू २ वर्षअगाडिको खडेरीपछि सिर्जना भएको भोकमरी फेरी दोहोरिने हो कि भन्ने चिन्तामा छन्। सिँचाइयोग्य जमिन पनि कम भएको र सबै खेती आकाशेपानीका भरमा गर्नुपर्ने भएकाले खडेरीले लगाएको बालीनाली सबै डढाएपछि चिन्ता थपिएको स्थानीयबासीको भनाइ छ। २ वर्षअघि परेको खडेरीले भोकमरी हुँदा यो क्षेत्रका सबै युवा एकछाक कमाउनकै लागि भारत पसेको लगत्तै अहिले पनि खडेरीले त्यही अवस्था निम्त्याउने हो कि भन्ने चिन्तामा स्थानीयबासीमा पीर थपिएको नार्थपुका स्थानीय शिक्षक हीरालाल शाहीले बताए।

खडेरीका कारण खोलामा बग्ने र पानीका मुहानसमेत सुक्दै गएकाले खानेपानीको पनि हाहाकार हुँदै गएको उनिहरूको भनाइ छ। खडेरीका कारण वनपाखामा समेत घाँसपात पलाउन नसक्दा गाईबस्तुलाईसमेत के खुवाउने भन्ने समस्या परिरहेको वञ्जाय गाउँका राजबहादुर मल्लले बताए। खडेरीका कारण पानीका स्रोत सुक्दै गएकाले रोपाइँसमेत गर्न नपाई धानको बीउ ब्याडमा नै सुकेको र मान्छेका लागि बिहान–बेलुकी एकछाकको जोहो गर्न सकिने भए पनि गाईबस्तुका लागि दिन प्रतिदिन समस्या पर्दै गएको सोरुकोटका स्थानीय स्वास्थ्यकर्मी बिर्खबहादुर मल्लले बताए। सुख्खा खडेरीका कारण स्थानीयबासी, बालबालिकामा आउँमासी, ज्वरो, रुघाखोकीको जस्तो प्रभाव देखिन थालेको उनले बताए। यो बेला सोरु भेगमा खडेरीका कारण बालीनाली सुकेको तथा यसले मानवीय संकट बढाउन सक्ने संकेत देखिएको भन्ने जानकारी प्राप्त भएको र अब केही दिनभित्रै खडेरीग्रस्त ठाउँतिर प्राविधिक तथा कर्मचारी पठाउने तयारी भइरहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामसुरथ पालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्