बाँकेमा आठमध्ये सात तह ‘फाइनल’



एमाले तीन, कांग्रेस दुई, फोरम र राप्रपा एक/एकमा विजयी
कोहलपुरमा एमाले–कांग्रेस टक्कर

नेपाल समाचारपत्र, बाँके । बाँकेमा आठमध्ये सात तहको नतिजा आएको छ । कोहलपुर नगरपालिकाको नतिजा आउन अझै एक दिन लाग्ने देखिएको छ ।

नतिजा आएका सातमध्ये एमालेले तीन तह जितेको छ । एमालेले खजुरा, बैजनाथ र जानकी गाउँपालिका जितेको हो । तिनै ठाउँमा एमालेका प्रमुख र उपप्रमुखसहित बहुमत जितेको छ । खजुरामा प्रमुख किस्मतकुमार कक्षपति र उपप्रमुखमा एकमाया विक, बैजनाथमा प्रमुखमा मानबहादुर रुचाल र उपप्रमुखमा शारदा विक, जानकीमा प्रमुखमा रामनिवास यादव र उपप्रमुखमा भूमिसरा धिताल विजयी हुनु भएको छ ।

कांग्रेसले दुई गाउँपालिका जितेको छ । डुडुवा र राप्तीसोनारी गाउँपालिका कांग्रेसले जितेको हो । डुडुवामा कांग्रेसका नरेन्द्र चौधरी, उपप्रमुखमा साहिदा बानो र राप्तीसोनारीमा लाहुराम थारु र उपप्रमुखमा धनीकुमारी खत्री विजयी भएका छन् । जिल्लामा पहिलो नतिजा आएको नरैनापुर गाउँपालिकामा भने संघीय समाजवादी फोरमका इस्तियाक अहमद र उपप्रमुखमा जयन्तीदेवी श्रीवास्तव विजयी भएका छन् ।

पछिल्लो पटक नतिजा आएको जानकीमा एमालेका यादव झिनो मतले विजयी भएका छन् । खजुरा र बैजनाथमा अन्तर धेरै छ ।

कोहलपुर नगरपालिकामा ७, ८, ९ र १० नम्बर वडा गन्न बाँकी रहेको छ । रातिसम्म दश नम्बर वडाको मत गणना भइरहेको थियो । यो वडामा दुई हजार पाँच सय मतदाता रहेका छन् । ९ मा एघार सय, आठमा एक हजार नौ सय र सातमा एक हजार मत रहेको छ । अहिलेसम्म एमालेका लुटबहादुर रावतले एक सय आठ मतले अग्रता लिइरहेका छन् । १० र ८ नम्बर वडाबाट विजेताको टुंगो लाग्ने स्थानीय नेताहरु बताउँछन् ।

धवलको ‘दोस्रो इनिङ’

नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा विजयी भएका छन् । डा. राणा २० वर्षपछि पुनः मेयर भएका हुन् ।

डा. राणा फरक–फरक पार्टीबाट नेपालगञ्जको मेयर बनेका हुन् । २०५४ सालमा एमालेबाट नेपालगञ्ज नगरपालिकाको मेयर बनेका डा. राणा २० वर्षपछि राप्रपाबाट उपमहानगरपालिका बनेको नेपालगञ्जको मेयर बन्न सफल भएका छन् । डा. राणाको व्यक्तित्वले गर्दा राप्रपाले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्जको मेयर जितेको स्थानीय बताउँछन् । सरल स्वभावका विकासप्रेमी डा. राणालाई सबैजसो पार्टीका मतदाताले मन पराएको देखिन्छ ।

राणाले १२ हजार ५ सय १५ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० ल्याएका थिए । माओवादी केन्द्र र एमाले नगरमा तेस्रो र चौथा भएका छन् ।

२३ वटा वडा रहेको नेपालगञ्जमा सबैभन्दा धेरै आठ वटा नेपाली कांग्रेसले जितेको छ । ६ वटा वडा एमालेले जितेको छ । चार वटा वडा माओवादी केन्द्र, तीन वटा राप्रपा र दुई वटा वडा संघीय समाजवादी फोरमले जितेका छन् ।
नेपालगञ्जको उपमेयरमा भने कांग्रेसकी उमा थापामगर बाजी मार्नुभयो । राप्रपाकी रमारानी गुप्तालाई पछाडी पार्दै थापाले उपमेयर जित्नुभयो ।

नेपालगञ्जको मेयर र उपमेयरले मंगलबार नेपालगञ्जमा छुट्टाछुट्टै विजय जुलुश निकालेका छन् । मेयर डा. राणाको विजय जुलुशमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । ‘हिन्दु–मुस्लिम, भाई–भाई’ का नारा लगाइएको थियो । हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गर्ने राप्रपालाई नेपालगञ्जमा ठूलो संख्यामा रहेका मुस्लिम समुदायले साथ दिएका छन् ।

शालिन र विकासप्रेमी नेताका रुपमा चिनिएका डा. राणाले निकालेको विजय जुलुशमा घरछेउमा उभिएर नगरवासीले स्वागत गरेका थिए । धेरै आश्वासन नबाँड्ने र भनेको कुरा गर्ने नेताका रुपमा चिनिएका डा. राणाले २०७० को संविधान सभा चुनावमा पनि कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालालाई कडा टक्कर दिएका थिए । २०५१ को संसदीय चुनावमा डा. राणा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका थिए ।

२०५४ सालमा शुरु गरेका विकासका आयोजनाहरुलाई पूरा गर्ने प्रतिबद्धता गरेका डा. राणाले सफा, स्वच्छ, हराभरा र औद्योगिक नगर बनाउन लागि पर्ने बताउनुभयो । मेयर राणालाई बजार घुम्ने क्रममा वीपीचोकमा शुभेच्छुकले ३१ किलोको माला लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्