प्रमुखमा पराजित भएपछि राजीनामा



लुम्बिनी, २० असार । नेपाली काँग्रेसका तर्फबाट रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा लड्नुभएका फणीन्द्रप्रसाद शर्माले प्रमुखमा पराजित भएपछि जिल्ला सदस्यबाट नैतिकताका आधारमा राजीनामा दिनुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै उहाँँले काँग्रेस केन्द्रीय समितिले सैनामैनाको प्रमुखको उम्मेदवार बनाएकामा आभार प्रकट गर्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा उहाँले लेख्नुभएको छ, “मेरो नेतृत्वमा चुनाव लड्दा मसहित धेरै साथीहरूले सफलता प्राप्त गर्न नसकेको हुँदा नैतिकताका आधारमा जिल्ला कार्यसमितिबाट राजीनामा दिएको छु । आगामी दिनमा नेपाली काँग्रेसका आदर्श राष्ट्रियता, समाजवाद र लोकतन्त्रका लागि लडिरहने छु ।”

उहाँले अबको समय निष्ठावान रहेर तर काँग्रेसको नीतिबाट कहिल्यै विचलित नहुनेसमेत उल्लेख गर्नुभएको छ । सैनामैना नगर प्रमुखमा नेकपा (एमाले)का चित्रबहादुर कार्की १३ हजार ३६ र शर्माले १० हजार ३०५ मत प्राप्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्