बाढीपहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित



म्याग्दी, २० असार । वर्षासँगै आएको बाढीपहिराले पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ ।
अविरल वर्षाले सडकमाथिबाट खस्ने पहिरो र बाढीले बेनी–दरवाङ सडक खण्डका विभिन्न ठाउँको सडक अवरुद्ध हुन थालेको हो । सडकखण्डअन्तर्गत फापरखेत र सिमलचौरको कस्केरीमा पटक पटक सडक अवरुद्ध हुन थालेको छ ।

सिमलचौरको कस्केरीचोकमा मिठौला– खानीगाउँ– पूर्णगाउँ सडकमा नयाँ विस्तार गरिएको सडकको माटो बाढीले बगाएर ल्याएका कारण सडकमा सवारी आगमनलाई प्रभावित बनाउन थालेको छ । सडकमा थुप्रिएको माटो डोजर लगाएर सफा गरेपछि यातायात पुनःसञ्चालन भए पनि पुनः वर्षा भएमा बाढीले माथिबाट माटो ल्याएर थुपार्ने र यातयात अवरुद्ध हुने खतरा रहेको यातयात व्यवसायीको भनाइ छ ।

जीर्ण सडकमा सवारी अवरुद्ध हुने समस्याले सवारी चालकसँगै यात्रुसमेत समयमै गन्तव्यमा पुग्न नसक्ने र सवारी परिवर्तन गर्नुपर्ने बाध्यताले हैरानी व्यहोर्न बाध्य भएका छन् । वर्षात् सुरु भएपछि बेनी–दरवाङ सडक खण्डअन्तर्गत खोलामा बढेको पानीको सतह, ठाउँ ठाउँमा खस्ने पहिरो तथा खाल्डाका कारण सडकमै बनेका हिलाम्मे तलाउले सार्वजनिक सवारी चालकसँगै मोटरसाइकलमार्फत आवतजावत गर्नेहरु समस्यामा पर्न थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

उहाँका अनुसार बेनीदेखि दरबाङसम्म विविध समस्याका बीच सवारी चलिरहे पनि दरवाङदेखि ग्रामीण सडकमा गुड्ने सवारी साधन पूर्णरुपमा अवरुद्ध बनेको छ । दरवाङदेखि माथिका ग्रामीण सडकमा बाढीपहिराले सडकमा क्षति पुगेपछि ती सडक अवरुद्ध बनेका हुन् ।

दरवाङदेखि सवारी साधन सञ्चालन हुने ताकम हुँदै मुना, निस्कोट, ओखरबोट हुँदै सोले, देवीस्थान, बिम , दिच्यामलगायत ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् ।

कतिपय सडकमा बाढीपहिरो हटाएर सवारी पुनःसञ्चालन भए पनि वर्षाले यातयात सेवा प्रभावित बनेको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । उहाँले आगामी बजेटमा वर्षात्मा हुने सडक अवरोधलाई तत्काल खुलाउने र मर्मत गर्ने गरी बजेटको व्यवस्थापन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्