के बाबुराम माओवादीमा फर्केलान् ?



 

देवराज गुरुङ

बाबुराम भट्टराई माओवादी आन्दोलनको एउटा अभिन्न नाम हो। जनयुद्धमार्फत हजारौँको बलिदानी संघर्षबाटै उनी देशको कार्यकारी प्रमुख बने। संविधान निर्माणका सुप्रिम कमान्डर भट्टराई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ संविधान घोषणालगत्तै माओवादी पार्टीबाट बाहिरिए। वैकल्पिक राजनीतिक शक्ति निर्माणमा होमिए। यद्यपि, उनले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल जनतामाझको पहिलो परीक्षणमा सफल देखिएन। ‘इनिङ’ नै ‘झुर’ भयो। आफ्नै गृह जिल्लामा समेत अनेपेक्षितरुपमा पराजित भए। जहाँबाट बाबुरामले आफ्नो विरासत जोगाउने र इतिहास रच्ने अभिलासामा थिए, सोही अनुसार नै उनी चुनावभर घरदैलो अभियानमा सरिक देखिन्थे।

पढाइमा सधैँ पहिलो भएका बाबुराम राजनीतिमा भने पहिलो हुन सकेनन्। पहिलो बन्ने आशमा नयाँ पार्टी खोले। पार्टीको पहिलो नेता त बने तर, उनको पार्टी पहिलो हुन सकेन। गोरखामै उनी तेस्रो बने। देशैभरमा पाँचौँ।

तर, उनमा आत्मग्लानि भएजस्तो देखिँदैन। उनका अभिव्यक्तिबाट यो प्रस्ट हुन्छ। उनले सामाजिक सञ्जालमा नयाँ शक्ति पछि फर्कदैन, अघि बढ्छ भनेर पोस्ट गरेका छन्। बाबुरामले दिएको यस्तो अभिव्यक्तिले एउटा जब्बर प्रश्न उब्जिएको छ– के बाबुराम पुरानै घर फर्केलान् ? ठूलो अभिलासा र आत्मविश्वास बोकेर नयाँ शक्ति स्थापनामा लागेका बाबुराम सहजै रुपमा माओवादीमा फर्कने छाँटकाँट भने देखिँदैन। हुन त माओवादीभित्रको दमन र सङ्कुचित सोच भएका व्यक्तिहरुका कारण पनि बाबुराम माओवादीबाट अलग भएको बुझिन्छ।

नेपाली राजनीतिमा अझै पनि फरक विचार बोक्ने समूह र व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण सङ्कुचित र घिनलाग्दो छ। यो मानेमा नेपालमा अझै राजनीतिक सोच र व्यवहारको विकास भएको छैन। अझ विशेष गरेर वामपन्थी पार्टीहरुमा यसखाले प्रवृत्ति हाबी छ। बाबुरामले माओवादी पार्टीमा आत्मसम्मानपूर्वक नेतृत्व गर्न पाएनन्। विभिन्न आरोप खेप्दैमा हैरान थिए। देखिएका र लुकेका निम्न कारणले बाबुराम माओवादीमा फर्कने सम्भावनालाई कमजोर पारेको छ।
आफ्नै स्वभावः

विद्वान् भए तापनि बाबुराममा एकमनावादी चिन्तन देखिन्छ। यो कुरा बाबुराम आफैंले पटक–पटक स्वीकार पनि गरेका छन्। घमण्डी र एकांकी स्वभावकै कारण उनले माओवादी पार्टीभित्र खासै प्रभाव जमाउन सकेनन्। उनी आफ्नै परिवार, नातागोता र सचिवालयको मुठ्ठीभित्र थिए। जुन घेरा नयाँ शक्ति निर्माण गरिरहँदासमेत तोडिएन। उनका हरेक निर्णयहरु तिनै घेराबाट सम्प्रेषण हुने गरे, गर्छन्। त्यसैले उनी आफ्नै स्वभाव, पारिवारको निर्णय र सानो झुन्डको बीचमै फसिरहेका छन्। पार्टी नयाँ बनाए पनि उनले आफ्नो सोच, परिवारका सदस्य र निकटका सहयोगीहरुलाई नयाँ बनाउन सकेनन्। उनले गर्ने हरेक निर्णयमा सचिवालयकै स्वार्थ मिसिने गरेको छ। उनको राजनीतिक यात्रामा उनका नजिकैकाहरुले नै पाइला मेटाउँदै गएका छन्। त्यसैले माओवादीमा फर्कने कि नफर्कने भन्ने निर्णयहरु पनि परिवारको सदस्य र सहयोगीहरुको हातमा रहेको छ।
बाबुरामको भ्रमः

नयाँ शक्ति बाबुरामको सपना थियो। देशलाई आवश्यक पनि हो। शुरुवाती दिनहरुमा मानिसहरुको आकर्षण र झुकाव पनि पार्टीभित्र निकै थियो, तर बाबुरामले पार्टीमा नयाँ अनुहार र जनताले पत्याएका व्यक्तिहरुलाई पार्टीमा भित्र्याउन सकेनन्। उल्टै केही नाम चलेका व्यक्तिहरुले उनलाई साथ दिन छाडे। बाबुरामबाहेक अन्य नाम चलेका र आश लाग्दा अनुहारहरु पार्टीमा देखिएनन्। मूलतः पार्टीको सिद्धान्त र कार्यदिशा अस्पष्ट देखियो। पार्टीले विचारमा वाम व्यवहारमा प्रजातान्त्रिक हुने भनियो तर पार्टी कम्युनिस्ट कि अरु कुनै भन्नेमा मानिसहरु स्पष्ट बन्न सकेनन्। धेरै मानिस कार्यदिशा स्पष्ट नभएका कारण बीचैमा अलमलिए। नयाँ प्रयोगका नाममा विचारमा स्पष्ट बन्न सकेनन्। अर्काेतर्फ नयाँ शक्ति भनिरहँदा पुरानै अनुहारहरु पार्टीमा हाबी भएकोले जनताले पार्टीलाई विश्वास गरेनन्। बरु बाबुरामको नयाँ शक्तिभन्दा रविन्द्रको साझा र विवेकशील पार्टीलाई जनताले नयाँ पार्टीको रुपमा स्वीकारे।
अर्काेतर्फ चुनावी तालमेल नयाँ पार्टीहरुसँग गर्ने कि पुरानै पार्टीहरुसँग ? भन्ने विषयमा नयाँ शक्ति पार्टी स्पष्ट बन्न सकेन। यदि बाबुरामले नयाँ प्रयोग र साँच्चै नयाँ शक्ति नै निर्माण गर्ने हो भने चुनावी तालमेल साझा र विवेकशीलसँग गर्नुपर्ने थियो। कस्तोसम्म भने, राजनीतिमा दशकौँ बिताइसकेका बाबुरामको पार्टीलाई भन्दा आलाकाँचा विवेकशीलकी रञ्जुलाई जनताले नयाँ शक्तिको रुपमा स्वीकारे। उपेन्द्र यादवलाई बाबुरामले नयाँ देखेका कारण जनताले झनै पछिल्लो समय नयाँ शक्तिप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएका छन्। पछिल्लो समय बाबुराम उपेन्द्रसँग पार्टी एकता गर्ने तयारीमा रहेको कारण पनि उनी माओवादीमा फर्कने सम्भावना न्यून बन्दै गएको छ। त्यसैले यति बेला बाबुरामले नयाँ शक्तिको सपना देख्नु र उपेन्द्रलाई नयाँ देख्नु नै ठूलो भ्रम साबित बनेको छ।
मनोवैज्ञानिक त्रासः

ठूलो आशा र सपना बोकेर नयाँ शक्ति निर्माण गरेका बाबुराममा पछिल्लो समय मनोवैज्ञानिक त्रास हाबी बन्दै गएको देखिन्छ। माओवादीमा हँुदादेखि नै आफूलाई साथ दिएका र नाम चलेका सहयात्रीहरु यति बेला नयाँ शक्ति नबन्ने निष्कर्षसहित पुरानै पार्टीमा फर्कनको लागि खुट्टा उचालेर बसेका छन्। उनीहरु बिस्तारै शिथिल बन्दै गइरहेका छन्। बाबुराम आफैँभित्र पनि पराजित मानसिकता विकास हँुदै गएको देखिन्छ। राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्ने भनेर लागेका बाबुराम देशमा कार्यकारी प्रमुख हुनुपर्छ भन्दै १० लाखको हस्ताक्षरको पोको बोकेर प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्न लैजानुले पनि पराजित मानसिकता हाबी बन्दै गएको प्रस्ट हुन्छ। उनको त्यो व्यवहारले पनि नयाँ शक्तिको लागि अझै समय अनकूल बनेको छैन भन्ने स्पष्ट हुन्छ। कुनै बेलाका सहयात्री प्रचण्डलाई तथानाम गाली गर्नु र यो देशमा लोकतन्त्र रैनछ भन्ने जस्ता अभिव्यक्ति दिँदै हिँडेकाले पनि उनमा पराजित मानसिकता हाबी भएको प्रस्टै देख्न सकिन्छ।

अराजक राजनीतिः
माओवादीभित्र क्षमतालाई नस्वीकार्ने रोग छ। फरक विचार राख्नेहरुलाई निषेध गर्ने प्रवृत्ति युद्धको समयदेखि नै देखिन्छ। पार्टीभित्र फरक विचार राख्नेलाई सामान्य कार्यकर्ताहरुले समेत गन्दैनन्। बाबुरामले पनि यो समस्या पार्टीभित्र निकै झेले। यतिसम्म कि प्रचण्ड निकटका सामान्य कार्यकर्ताहरुले बाबुरामलाई नेताको दर्जा त के, सामान्य मानिसको दर्जाभित्र समेत राखेनन्। भट्टराईले पार्टी छोड्नुको एउटा कारक तत्व पार्टीभित्रको अराजक राजनीति पनि हो। माओवादीमा फर्किए पनि पहिलेजस्तै अपमान खेप्नुपर्ने डर र चिन्ताले पनि बाबुराम माओवादीमा फर्कने सम्भावना झीनो मात्रै देखिन्छ।
लोकलाजः
नेपालका नेताभन्दा जनता धेरै अराजक छन्। पार्टी फुटाउँदा गाली गर्छन्। एकता गर्दा कुरीकुरी गर्छन्। कुरा काट्न र खिस्याउन सामान्य विषय नै पर्याप्त बन्छ। बाबुरामको हुत्ति देखियो भन्दै उनीहरुले गर्ने आलोचनाको सम्भावनाका कारण पनि उनी फेरि पार्टीमा फर्कन मनोवैज्ञानिकरुपमा त्रसित रहेकोले झट्टै निर्णयमा पुग्न गाह्रो देखिन्छ।

कार्यकारीको लोभः
बाबुरामलाई धेरै समयअगाडिदेखि आश लागेको र चाहेको विषय हो कार्यकारी पद। अझै पनि बाबुराममा संविधान संशोधन भएर कार्यकारीको लागि जनताले चुनेर पदमा पुर्याउने झीनो आशा उनीभित्र जीवितै छ। नयाँ शक्ति असफल भए पनि कुनै कोणबाट, कार्यकारीको मुद्दाले न्याय पाउनेमा आशावादी छन्। नयाँ शक्ति असफल बने पनि कार्यकारीको मुद्दाले ठाउँ पाउनेमा उनी विश्वस्त छन्। त्यसैले पनि उनी माओवादीमा फर्कन चाहन्नन्। किनभने, एउटै पार्टीमा रहँदा सोको सम्भावना पनि घट्ने उनको बुझाइ छ।

अहिलेकै अवस्थामा बाबुरामम माओवादीमा फर्कने सम्भावना भने कुनै कोणबाट पनि देखिन्न। उनको सचिवालय, परिवार र कार्यकर्ताको चौतर्फी दबाब भयो भने यसै भन्न सकिन्न। उनलाई प्रचण्ड स्वयंले आधार दिएमा एकताबद्ध हुन सक्छन्। बाबुरामको घेरामा अवसरवादी र खुरापाती प्रभावशाली छन्। तिनले बाबुरामलाई माओवादीमा फर्कन दिँदैनन्। किनभने, एउटै पार्टी हुँदा उनको हालिमुहाली चल्दैन। उनीहरुको राजनीति जनतामा सामाजिक सञ्जालमा मात्रै सीमित छ। तेस्रो घेरामा बाबुरामलाई वास्तविक माया गर्ने र राजनीति बुझेको तप्का छ। तर विडम्वना ⁄ तिनलाई घेरा तोडर बाबुरामकोमा पुग्न जेलब्रेक गर्नुभन्दा गाह्रो छ। बाहिरी दबाबले मात्रै बाबुराम अवसरवादी खेमाको घेराबाट मुक्त होलान् कि ?

माओवादीभित्र क्षमतालाई नस्वीकार्ने रोग छ। फरक विचार राख्नेहरुलाई निषेध गर्ने प्रवृत्ति युद्धको समयदेखि नै देखिन्छ। पार्टीभित्र फरक विचार राख्नेलाई सामान्य कार्यकर्ताहरुले समेत गन्दैनन्। बाबुरामले पनि यो समस्या पार्टीभित्र निकै झेले। यतिसम्म कि प्रचण्ड निकटका सामान्य कार्यकर्ताहरुले बाबुरामलाई नेताको दर्जा त के, सामान्य मानिसको दर्जाभित्र समेत राखेनन्। भट्टराईले पार्टी छोड्नुको एउटा कारक तत्व पार्टीभित्रको अराजक राजनीति पनि हो।

प्रतिक्रिया दिनुहोस्