बाढी–पहिरोपीडितलाई हेर



 

देशका विभिन्न भागमा गएको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढी–पहिरोमा परेर कैयौंको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् । खासगरी सप्तरी, कास्की, पर्वत, प्युठान, रौतहट, स्याङ्जा, मुगुलगायतका स्थानमा बाढी–पहिरोले ठूलो परिमाणमा धनजनको क्षति भएको छ ।

सानोतिनो वर्षा हुँदै बाढी–पहिरोको चपेटामा मुलुक पर्ने गरेको वर्षौं भए पनि त्यसको दीर्घकालीन निदानको उपाय अवलम्बन गरेको पाइएको छैन । कतिपय क्षेत्रमा बाढी–पहिरोको कारण छिमेकी भारतसँगको बाँध पनि कारक रहेको बताइँदै आएको छ । नेपालका नदीनालाले बेला–बेलामा भारतीय भूभागमा पनि अप्ठेरो अवस्था सिर्जना गरिरहेको पनि अर्को एउटा सत्य हो । त्यसैले भारतसँग सीमा जोडिएका क्षेत्रमा देखिएका यस्ता गतिविधिको अनुगमन गरेर दुवै पक्षलाई लाभ हुने गरी समस्याको निदान खोज्नतिर सरकार लाग्नु जरुरी रहेको छ ।

यसै गरी पर्यटकीय नगरी पोखरामा अहिले जमिन भासिने जस्तो गम्भीर समस्या बारम्बार दोहोरिने गरेको छ । त्यसको त्रास स्थानीय जनतामा मात्रै होइन कि समग्र पर्यटन क्षेत्रमा नै फैलन सक्ने कुरालाई नजरअन्दाज गर्न सकिँदैन । के कारणले त्यहाँको भूभागमा बारम्बार समस्या आइरहेको छ, त्यसको भौगर्भिक अध्ययन गरी बेलैमा निदानको उपाय पत्ता लगाउनुपर्दछ । नत्र त्यसले भविष्यमा नसोचिएको क्षति पुर्याउन सक्छ । अहिले नेपाल आउने जोसुकै पर्यटक पनि एकपटक पोखरा पुग्नका लागि लालायित हुने गरेका छन् । तर, जमिन भासिने समस्या बारम्बार आयो र मान्छेको ज्यान नै जोखिममा पर्ने भयो भने पर्यटकको गन्तव्य नै फेरिन पनि सक्छ । यस्तो भएको खण्डमा समग्र मुलुकलाई घाटा लाग्ने त छँदै छ, सो क्षेत्रको विकासलाई पनि असर गर्नेछ । त्यसैले यसतर्फ सोचेर राज्यले आवश्यक उपाय खोज्नु बुद्धिमानीपूर्ण हुन सक्छ ।

त्यसै गरी अन्य क्षेत्रमा पनि दुर्घटना हुने सम्भावित क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा बस्ती बस्न नदिनेतर्फ पनि सोच्नु राज्यको दायित्व हो । प्राकृतिक विपत्ति हो भनेर राज्य पन्छिन मिल्दैन । यसै गरी बिचल्लीमा परेकाहरुको उचित हेरचाह गर्नु पनि राज्यको दायित्व हो । उनीहरुलाई क्षतिको मात्रा मूल्यांकन गरेर राज्यका तर्फबाट आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नु पनि जरुरी रहेको छ । हरेक वर्षामा केही दिन यस्तो घटना हुने, केही दिन सञ्चारमाध्यममा सामग्री प्रकाशित हुने र राज्य सधैँ बेपर्वाहका साथ मौन बस्ने परिपाटी अब सुधार्नु जरुरी रहेको छ । यसतर्फ सम्बद्ध पक्षको अविलम्ब ध्यान जाओस् ।

 

प्रतिक्रिया दिनुहोस्