ट्रम्पको मिडियाफोबिया, रम्पद्वारा रेसलिङमा सीएनएनलाई पछार्दै गरेको भिडियो पोस्ट



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार च्यानल सीएनएनसँगको आफ्नो विवादलाई नाटकीय बनाउँदै ट्विटमा एक भिडियो शेयर गरेका छन्। भिडियोमा रेसलिङका क्रममा सीएनएनको मुखौटा लगाएका एक व्यक्तिलाई पिट्दै गरेको देखाइएको छ। ट्रम्पले ती व्यक्तिलाई पिट्दै मञ्चबाटै खसाले। यो पुरानो भिडियोलाई बिगारेर इफेक्ट्सको प्रयोग गरी बनाइएको हो।

ट्रम्पले सामाजिक सञ्जालमा २८ सेकेण्डको उक्त भिडियो पोस्ट गरेको न्युयोर्क टाइम्सले जनाएको छ। रेसलिङ इभेन्टमा सहभागी भएका ट्रम्पले सीएनएनलाई पिट्दै भुईंमा पछारेको भिडियोमा देखाइएको छ। सीएनएनको लोगोलाई एफएनएन अर्थात् फेक न्युज नेटवर्कका रूपमा देखाइएको छ।

गत शनिबार वासिङ्गटनमा ट्रम्पले सीएनएनलाई काम नलाग्ने पत्रकारिताको संज्ञा दिएका थिए। उनले फेक मिडियाले आफूलाई ह्वाइट हाउस जानबाट रोकेको बताए। ‘तर म राष्ट्रपति हुँ, उ होइन’ –उनले भने। ट्रम्पको उक्त भिडियोलाई लिएर धेरैले आलोचना गरेका छन्। पत्रकारले यसरी सञ्चारमाध्यमको प्रयोग गर्नुले मान्छेमा आक्रोश बढ्न सक्ने र उनीहरूमाथि आक्रमण हुनसक्ने बताए।

एवाइटीका कार्यकारी सम्पादक डिन बेकले भने– ‘राष्ट्रपति जो–कोही पत्रकारविरुद्ध बयानबाजी गरिरहेका छन्। यसले सञ्चारमाध्यमविरुद्ध आक्रोश फैलिन सक्छ।’
यद्यपि ट्रम्प प्रशासनले भिडियो पोस्टको बचाउ गरेको छ। ट्रम्पको गृह सुरक्षा सल्लाहकार थोमस बोसर्टले भने– ‘यसले कसैलाई कुनै खतरा छैन। ट्रम्प एक सही राष्ट्रपति हुन् र उनले आफूलाई सही ढंगले प्रस्तुत गरेका छन्।’

ट्रम्पले आफ्नो ट्विटमा सञ्चारमाध्यमलाई गाली गर्दै लेखेका छन्– ‘द फेक न्युज मिडिया (न्युयोर्क टाइम्स, एनबीसी, एबीसी, सीबीएस र सीएनएन) मेरो मात्र होइन, अमेरिकी जनताकै शत्रु हुन्।’

यसअघि ट्रम्पको एउटा ट्विटमा न्युयोर्क, टाइम्स, सीएनएन, एबीसी र अन्य थुप्रै सञ्चारमाध्यमको नाम उल्लेख गर्दै अन्त्यमा ‘सिक’ लेखेका थिए।

ट्रम्पले ह्वाइट हाउसमा एक पत्रकार सम्मेलन बोलाएको र त्यहाँ पनि उनले सञ्चारमाध्यमलाई घोचपेच गरेका थिए। उनले भने– ‘सञ्चारमाध्यमहरू हाम्रो प्रशासनमाथि हमला गर्ने प्रयास गरिरहेका छन्। किनभने उनीहरूलाई थाहा छ, हामीले जे शपथ लिएका थियौं, हामी त्यसैलाई पछ्याइरहेका छौं र उनीहरू कुनै पनि हातलमा यसमा खुसी छैनन्।’

आफूले टिभी खोल्दा वा अखबार पढ्दा सँधै गलत खबरहरू मात्र देख्ने गरेको र स्थिति भने त्यसको ठीक उल्टो हुने गरेको उनले बताए। आफ्नो प्रशासन अत्यन्त सशक्त ढंगले चल्ने मेसिनले जस्तै काम गरिरहेको तर अहिलेसम्म आफ्नो क्याबिनेटले अनुमोदन नपाएको उनले गुनासो गरेका थिए। आफूसँग राम्रो मान्छे भएको, उनीहरू अत्यन्त मेहनती भएको तर उनीहरुलाई गलत तरिकाले पेस गरिरहेको ट्रम्पले आरोप लगाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्