मनसुनमा पनि नरोकिने



 

सुरेश तामाङ, काठमाडौं
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार भइरहेको कोटेश्वर–कलंकीसडक खण्डको कार्य मनसुनमा पनि निर्बाधरुपमा सञ्चालन हुने काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ।
योजनाका योजना प्रमुख ज्ञानेन्द्र झाले मनसुन शुरू भए पनि सडक सुधार कार्यअन्तर्गतको कालो पत्रे गर्नेबाहेकका काम रोकिनुनपर्ने बताउनुभयो।

‘हामीले यो सडक सन् २०१८को जुलाईभित्र सुधार गर्नुपर्ने हुन्छ’, योजना प्रमुख झाले भन्नुभयो– ‘मनसुनमा सुधार कार्य सम्पन्न गर्नका लागि निरन्तर काम हुन्छ।’
उहाँका अनुसार मनसुन अवधिभरि चक्रपथ सुधार कार्य सम्पन्न गर्न कच्चा पदार्थ जुटाउनेदेखि ब्लकहरु बनाउने कामहरु हुनेछ। यो वर्ष समयमै मनसुन शुरू भएकामा योजनाले तय गरेको लक्ष्य भने पूरा हुन सकेन। योजनाले असार मसान्तसम्म ५ किमि सडक कालो पत्र गर्ने लक्ष्य राखेको थियो।

मनसुन शुरू भएकै कारण ५ किमि सडक कालोपत्रे गर्नेमा साढे ४ किमि मात्रै कालोपत्रे गर्न पाएको योजना प्रमुख झाले बताउनुभयो। योजनाले कोटेश्वरदेखि एकान्तकुनासम्म सडकको दुईतर्फ दुई लेनको कालो पत्रे गर्ने भनिए पनि कुसुन्तीसम्म मात्र भएको छ।

लक्ष्य हासिल गर्न योजनाले ललितपुरको ग्वार्काे, सातदोबाटो, महालक्ष्मीस्थानका दुईतर्फको सडक खण्डमा सर्फेस ड्रेसिङ गर्दै आसफल्ट कंक्रिट राख्ने तयारी त गर्यो तर मनसुनकै कारण आसफल्ट कंक्रिट राख्न नपाएको योजना प्रमुख झाले बताउनुभयो। सडकमा सर्फेस ड्रेसिङ गरेर आसफल्ट कक्रिट राखेपछि पूर्णरुपमा सवारी गुडाउन तयारी हुन्छ। तर डे«सिङ गरिसकेका खण्डमा आसफल्ट कंक्रिट राख्न प्रिमनसुनको झरीले गर्दा रोकिएको थियो।

भूकम्प र नाका बन्दीले गर्दा केही महिना ढिला भएको सडक सुधारको कार्य समयमै सम्पन्न नहुने देखिएपछि १ वर्ष योजनाको म्याद थपियो। सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण शुरू गरेको निर्माण पक्षले सन् २०१८ जुलाई ३१ भित्र काम सकिने योजनाले जनाएको छ।

१० दशमलव ३९ किमी दूरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकारबीच द्विपक्षीय सम्झौता भएको थियो भने सडकको सुधारको काम चिनियाँ ठेकेदार कम्पनी साङ्घाई ग्रुपले गरिरहेको छ। सडक सुधारका लागि ४ अर्ब ९९ करोड २० लाख अनुमानित नेपाली रकमखर्च हुँदै छ।

त्यस्तै, कलंकीमा बनिरहेको अन्डरपासको काममा पनि मनसुनले खासै प्रभाव नपार्ने योजनाले जनाएको छ। योजनाले हाल रिटेनिङ वाल, पाइलिङ र पुलको स्ल्याब बनाउने कामहरु भइरहेको जनाएको छ।
८ सय मिटर लामो अन्डरपासमा २० देखि ३४ मिटर गहिराइसम्म गएर पाइलिङको काम भइरहेको योजना प्रमुख झाले बताउनुभयो। योजनाले मनसुनमा पाइलिङको काम सम्पन्न गरेर मनसुनपछिको तीन महिनाभित्र अन्डरपासबाटै सवारी सञ्चालन गर्न मिल्ने मनाउने योजनाको लक्ष्य रहेको उहाँले बताउनुभयो।
विभिन्न कारणले गर्दा निर्माण थालेको ४ वर्ष बित्दा समग्रमा कोटेश्वर–कलंकी सडक खण्डको आधा मात्रै काम भएको छ। काठमाडौं चक्रपथ सुधार योजनाले जनाएअनुसार सो सडकको भौतिक प्रगति ५५ प्रतिशत सकिएको छ।

योजनाको म्याद सकिन अब १ वर्ष मात्रै बाँकी छ। यस बीचमा पनि योजनाको काम बन्ला भन्नेमा शंका उब्जेको जानकारहरु बताउँछन्।

योजनाको काममा सडक विभाग, डिभिजन सडक कार्यालय, नेपाल टेलिकमलगायतको सहयोग रहे पनि बिजुलीको पोलहरु समयमै सार्न नसक्दा निर्माण पक्षको कामलाई समस्या उत्तिकै छ।

हाल बल्खु सडक खण्डको १४ सय मिटरमा बिजुलीको पोल सार्नुपर्ने छ। त्यस्तै नख्खु दोबाटो र चापागाउँ दोबाटोमा रहेको हाइटेन्सन लाइन सार्न ढिलाइ भइरहेको छ।

समयमै काम सम्पन्न गर्न रातदिन कामदारहरु फिल्डमा खटिएका छन् भने निर्माणका लागि चाहिने कच्चा पदार्थको पनि सहज आपूर्ति भइरहेको योजनाले जनाएको छ।

हाल दिनको ४ सय घनमिटर सामग्री उत्पादन गरिरहेको छ। निर्माणका लागि चाहिने सामग्री भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको जग्गामा भण्डारण गरी राखिएको छ।

६२ मिटरको चौडाइमा निर्माण हुन लागेको उक्त सडकको मेनलेन १५ मिटर, ६⁄६ मिटर पहुँचमार्ग (एक्सेस रोड), साढे ७ मिटर दायाँवायाँ ट्रइक सर्भिस, अन्य स्थानमा पर्खाल र हरित क्षेत्रले ओगटेको छ।

 

प्रतिक्रिया दिनुहोस्