फाइभ जी सन् २०२० सम्ममा आइसक्छ



राकेश ताम्रकार
वरिष्ठ इन्जिनियर, डाटाङ् कम्पनी, चीन

पाटनमा जन्मिनुभएका राकेश ताम्रकार हाल चीन सरकारको रिसर्च एन्ड डेभलपमेन्ट, डाटाङ कम्पनीको वरिष्ठ इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ। सानैदेखि पढाइमा निकै रुचि राख्ने उहाँ बेइजिङ युनिभर्सिटी अफ पोस्ट एन्ड टेलिकम्युनिकेसनका कलेज टपर पनि हुनुहुन्छ। अध्ययनका लागि सन् १९९२ मा चीन जानुभएका ताम्रकारले बेइजिङमा उच्च पदमा रहेर काम गरेको १५ वर्ष भइसकेको छ। उहाँ कार्यरत कम्पनीले भविष्यमा हुनसक्ने प्रविधिका लागि काम गर्दछ। उहाँ प्रोडक्ट डेभलपमेन्ट र त्यो प्रोडक्टको आइडियालाई डिफेन्ड गर्न संसारभरका अरू कम्पनीका वैज्ञानिकसँग संवाद गर्नुहुन्छ। सन् २००८ देखि उहाँको काम संसारभर यात्रा गरेर आफ्नो कम्पनीले आविष्कार गरेका आइडियालाई डिफेन्ड गर्नु हो। थ्रिजी प्रविधिको समयदेखि काम गर्न थाल्नुभएका उहाँले अहिले फाइभ जीका लागि के कस्तो आवश्यकता पर्छ र प्रोडक्ट स्पेसिफिकेसन कस्तो हुनुपर्छ भन्ने कुरामो कम्पनीको काममा केन्द्रित हुनुहुन्छ। यही विषयमा केन्द्रित भएर नेपाल समाचारपत्रका लागि दिरेकलाल श्रेष्ठले उहाँसँग गर्नुभएको कुराकानी।

विश्वमा टेलिकम्युनिकेसन प्रविधिमा काम गर्ने कम्पनीहरू कुन–कुन हुन् ?

अहिले डाटाङ, सामसुङ, नोकिया, जेटीई, हुवावे, एरिक्सनलगायतका कम्पनीको बजारमा दबदबा छ।

नोकिया भनेको माइक्रोसफ्ट होइन र ?

नोकियाले स्मार्ट फोन सेग्मेन्ट मात्र माइक्रोसफ्टलाई बेचेको हो। उनीहरूको रिसर्च तथा डेभलपमेन्ट डिपार्टमेन्ट र नेटवर्क विजनेस अझै आफैसँग छ।

यसमा अमेरिकाको सिलिकन भ्यालीका कम्पनी छैनन् र ?

पछिल्लो समयमा गुगलले निकै रुचि देखाएको अवस्था छ। सिलिकन भ्यालीका कम्पनीहरू कन्फेरेन्सहरूमा उपस्थित त हुन्छन् तर खासै आफ्ना आइडिया यो क्षेत्रमा दिइराखेका छैनन्। उनीहरू फ्युचर टेक्नोलोजी कतातिर जाँदै छ भनेर सुन्न र बुझ्न मात्र आउँछन्।

तपाईं कार्यरत रहेको कम्पनीले के–के काम गर्छ ?

हामीलाई संयुक्त राष्ट्रसंघअन्तर्गत आईटीयूले (अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन) फाइभ जी प्रविधिमा यी–यी मापदण्ड हुनुपर्छ भनेर गाइडलाइन दिन्छ। हामी त्यो गाइडलाइनलाई कसरी संसारभर अभ्यास गर्न सम्भव छ भन्ने सोचेर प्रविधि विकास गर्छौं। हरेक वर्ष हुने ग्लोबल कन्फेरेन्समा हरेक कम्पनीले आफ्नो आइडियालाई प्रस्तुत गर्छ। जसको आइडिया सबैभन्दा उत्कृष्ट हुन्छ, उसैको आइडिया फाइभ जीमा प्रयोग हुन्छ। प्रायःजसो एउटा कम्पनीको मात्र नभएर केही कम्पनीको आइडिया मिलाएर फ्युचर टेक्नोलोजी बनाइन्छ। आइडिया स्वीकृत भइसकेपछि हाम्रो कम्पनीले मोबाइल, ट्याब्लेट र कम्प्युटरले फाइभ जी प्रविधि प्रयोग गर्न प्रोडक्टले बनाउनुपर्ने टेक्निकल स्पेसिफिकेसनको गाइडलाइन कोरिदिन्छौं।

त्यस्तै विकसित मुलुकमा स्याटेलाइट, आर्मी, प्रहरी तथा विभिन्न निकायले फरक फ्रिक्वेन्सी प्रयोग गरिरहेका हुन्छन्। हामीले कुन फ्रिक्वेन्सी कमन छ भनेर पनि गृहकार्य गरिरहेका हुन्छौं ता कि ग्राहकलाई आफ्नो प्रोडक्ट संसारभरि प्रयोग गर्न सजिलो होस्।

तपाईंहरूको आइडिया पिचिङ र ग्लोबल कन्फेरेन्सका बारेमा पनि केही भनिदिनुस् न ?

फ्रान्समा प्रधान कार्यालय भएको युरोपियन टेलिकम्युनिकेसन स्ट्यान्डर्ड इन्स्टिच्युटले थ्रिजी पार्टनरसिप प्रोजेक्टको शुरुआत गरेको हो। कन्फेरेन्स थ्रिजीपीपीले हरेक वर्ष विभिन्न चरणको कन्फरेन्स आयोजना गर्छ। यसअन्तर्गत हरेक कम्पनीले कन्फेरेन्सको एक हप्ताअगाडि नै आफ्नो अन्तिम प्रस्तुतीकरण पठाउनुपर्ने हुन्छ। ती प्रस्तुतीकरणको पहुँच अरू कम्पनीसँग पनि हुन्छ। सबैको प्रस्तुती अध्ययन गरेर विभिन्न कम्पनीले आफ्नो अन्तिम रणनीति बनाउँछन्।

फाइभ जी प्रविधिका लागि धेरै कम्पोनेन्ट चाहिन्छन्। कसैको केही कम्पोनेन्ट राम्रो हुन्छ भने कसैको अरू नै। कहिलेकाहीँ अरू कम्पनीले आफ्नोभन्दा उत्तम प्रविधिको आविष्कार गरेको थाहा भयो भने कमसल प्रविधि आविष्कार गर्ने कम्पनी मिलेर संयुक्त प्रस्तुतीकरण दिन्छन्। हाम्रो काम भनेको जसरी भए पनि आफ्नो केही कम्पोनेन्ट फाइभ जी प्रविधिमा छिराउने हो। कन्फेरेन्स एक हप्ताका लागि हरेक दिन बिहानदेखि राति अबेरसम्म चल्छ।

तपाईंहरूको आम्दानीको स्रोतचाहिंँ के हो नि ?

हामी टेलिकम्युनिकेसन उपकरण पनि बनाउँछौं। र, अर्को कुरा हाम्रो केही आइडिया फाइभ जी टेक्नोलोजीमा समावेश भयो भने फाइभ जी प्रविधि प्रयोग हुने हरेक मोबाइल, ट्याब्लेट तथा ल्यापटप जस्ता प्रोडक्ट बनाउने कम्पनीले रोयल्टी तिर्नुपर्ने हुन्छ। फाइभ जी प्रयोग हुने बेलासम्म हाम्रो जस्ता कम्पनीले अर्बौं⁄खर्बौं अमेरिकी डलर आम्दानी गर्न सक्छन्।

तपाईंजस्तै फ्युचर टेक्नोलोजीमा काम गरिरहेका अरू कोही नेपाली छन् ?

मैले सन् २००८ देखि विश्वव्यापी कन्फेरेन्समा भाग लिँदै आइरहेको छु। यसमा पछिल्लो दुई वर्षदेखि अमेरिकाको सिलिकन भ्यालीबाट दुई जना नेपाली भाइहरूले पनि भाग लिन थाल्नुभएको छ।

नेपालमा दूरसञ्चारको टावर हाल्दा छिमेकीबीच झगडा भइराखेको अवस्था छ, के टावरको रेडियसन साँच्चै हानिकारक हुन्छ ?

मोबाइल, टिभी, फ्रिज, माइक्रोवेभ सबैले केही न केही रेडियसन फाल्छन्। टावरले भने अलि बढी मात्रामा रेडियसन फाल्छ। तर, यसले क्यान्सर नै हुन सक्छ भनेर कुनै पनि अनुसन्धानले प्रमाणित गरेको छैन। बरु मोबाइलमा चाहिँ लामो समयसम्म पटक्कै कुरा गर्नुहुँदैन।


फाइभ जी प्रविधि प्रयोग भएपछि रेफ्रिजेरेटरले दूध वा अण्डा सकियो भने तपाईंलाई र तपाईंले कनेक्ट गरेको सुपरमार्केटलाई अटोमेटिक सन्देश पठाइदिन्छ। त्यसपछि सुपरमार्केटले फ्रिजले जे–जे सामानको सूची पठाएको छ तपाईको घरमा डेलिभर गरिदिन्छ। त्यस्तै अहिले धेरै कम्पनीले सेल्फ ड्राइभिङ कारको विकास गरिरहेका छन्। यी गाडीहरू राम्रोस“ग चल्नका लागि फाइभ जी प्रविधिको आवश्यकता पर्छ।

नेपालमा फोर जी बल्ल शुरू हुँदै छ। थ्रिजी र फोर जीमा इन्टरनेट खासै फास्ट भएको पाइँदैन। फाइभ जी किन चाहियो ?

थ्रिजीभन्दा फोर जी निकै छिटो छ। फाइभ जी अझै छिटो हुनेछ। मेसिनले नै सबै काम गरिदिन फाइभ जीको आवश्यकता छ। जस्तै अहिले स्मार्ट रेफ्रिजेरेटर आइसकेको छ। अब फाइभ जी प्रविधि प्रयोग भएपछि रेफ्रिजेरेटरले दूध वा अण्डा सकियो भने तपाईंलाई र तपाईंले कनेक्ट गरेको सुपरमार्केटलाई अटोमेटिक सन्देश पठाइदिन्छ। त्यसपछि सुपर मार्केटले फ्रिजले जे–जे सामानको सूची पठाएको छ, तपार्इंको घरमा डेलिभर गरिदिन्छ। त्यस्तै अहिले धेरै कम्पनीले सेल्फ ड्राइभिङ कारको विकास गरिरहेका छन्। यी गाडीहरू राम्रोसँग चल्नका लागि फाइभ जी प्रविधिको आवश्यकता पर्छ।

नेपालमा थ्रिजी र फोर जीको स्पिड फरक महसुस नहुनुको कारण छुट्टै छ। नेपालको दूरसञ्चार अथोरिटीका कारण एनटीसी र एनसेलले ५ मेघाहर्जमा फोर जी प्रदान गरिरहेका छन्। उनीहरूले थ्रिजी सेवा पनि ५ मेघाहर्जमै दिएका थिए। विदेशी मुलुकमा फोर जी २० मेघाहर्जमा प्रयोग गरिन्छ। अझै कहीँकहीँ त २० प्लस २० गरेर ४० मेघाहर्जको फ्रिक्वेन्सीमा टेलिकम्युनिकेसन सेवा प्रदान गरिएको पाइन्छ। नेपालको दूरसञ्चार अथोरिटीले बढी फ्रिक्वेन्सी प्रदान गर्नासाथ नै नेपालको फोर जीको स्पिड पनि सुपर फास्ट भइहाल्छ।

तपाईं २५ वर्षदेखि यो क्षेत्रमा हुनुहुन्छ। नेपालमा गएर केही गरौं जस्तो लाग्दैन ?

मैले पटक–पटक एनटीसीको इन्जिनियरसँग आफूले सिकेको सीप शेयर गरिसकेको छु। अहिले पनि एनटीसी र एनसेल वा अन्य कुनै दूरसञ्चार संस्थाले एउटा राम्रो पद दिएर काम गर्ने स्वतन्त्रता दियो भने म तुरुन्त फर्किनेछु। विदेशमा धेरै काम गरियो। अब आफ्नै देशमा केही गरौं जस्तो लागेको छ।

महावीर पुनले पनि अमेरिकाबाट फर्केर गाउँमा इन्टरनेट सुविधा पुर्याइरहनुभएको छ। उहाँले आविष्कार केन्द्र खोल्न पनि पहल थाल्नुभएको छ। तपाईं र उहाँ मिलेर केही गर्न सकिन्छ कि ?

उहाँको कामसँग म अपडेट छु र उहाँको प्रशंसा गर्दै धन्यवाद पनि दिन चाहन्छु। अनुसन्धान र विकाससम्बन्धी विभाग खोल्न धेरै रकम चाहिन्छ, जुन नेपालमा जुट्न गाह्रो हुन्छ। त्यसैले उहाँले कुनै एउटा सेक्टरमा वा निश्चित प्रोजेक्ट बनाउनेछु भनेर पैसा संकलन गरेको भए बढी व्यावसायिक र पारदर्शी हुन्थ्यो कि? विदेशमा पनि कुनै निश्चित परियोजना सञ्चालन गर्नका लागि रकम उठाउने गर्छन्।

फाइभ जी कहिलेसम्ममा आउँछ ?

जापान र दक्षिण कोरियाले कोरियामा हुन लागेको विन्टर ओलम्पिक २०१८ र टोकियोमा हुन लागेको समर ओलम्पिक २०२० अगाडि नै फाइभ जी चलाउन निकै मेहेनत गरिरहेका छन्। विश्वभरका अरू कम्पनीलाई पनि त्यही प्रेसर दिइरहेका छन्। त्यसैले ढिलोमा सन् २०२० सम्म पक्कै आइसक्नेछ।

नेपालको दूरसञ्चार कम्पनीहरूलाई कुनै सुझाव छ कि ?

ठूला कम्पनीहरूले नेपाललाई भनेर छुट्टै प्रोडक्टहरू बनाउँदैनन्। नेपालको बजार सानो छ। त्यसैले हाम्रा दूरसञ्चार कम्पनीहरूले संसारमा सबैभन्दा कम्पेटिबल कुन प्रविधि छ त्यसको राम्रो अध्ययन गरेर उक्त प्रविधि प्रयोग गर्नुपर्छ। नत्र ग्राहकलाई पनि सुविधा हुन्न र आपूmलाई काम गर्न पनि गाह्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्