गलत गर्नेहरू तयार भएर बस्नुहोलाः गृहमन्त्री



 

नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री जनार्दन शर्माले अध्यागमन विभागमा गलत काम हुने गरेको सूचना आफूकहाँ आइपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम भएमा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। सोमबार अध्यागमन विभागको ‘नेपाल इमिग्रेसन’ नामक मोबाइल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘म कहाँ आइपुगेको सूचना गलत पनि हुनसक्छ सही सूचना हुन भने गलत गर्नेहरू तयारी भएर बस्नुहोला।’

अध्यागमनमा हुने गरेको गलत कामको सूचना सही हो या हैन भन्नेबारे आफूले बुझिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘काम गर्दागर्दै भुल गरेको हो भने त्यो दोस्रो कुरा हो तर यहाँ दैनिक गलत क्रियाकलाप हुने गरेको कारण राष्ट्रको बदनाम भएको र सेवामा ठूलो संकट आएको मैले बुझेको छु।’

‘म एउटा कुरा तपाईंहरूलाई भन्न चाहन्छु राष्ट्रप्रति हामी सबै इमानदार हुनुपर्छ, इमानदारितापूर्व काम गर्दा केही गल्ती हुन पुगे त्यो क्षम्य हुन्छ तर स्वार्थमा लागेर राष्ट्रलाई धोका दिने काम कसैले गर्छ भने त्यो क्षम्य हुँदैन।’ उहाँले भन्नुभयो– ‘कर्मचारीका लागि मन्त्री कुनै विशेष चिज होइन, तपाईंहरूको साथी हुँ, साथीको रुपमा व्यवहार गर्न चाहन्छु।’

सोमबार विभागले सार्वजनिक गरेको मोबाइल एपमा अध्यागमनसँग सम्बन्धित सबै जानकारी राखिएको विभागले जनाएको छ। विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाइनमार्फत भिसा प्राप्ति र ट्रेकिङ अनुमतिका लागि निवेदन दिन सक्नेछन्। त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरूको सहजताका लागि २९ वटा नेपाली नियोगको ठेगाना एपमा राखिएको छ भने विभागले अनलाइनकै माध्यबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने व्यवस्था मिलाएको छ। गृहमन्त्री शर्माले ‘नेपाल इमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्