करोडौं मूल्यका स्वास्थ्य चौकी भवन अलपत्र



 

कृष्णउदास खनाल, वीरगन्ज
पर्सामा निर्माण भएका स्वास्थ्यचौकीका भवनहरू हस्तान्तरणमा हुँदा करोडौंका भौतिक सम्पत्ति प्रयोगविहीन अवस्थामा रहेका छन्। खास गरी जिल्लाको साविकको गादी, परवानीपुर, भवानीपुरलगायतका आधा दर्जन स्थानमा निर्माण भएका स्वास्थ्य चौकीका भवनहरू हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन अवस्थामा ती भवनहरू अलपत्र परेका छन्। यसैबीच पर्साका मानवअधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको ध्यानाकर्षण गराउँदै निर्माण भएका स्वास्थ्यचौकीका भवन प्रयोगमा ल्याउन माग गरेका छन्।

स्वास्वास्थ्य चौकी हस्तान्तरण नहुँदा साविकका गाविस कार्यालयमा स्वास्थ्यचौकी र बर्थिङ सेन्टरहरू सञ्चालन गर्न बाध्य भएका ती अधिकारकर्मीले बताएका छन्। सानो ठाउँमा चौकीहरू सञ्चालन गर्नुपर्दा सेवाको प्रभावकारितामा समस्या आएको कुरा स्वास्थ्यकर्मीले आफूहरूसँग गुनासो गरेको मानवअधिकारवादी समूहका पर्सा अध्यक्ष तवरेज अहमदले बताउनुभयो। उहाँले भवन अभावमा अधिकांश स्वास्थ्य संस्थाको अवस्था नाजुक रहेको बताउनुभयो।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने तत्काल भवन हस्तान्तरणका लागि आफूले निर्देशन दिइसकेको बताउनुभएको छ। सरोकारवाला निकायहरूको उदासिनताका कारण यस्तो अवस्था देखिएको उहाँले बताउनुभयो। उक्त मानवअधिकारवादी समूहले पर्साका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव रहेको जानकारी दिँदै औषधि आपूर्तिको व्यवस्था मिलाउन र आगामी आर्थिक वर्षमा यो समस्या दोहोरिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको पनि ध्यानाकर्षण गराएको छ।

जिल्ला जनस्वाथ्य कार्यालय पर्साका प्रमुख राजकिशोर पण्डितले स्वास्थ्य चौकी ठेकेदार कम्पनीहरूको लापरबाहीका कारण आफूहरूको स्वामित्वमा आउन नसकेको बताउनुभयो। उहाँले स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन आफूले कर्मचारीलाई निर्देशन दिएको जिकिर गर्नुभयो। सरकारी निकायको ध्यानाकर्षण गराउने टोलीमा नेपाल पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष एवं इन्सेक प्रतिनिधि केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, नेपाल मानवअधिकार संगठन पर्साका सचिव शिवनाथ यादवलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्