खुमबहादुर खड्काको गढ ढल्यो, दाङमा कांग्रेस र माओवादीद्वारा हार स्वीकार



नेपाल समाचारपत्र, दाङ । कांग्रेसका प्रभावशाली मानिएका खुम बहादुर खड्काको गृह जिल्लामा एमालेले जित्ने लगभग पक्का जस्तै भएको छ । घोराही उपमहानगरपालिकामा त कांग्रेस माओबादीले हार स्विकार गरेका छन ।

उम्मेदवारी दर्ता गर्दासम्म नेकपा एमालेलाई घोराही उपमहानगरमा दोस्रो स्थानका लागि लागि माओवादी केन्द्रसँग प्रतिस्पर्धा हुने जस्तो लागेकोमा जित्ने निश्चित प्राय भएपछि एमाले कार्यकर्ता हौसिउका छन ।

पहिले देखीनै कांग्रेसको गढ मानिएको दाङमा मेयर र उपमेयर कांग्रेसले जित्छ भन्ने एमालेकै आंकलन थियो । तर, मतदान हुँदै गणनाको चौथो दिनमा आइपुग्दा घोराहीले एमालेलाई मात्र होइन, यहाँ क्रियाशील सबैलाई राजनीतिक दलहरुलाई पनि ‘सरप्राइज’ दिएको छ ।

 

सोमबार बिहानसम्म आइपुग्दा १९ ओटा वडामध्ये १७ वडाको गणना सकिएको छ र, एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीको जित सुनिश्चित भएको छ ।

घोराही उपमहानगरपालिकामा खसेको ५८ हजार ५३९ मतमध्ये ५१ हजार ७३४ मत गणना भइसकेको छ । अब करिब ६ हजार मत गन्न बाँकी रहँदा चौधरीले ४ हजारको अग्रता रहेकाले एमालेको जित सुनिश्चित भएको हो ।

सोमबार साँझसम्म अन्तिम नतिजा आउन सक्ने देखिएको छ ।

अहिले १२ नम्बर वडाको मतगणना चलिरहँदा चौधरीले १७,६३५ मतको अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका भुपबहादुर डाँगीले १३,९९८ मतका साथ पछ्याइरहेका छन् भने माओवादीका जीवन गौतम ९,४५८ मतका साथ तेस्रो स्थानमा छन् ।

माओवादी केन्द्रका मेयर उम्मेदवार गौतमले हार स्वीकार गरिसकेका छन् । उनले मतदातालाई धन्यवाद दिँदै आफू जनताको बीचमा निरन्तर रहने प्रतिबद्धता जनाएका छन् ।

दोस्रो स्थानमा रहेको कांग्रेसले पनि अब जित्ने सम्भावना सकिएको भन्दै हार स्वीकार गरेको छ ।

एमालेले शुरुदेखि नै अग्रता लिइरहेको थियो । वडाहरुमा पनि एमालेकै बर्चश्व कायम भएको छ ।

थारु भएरै जिते त नरुलाले ?

दाङको राजनीति क्षेत्री, बाहुन र जैशी समुदायको वरिपरि घुम्ने गरेको मानिँदै आएको छ । कांग्रेस, माओवादीले उम्मेदवार छनोट गर्दा पनि यही हिसाब गरे ।

घोराहीमा झण्डै २२ हजार थारु मतदाता भएपनि दलहरुले यो मत विभाजित हुने अनुमान गरेका थिए । तर, यो पटक थारु समुदायले सरप्राइज दिएको छ ।

प्रमुखमा एमालेले थारु समुदायका नरुलाल चौधरीलाई उम्मेदवार बनाएको थियो । थारुका बडघरहरुले चुनावको अघिल्लै दिन बैठक बसेर अब पार्टी होइन, थारु उम्मेदवारलाई मत दिने निर्णय गरेको चर्चा घोराहीमा चलेको छ ।

दाङका आदिवासी जनजातिले पनि चौधरीलाई मत दिए । एमाले एकताबद्ध भएर चुनावमा जानु र शंकर पोखरेल, युवराज ज्ञवाली जस्ता नेताहरुले दाङमा अड्डा जमाएर चुनावी अभियान चलाउनुले पनि एमाले पंक्तिमा उत्साह भरेको थियो ।

ठीक विपरित कांग्रेसमा खुमबहादुर खड्का हावी भए, जसको छवी पछिल्लो समय राम्रो छैन । उनले जित्ने उम्मेदवार भन्दा पनि आफ्नालाई प्राथमिकता दिँदा पनि यो परीणाम आउन भूमिका खेलेको दाङका कांग्रेस नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्