आफूले जितेका ठाउँमा मात्रै लोकतन्त्र ?



 

एमाले अध्यक्ष केपी शर्मा ओलीले रोल्पा–रुकुममा अहिलेसम्म लोकतन्त्र नै नआएको टिप्पणी गर्नुभएको रहेछ। काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकाका निर्वाचित मेयर–उपमेयर र कार्यपालिका सदस्यलाई प्रशिक्षण दिँदै ओलीले त्यसो भनेको खबर सञ्चारमाध्यममा आएको छ। एमाले अध्यक्षसमेत रहेका ओलीले यस्तो भन्नु कतिसम्मको गैरजिम्मेवार कुरा हो ? यो नेपाली जनताले बुझ्न जरुरी छ। नेपालमा आफूले जित्दा लोकतन्त्र स्थापित भएको र अर्को फरक दलले जित्दा लोकतन्त्र धरापमा परेको टिप्पणी कांग्रेस, एमाले, माओवादीलगायतका सबै दलबाट आउने गरेका पाइन्छ। यस विषयमा मलाई दल नै गैरजिम्मेबार भई लागेको अनुभूति हुन्छ।

लोकतन्त्रको ठेकेदार बताउने दलहरुले सार्वजनिक ठाउँमा यसरी बोल्नुहुँदैन। यसले आमजनमानसमा लोकतन्त्र कमजोर भएको आभास हुन्छ। मेरो सुझाव सबै दललाई यो छ कि यहाँ नियम कानुन र आचारसंहिता अनि नैतिकता सबैको बन्धन छ। त्यसकारण यी सबै कुरालाई ख्याल गरेर मन्तव्य दिन जरुरी छ।
– रोजी केसी, रुकुम

आखिर कहिलेसम्म यस्तो ?
नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा सधैँ पहिरो गएर यात्रुलाई साह्रै दुःख दिइरहेको छ। यात्रुको हरिबिजोग हुने गरेको छ सधैँ। यस विषयमा सरकाले गम्भीररुपमा चासो नदिएको जस्तो भान भएको छ। वैकल्पिक व्यवस्था पनि अझै भएको छैन। सरकारी निकाय आफ्नै पारामा छ। तर त्यहाँका स्थानीयलाई त्यहाँ कहिले बगाउने हो पहिरोले भन्ने चिन्ता छ। धेरै मानवीय क्षति भइसक्दा पनि उचित कदम नचालिनु सरकारी लाचारीपनको पराकाष्ठा हो।

पानी परिरहने भएको र छिन्छिन्मा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ त्यहाँ। सधैँ एक–दुई दिन यातायात अवरुद्ध हुने गरेको छ। बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र पर्ने गरेका छन्। मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको छ। त्यस क्षेत्रमा विशेष व्यवस्था गरेमा यो समस्या केही हदसम्म समाधान हुने देखिन्छ। कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहनेगर्छ। त्यसै गरी घुमाउनेमा पनि पहिरोको जोखिम छ। सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले भौगोलिक अध्ययनसमेत गरेको थियो। त्यस क्रममा २९ स्थानलाई पहिरो आउन सक्ने भनी जोखिम क्षेत्र मानेको थियो। वर्षासँगै पहिरो जाने क्रम बढेको छ। पहिरोका कारण घन्टौं सवारी जाम हुनाका साथै यात्रा पनि जोखिमपूर्ण रहेको छ। मुग्लिन प्रहरीको टोली पहिरो हटाउनमा केन्द्रित हुने गरेको छ। चाडबाडका समयमा यात्रु खचाखच हुने सवारी हजारौंको संख्यामा उक्त बाटोमा सञ्चालन हुने गरेका हुन्छन्। अब चाडबाड शुरु हुन लागेको छ। अहिलेबाटै यो समस्या समाधान गरेर केही निकास दिन म सरकारसँग माग गर्दछु।

– रविन ताम्राकार, ललितपुर

मन ठूलो बनाऔं
उनको घर दोलखाको झुले हो। २१ वर्षकी भइन्। २०७४ साल जेठमा उनको बंगाराबाट रगत बग्न थाल्यो। पछि बान्ता र पखालासमेत लाग्न थाल्यो। हुँदा–हुँदा बान्तामा रगत देखिन थाल्यो। झुले स्वास्थ्य चौकीमा जाँच गराइन्। त्यहाँ तीन दिन बसेपछि उनलाई जिल्ला जनस्वास्थ्यमा पठाइयो। त्यहाँ चार दिन बसिन्। चार दिनको उपचारपछि डा. विनोद डंगोलले काठमाडौं जाने सल्लाह दिनुभयो। उनी वीर अस्पताल आइपुगिन्। यहाँ पनि नभएपछि असार १ गते नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भइन्।
उनलाई ब्लड क्यान्सर भएको रहेछ। त्यहीँ उनको उपचार भइरहेको छ। रोग पहिलो स्टेजमै भएकोले उपचार गर्न सके उनी बाँच्न सक्ने रहिछिन्। उनको बाँच्ने चान्स ८० प्रतिशत रहेछ। यति कुराले उनमा बाँच्ने आशा पलाएको छ, तर उपचार गर्न लगभग २५ लाख रुपियाँ लाग्ने रहेछ। उनको घरको आर्थिक अवस्था नाजुक छ र उपचार गर्न सक्ने अवस्था पनि छैन। काखमा तीन महिनाको छोरो छ। श्रीमान् बेरोजगार हुनुहुन्छ। सुत्केरी अवस्थामै उनलाई यति ठूलो विपत्ति आइपर्यो।
बालक छोरालाई हुर्काएर पढाउने र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने इच्छा छ, तर रोग लागेकाले अस्पतालको बेडमा आइपुगेकी छिन् उनी। अब उनीसित एउटै विकल्प बाँकी छ, त्यो हो– सबैसँग हात फैलाएर सहयोग माग्ने र उपचार गर्ने। उनले भगवान्सँग पनि बारबार यही प्रार्थना गरिरहेकी छिन। उनलाई सहयोगको लागि राष्ट्रिय वाणिज्य बैंक, चरिकोट शाखा, दोलखामा रहेको खाता नम्बर १६१०००६९६११० मा रकम जम्मा गरी मोबाइल नम्बर ९८६१७२३२५९, ९८४१३२५८४८ मा खबर गरिदिन विनम्र अनुरोध गर्दछु। उर्मिला भुजेल, बेड नं. २३५, निजामती अस्पताल, नयाँ बानेश्वर, काठमाडौमा उनी छिन्। उनलाई मन ठूलो बनाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।

– सुदीप खड्का, भक्तपुर

बाढीपीडितलाई सहयोग आवश्यक
सप्तरीमा आएका बाढीका कारण त्यहाँ विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेको खबर आएको छ। त्यहाँ स्थानीयको अहिले बिचल्ली छ। बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ। भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन्। बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्याउँदा भेल बस्तीमा पस्ने क्रम भैरहेको हो। कोशीको भंगालोमा सशस्त्र प्रहरीका एक हवल्दारको शव पनि भेटिइसकेको छ। अन्य धनजनको विवरण आउने क्रम जारी छ।

प्राकृतिक विपत्ति आउन सक्छ। त्यसलाई सकेसम्म कम गर्ने उपाय सोचिनुपर्छ। भइहालेमा पीडितलाई राहत र क्षतिपूर्तिमा सरकार बढी क्रियाशील हुन जरुरी छ। देशको अवस्था र त्यहाँका स्थानीयको अवस्थालाई मध्यनजर गरी सरकारले छिटोभन्दा छिटो राहत दिन जरुरी छ। छिटोभन्दा छिटो त्यहाँका पीडितको व्यवस्थापन गर्न जरुरी छ। त्यहाँ महुली खोलाको बाढीले सप्तरीको त्रिकौलका १५०, तिरहुत गाउँपालिकाका–५ भेडियाका ७० र दुधैला खोलाको बाढीले रुपनी गाउँपालिका–६ वीरेन्द्रबजारका ६ घर बगेका छन्। रुपनी बसबिटीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा बस्ती जलाम्य भएको छ।

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको थियो। तिलाठीमा पनि ३ सय घर जलमग्न भएको थियो। तलाठी कोइलाडी गाउँपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको थियो। त्यहाँको अवस्था अहिले दयनीय छ। त्यसकारण संघसंस्थाले पनि त्यहाँ सहयोगको कार्यक्रम लान जरुरी छ। यो विषयमा सबैको ध्यान जाओस्।
– सरु विक, थानकोट

प्रतिक्रिया दिनुहोस्