विश्वका धेरै कमाउने सेलिब्रेटी



 

नेपाल समाचारपत्र
काठमाडौं
विभिन्न क्षेत्रमा ख्याती कमाएका सेलिब्रेटीहरूले वार्षिक रूपमा कति कमाउँछन् होला भनेर सबैमा कौतुहलता रहन्छ। चर्चित अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले धेरै कमाउने चर्चित सेलिब्रेटीहरूको सूची तयार पारेको छ। जसअनुसार धेरै कमाउने सेलिब्रेटीहरूमा संगीत क्षेत्रबाट नै बढी देखिएको छ।

सेन जोन कोम्ब्स, म्युजिसियन
४७ वर्षीय म्युजिसियन कोम्ब्सले सन् १९९३ मा संगीत कम्पनी ब्याड ब्याई इन्टरटेन्मेन्ट खोलेका थिए। अमेरिकी नागरिक कोम्ब्स हावर्ड विश्वविद्यालयबाट ड्रप आउट विद्यार्थी हुन्। गायक, संगीतकार तथा निर्माता कोम्ब्सले वार्षिक १ सय ३० मिलियन डलर कमाउने गरेका छन्। कोम्ब्सले हालसम्म ३ वटा ग्रामी अवार्ड जितिसकेका छन्।

बियोन्स नोलेज, गायिका
धेरै कमाउने सेलिब्रेटीको दोस्रो स्थानमा अमेरिकी नायिका, गायिका तथा गीत लेखिका बियोन्स नोलेज रहेकी छन्। नोलेजले वार्षिक १ सय ५ मिलियन अमेरिकी डलर कमाउँछिन। ३५ वर्षीया गायिकाले अमेरिकाको लस एन्जेल्लसबाट हाईस्कुलसम्मको शिक्षा लिएकी छन्। नोलेजका डेन्जरस इन लभ, ड्रिम गर्ल, लेमोनेडलगायत एल्बम विश्वभरीमा नै सर्वाधिक रुचाइएका र बिक्री वितरण भएका एल्बममा पर्दछन्।

जे. के रोलिङ, लेखिका
उमेर ५१ वर्षीया लेखिका रोलिङको पुस्तक लेखन नै सम्पत्तिको स्रोत हो। रोलिङ फोब्र्सको विश्वका अर्वपतिहरूको सूचीमा १ हजार १ सय ४०औं स्थानमा र विश्वका शक्तिशाली महिलाको सूचीमा ९३औं स्थानमा छिन्। विश्वका वार्षिक रूपमा धेरै कमाउने सेलिबे्रटीको सूचीमा उनी ९५ मिलियन अमेरिकी डलर सहित तेस्रो स्थानमा छिन्। बेलायती उपन्यासकार रोलिङका जादुमयी पुस्तकहरू ह्यारी पोर्टर र द क्रस्ड चाइल्ड सन् २०१६ सम्ममा ४ दशमलब ५ मिलियन प्रति बिक्री भएका छन्। रोलिङको पछिल्लो चलचित्र फेन्टास्टिक बिस्टस् एन्ड होयर टु फाइन्ड देमले पनि बक्स अफिसमा राम्रो छाप छोडेको थियो।

ड्रयाक ग्राहम, म्युजिसियन
धनी सेलिब्रेटीको सूचीको चौंथो नम्बरमा रहेका ३० वर्षीय ड्रयाकले वार्षिक ९४ मिलियन अमेरिकी डलर कमाउँछन्। अविवाहित क्यानडेली गायक ड्रयाकले गीत लेखक, निर्माता तथा नायकको रूपमा पनि प्रसिद्धि कमाएका छन्। खासमा त ड्रयागले आफ्नो करिअरको शुरूआत किशोर किशोरलाई लक्षित गरी बनाइएको टेलिभिजन सिरियल डेग्रासीः द नेक्स्ट जेनेरेसनबाट गरेका हुन्। ड्राकले सन २०१० मा थ्यांन्क कि लेटर नामको गीत सार्वजनिक गरे र जुन विश्वभर चर्चित बन्यो।

क्रिस्टियानो रोनाल्डो, खेलाडी
धेरै कमाउने सेलिबे्रटीको उत्कृष्ट १० भित्र खेल जगतबाट पर्ने रोनाल्डो एकमात्र व्यक्ति हुन्। सन् २०१७ मा चौंथौपटक फिफा बालोन डिओर घोषणा भएका फुटबलर क्रिस्टियानो रोनाल्डो खेल जगतका सबैभन्दा महंँगो खेलाडीसमेत हुन्। वार्षिक ९३ मिलियन अमेरिकी डलर कमाउने पोर्चुगलका नागरिक रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिम र स्पेनिस फुटबल क्लब रियल मड्रिटसँग आबद्ध छन्। रोनाल्डोले ४ पटक युरेपियन गोल्डेन सुज समेत जितेका छन्।

द विकेन्ड, म्युजिसियन
गायन क्षेत्रमा प्रसिद्धी कमाएका २७ वर्षीय विकेन्डको वास्तविक नाम अबेल म्याक्कोनेन टेस्फाय हो। द विकेन्ड विश्वका महंँगा र धेरै कमाउने सेलिब्रेटी सूचीको छौंठौ नम्बरमा रहेका छन्। क्यानडेली नागरिक विकेन्डले कमाई वार्षिक रूपमा ९२ मिलियन अमेरिकी डलर रहेको छ। सन् २०१० मा विभिन्न गीत गाएर युट्युवमा द विकेन्ड नामबाट अपलोट गरेपछि ती गीत र आवाजलाई मानिस ले अत्याधिक रुचाएका थिए। युट्युव मार्फत चर्चित बनेपछि उनले सन् २०११ मा हाउस अफ ब्यालोन, थस्र्टडे, र इथोज अफ साइलेन्स गरी ३ वटा एल्बम सार्वजनिक गरे। त्यसपछि उनले द विकेन्डमार्फत् नै ख्याति पाए।

होवर्ड स्ट्रेन, रेडियो कार्यक्रम प्रस्तोता
स्ट्रेनको रेडियो सञ्चालन गर्ने तरिका र विषयवस्तु एकदमै कन्ट्रोभर्सियल मानिन्छ भने विभिन्न स्टेज प्रोग्रामहरूमा जजको भूमिकामा पनि देखिने गरेका छन्। ९० मिलियन अमेरिकी डलर वार्षिक रूपमा कमाउने अमेरिकी नागरिक स्ट्रेनले बोस्टन युनिभर्सिटीबाट ब्याचलर अफ् आर्टस् गरेका छन्। उनको सम्पत्तिको स्रोत रेडियो कार्यक्रम सञ्चालन गरेर नै हो।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्