सत्ता पक्ष चुनावमा ओइलायो, कांग्रेस र माओवादीभित्र तीव्र असन्तुष्टि



 

मधुसूदन रायमाझी
काठमाडौं
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत रूपमा परिणाम नआउँदा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ। दोस्रो चरणको निर्वाचनमा राम्रो परिणाम नआउनुमा गुटबन्दी नै कारण भएको निष्कर्ष कांग्रेसले निकालेको छ। केन्द्रदेखि वडा तहसम्म नै गुटबन्दीको असर निर्वाचन परिणाममा पनि देखिएको भन्दै कांग्रेसभित्र आन्तरिक द्वन्द्व शुरू भएको छ।

कांग्रेसभित्र निर्वाचनको क्रममा टिकट वितरणमा संस्थागतभन्दा पनि गुटगत रूपमा वितरण गर्दा निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै नेतृत्वको आलोचना शुरू भएको छ। नेपाली कांग्रेसका एक नेताले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गर्नु र २ नम्बर प्रदेशमा निर्वाचनको मिति परिवर्तन गर्नुको असर निर्वाचनमा देखिएको बताए। उनले भने– ‘केन्द्रदेखि वडासम्म गुटबन्दी पनि राम्रोसँग देखियो, पार्टी जिताउनेभन्दा पनि गुटका व्यक्ति जिताउन लाग्दा निर्वाचनमा राम्रो परिणाम आउन सकेन, नेतृत्वले कमजोरी नसच्याउने हो भने अब बीपीको विचारले मात्र कांग्रेस चल्न सक्दैन।’

नेपाली कांग्रेसभित्र संस्थापन पक्ष, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कालगायतको गुट सक्रिय छ। दोस्रो चरणको निर्वाचनमा सत्तारूढ दलबीच गठबन्धन बनाए पनि सोचेअनुसारको परिणाम आउन नसकेको कांग्रेसले बताएको छ। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनको परिणामबाट खासै निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘अहिलेको परिणाम अनपेक्षित होइन’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कांग्रेसले देश र जनतालाई एकताबद्ध बनाउन भूमिका खेल्दै आएको छ, तराई र पहाडलाई जोड्ने काम गर्दै आएको छ, कांग्रेसकै कारण संविधान कार्यान्वयनको काम अगाडि बढेको छ।’ निर्वाचन सम्पन्न गराउनु पार्टीको सफलता भएको बताउँदै महानगरपालिकाहरूमा परिणाम आउन बाँकी नै रहेको उहाँले बताउनुभयो।

कांग्रेसले दोस्रो तहको स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरेको थियो। पछिल्लो मत परिणामअनुसार एमालेले नै अग्रता लिएको छ।

सत्तारूढ दल नेकपा माओवादी केन्द्रभित्र पनि गुटबन्दीभन्दा पनि पार्टी केन्द्रीय कार्यालयले प्रभावकारी रूपमा जनतासमक्ष आफ्ना एजेन्डा पुर्याउन नसक्दा राम्रो परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ।

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा पहिलो हुने दाबी गरेको थियो। माओवादी नेतृत्वको सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गराएको, सरकारमा रहँदा लोडसेडिङ हटाउनुका साथै सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँसम्म ल्याएको विषयलाई बुझाउन नसक्दा परिणाम सोचेअनुसार आउन नसकेको केन्द्रीय कार्यालयका नेता मणि थापाले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले हाम्रो भोटको सुरक्षा मात्र गर्न सकेको भए पनि राम्रो परिणाम आउँथ्यो, केन्द्रले जसरी रणनीति बनाएर जनतासमक्ष पुग्नुपर्दथ्यो त्यो हुन सकेन।’

स्थानीय तहको निर्वाचनलाई पार्टीले सामान्यरूपमा बुझ्नु नै कमजोरी भएको भन्दै कार्यालयमा रहेका नेताहरूको आलोचना शुरु भएको छ।

संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीको क्रममा एमालेले अगाडि सारेको राष्ट्रवादको कारण आफ्नो पार्टीले स्थापित गराएको पहिचानको अधिकार छायाँमा परेको निष्कर्ष माओवादीले निकालेको छ।

‘निर्वाचन जिताउनका लागि एमालेभित्र व्यक्ति र पार्टी नै लड्यो’, एक नेताले भने– ‘माओवादीभित्र केन्द्रीय कार्यालय जसरी लाग्नुपर्ने थियो, त्यो लागेको देखिएन।’

दोस्रो चरणको निर्वाचनमा परिणाम सुदृढ गर्ने माओवादीको दाबी असफल भएको छ। ‘पहिलो चरणको निर्वाचनबाट अनुभव र शिक्षा लिएका थियौं’, नेता थापाले भन्नुभयो– ‘तर, कार्यकर्ताले मात्र लड्दा राम्रो परिणाम आउन सकेन।’
माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा ३३ जना सदस्य रहेका छन्। स्थानीय तहको निर्वाचनमा केन्द्रीय नेताहरूको भूमिका प्रभावकारी नभएको र प्रचारप्रसारमा पार्टीले ध्यान दिन नसक्नु पनि हारको कारण रहेको भन्दै पार्टीभित्र विवाद शुरु भएको छ।

‘प्रदेश र केन्द्रको निर्वाचनमा भोट बिग्रिएला भनेर कार्यालयका नेताहरू नै स्थानीय तहको निर्वाचनमा गम्भीरताका साथ लाग्नुभएन’, नेता थापाले भन्नुभयो– ‘पार्टीलाई जिताउन लाग्नुपर्ने केही नेताहरूमा अवसरवाद देखियो।’

प्रतिक्रिया दिनुहोस्