बाढी–पहिरोको बबण्डर



सेती नदी छेउमा चिरिएको जमिन

 

जिल्ला ब्युरो, काठमाडौं
देशका विभिन्न भागमा गएको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढी र पहिरोमा परेर कैयौंको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन्। पर्वत संवाददाता दुर्गाप्रसाद शर्माका अनुसार महाशीला गाउँपालिका वडा नं १ होस्राङ्दीमा शनिबार राति गएको पहिरोले घर पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। घरभन्दा ३ सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा ६३ वर्षीय तीर्थबादुर मल्ल, उनकी आमा र पत्नीको मृत्यु भएको हो।

पहिरोमा परी ८० वर्षीया आमा वेलकुमारी मल्ल र उनकी पत्नी ५५ वर्षीया यमकुमारी मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। राति १२ बजेको समयमा आएको पहिरोले घर पुरेपछि स्थानीयबासी र प्रहरीले खोजी गर्दा तीनै जनाको शव फेला परेको हो।

मल्लका एक छोरा भारतीय सेनामा कार्यरत छन् भने बुहारी र नाति बुटवलमा बस्दै आएको महाशीला गाउँपालिका–१ का वडा अध्यक्ष ईश्वरी भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरोले सोही ठाउँका तिलबहादुर मल्लको गोठसमेत पहिरोले पुरिएको छ भने पाँच घर जोखिममा छन्। पहिरोमा पुरिएकाको उद्धार र जोखिममा रहेका घरहरूलाई सुरक्षित स्थानमा राख्ने काम भएको छ। इलाका प्रहरी कार्यालय हुवासबाट पुगेको प्रहरी टोली र स्थानीयबासीले उद्धार कार्य जारी राखेका छन्।

बाढी र पहिरोका कारण मुलुककै सबैभन्दा अग्लोमध्ये एक कुस्मा ज्ञादी झोलु·ेपुल जोखिममा परेको छ। पर्वतको सदरमुकाम कुस्माबजार र ज्ञादी गाउँ जोड्न मोदीखोलामाथि निर्माण गरिएको पुल हुँदै ढल निर्माण गरिएपछि संकटमा परेको हो।

पोखरा संवाददाता धन बस्नेतका अनुसार पोखरामा परेको भीषण वर्षाले पहिरो जाँदा दुई जनाको ज्यान गएको छ। एक दर्जनभन्दा बढी घरहरू जोखिममा छन्। सेती नदीको किनारका जमिन चोइटिएको छ। पानीले पोखराको जनजीवन कष्टकर मात्रै नभई ठूलो जोखिम निम्त्याउने सम्भावना देखिएको छ।

पोखरा लेखनाथ–१८ पस्र्याङपाखामा पहिरो खस्दा घर पुरिएर १४ वर्षीय बालक र पोखरा लेखनाथ–१९ लामाचौरमा ४० वर्षीया महिलाको मृत्यु भएको छ। त्यस्तै फुस्रेखोलाले बगाउँदा ६५ वर्षीया वृद्धा बेपत्ता छिन्। पोखराको पस्र्याङपाखामा घरमाथिबाट खसेको ढिस्कोले पुरिएर १४ वर्षीय टंक क्षत्री र पोखराको लामाचौरमा पहिरोले घर बगाउँदा ४० वर्षीया शोभा पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

स्याङ्जा घर भई पोखराको धर्मस्थली स्कुलमा कक्षा ८ मा अध्ययनरत क्षत्री ठूलोबुबा तारापति अधिकारीको घर गएका बेला पहिरोमा पुरिएका हुन्। त्यस्तै ठूलो वर्षा भएपछि राति घरको भान्छाकोठा बन्द गर्न गएका बेला कोठासँगै पौडेललाई पहिरोले बगाएको थियो। पोखरा लेखनाथ–१९ लामाचौरकी उनको शव बिहान घरभन्दा २ सय मिटर तलबाट निकालिएको हो।

वर्षाका कारण पोखराका विभिन्न स्थानमा पहिरो खस्दा केही घरसमेत जोखिममा परेका छन्। पोखरा लेखनाथ–१८ मेथ्लाङको डाँडाबाट खसेको पहिरोले १० भन्दा बढी घर जोखिममा छन्। वर्षाकै कारण पोखरा लेखनाथ–१७ मा जमिन भासिएको छ। स्थानीय होमनाथ चापागार्इंको घर नजिकै जमिन भासिएको हो। ५० मिटर तल जमिन भासिएको थियो। वर्षाका कारण दामोदर खोलामा पानीको बहाव बढेपछि दामोदर कुनाका १५ भन्दा बढी घर डुबानमा परेका छन्। पोखराको घारिपाटनस्थित सेती किनार, लामाचौर, दोबिल्ला, विन्ध्यवासिनीलगायतका विभिन्न क्षेत्रमा जमिन भासिएको छ।

पोखरा–१७ दोबिल्लामा रहेको दोबिल्ला पुल पनि बाढीको उच्च जोखिममा परेको छ। भरतपोखरी जोड्ने पुल राति करिब २ बजे आएको पहिरोले बिजुलीको पोल भत्काउनुका साथै पुलसमेत जोखिममा पारेको दोबिल्ला बचाउ समितिका कोषाध्यक्ष जगतबहादुर आलेले जानकारी दिए। पोखरा ७ र १५ जोड्ने मितेरी पुलदेखि तल १५ नम्बर वडातर्फको भाग सेती नदी किनारमा चिरा परेको छ।

त्यस्तै, याम्दी खोला बढ्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ सिमपानीमा लालीमान थापाको घरमा क्षति पुगेको छ। थापाको घरको तल्लो तलाको एउटा कोठामा बाढीको भल पस्दा त्यहाँ बस्दै आएका विस्थापित भएका छन् भने घरअगाडि बनाएको कटेज पूर्णरूपमा क्षतिग्रस्त भएको छ। पोखरामा शनिबार साँझदेखि आइतबार बिहानसम्म १ सय ९१ मिलिमिटर पानी परेको मौसम विभाग पोखरा शाखाले जनाएको छ।

मुगु संवाददाता वीरबहादुर बमका अनुसार खोलामा नुहाउँदै गरेको अवस्थामा माथिबाट आएको बाढीले बगाएर पूर्वी करान भेगको सेरोग गाढ भन्ने स्थानमा ३ जना बेपत्ता भएका छन्।

शनिबार बेलुकी मुगुम कार्मारोङ गाउँपालिकास्थित सेराग गाढमा नुहाउने क्रममा माथिदेखि आएको बाढीले वडा नम्बर ६ का १६ वर्षका उर्गिन लामा, सोही वडा निवासी २७ वर्षका कुनक्याप लामा र ४० वर्षका तेन्जिङ लामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीन जना यार्सा टिपेर हिमालबाट फर्किएका र बाटोमा पर्ने सरोग गाढमा नुहाउँदै गर्दा तीनैजना बगेर मुगु कर्णालीमा बेपत्ता भएको प्रहरी चौकी पुलुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खोलाले बगाएर तीनैजनालाई कर्णाली नदीमा पुर्याएको र उनीहरूको खोजीकार्य भइरहेको जनाइएको छ। नदीको बहाव ठूलो र पानी धमिलो भएकाले बेपत्ताको खोजीकार्यमा असहजता भइरहेको बताइएको छ।

यस्तै प्यूठान संवाददाताका अनुसार प्यूठानमा पहिरोमा परेर १ जनाको मृत्यु भएको छ। दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया तुलसा घर्ती शनिबार रातिदेखि बेपत्ता भएकामा आइतबार मृत अवस्थामा फेला परेकी छन्। पहिरोमा पुरिएका दुई जनाको उद्धार गरिएको छ।

त्यस्तै, सप्तरी संवाददाताका अनुसार तिलाठी कैलाडी गाउँपालिका–५ स्थित कोशी नहरमा डुबेर सशस्त्र प्रहरी बेस क्याम्प तिलाठी कैलाडीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार सुमन आचार्यको शनिबार मृत्यु भएको छ। ड्युटीमा खटेको अवस्थामा उक्त नहरमा पानीको बहाव चेक गर्ने क्रममा शनिबार अचानक नहरमा डुबी बेपत्ता भएका आचार्यको खोजी गर्नेक्रममा नहरभित्र हिलोले पुरिएको अवस्थामा शव फेला परेको हो।

यस्तै रौतहट संवाददाताका अनुसार फतुवा विजयपुर गाउँपालिका–२ स्थित डुमरीया टोलमा बाटोको छेउमा खेल्ने क्रममा शनिबार पानी जमेको खाल्डोमा डुब्दा सोही ठाउँ बस्ने राजेश कुसुवाहकी छोरी ७ वर्षीया रेखा कुसुवाहा र छोरा ५ वर्षीय अनिकेट कुसुवाहको मृत्यु भएको छ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। धादिङ संवाददाताका अनुसार बेनीघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीको किनारमा हाल नाम, थर, वतन खुल्न नसकेका करिब ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

कास्कीमा पहिरोले भत्काएका घर । तस्वीरः धन बस्नेत÷कास्की

कतै खडेरीले हैरान, ब्याडमै सुक्न थाल्यो बीउ

कृष्णउदास खनाल
वीरगन्ज
चर्को खडेरीका कारण पर्साका कृषकहरूले लगाएको धानको बीउ खेतमा नै सुक्न थालेको छ। सबैभन्दा बढी जिल्लाको सुदूरपश्चिमका ग्रामीण भेगका किसानहरूको धानको बीउ ब्याडमै सुक्न थालेको छ भने कतै अहिलेसम्म ब्याड नै राख्न पाएका छैनन्। आकाशे पानीको भरमा धानखेती गर्दै आएका उक्त क्षेत्रका किसानहरू समयमा पानी पर्न नसकेपछि धानखेती गर्नबाट वञ्चित भएका हुन्। असार महिनाको तेस्रो सातासम्म आइपुग्दा पनि पानी पर्न नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन्।

सिँचाइ सुविधा नभएको निर्मलबस्ती, सुवर्णपुर तथा ठोरीका कृषकहरूले राखेको धानको बीउ ब्याडमै सुक्न थालेको छ। निर्मलबस्ती, सुवर्णपुरलगायत केही स्थानमा बोरिङको व्यवस्था गरी विगतमा धान रोपाइँ हुँदै आएको भए पनि यस वर्षदेखि बोरिङबाट पनि पानी आउन छाडेको स्थानीय अमर निर्दोषले बताए। साविक निर्मलबस्ती गाविसको निर्मलबस्ती, नयाँबस्ती, विजयबस्ती र मालीबस्ती गरी झन्डै ६ सय बिघा जग्गमा धानखेती हुँदै आएको छ।

यसैबीच पर्साको ठोरी, सौझौता, निर्मलबस्तीलगायतका केही स्थानका कृषकले पानी नपर्दा अहिलेसम्म धानको बीउ राख्न पाएका छैनन्। धानको बीउ राख्न खनजोत गरी ब्याड तयार गरी राखे पनि पानी नपर्दा धान छर्न नपाएको स्थानीय कृषक कृष्ण पौडेलले दुःखेसो पोखे। धान रोपिसक्ने समयमा ठोरीका कृषकहरूले धानको बीउसमेत छर्न नपाएपछि चिन्तित बनेका छन्। खेडेरीका कारण ठोरीका मकै किसानलाईसमेत असर परेको छ। भर्खर घोगा लाग्न शुरु भएको मकैको बोट सुक्न थालेपछि उत्पादनमा ह्रास आउने भन्दै यस क्षेत्रका किसान चिन्तित बनेका हुन्। समयमा रोपाइँ गर्न नपाउँदा र रोपिएको बालीसमेत जंगली जनावरले सिध्याउने गरेका कारण ठोरीका कृषकले नेपाल समाचारपत्रसँग गुनासो गरे– ‘हाम्रो दिन कहिले आउला ?’

जिल्ला कृषि विकास कार्यालय पर्साका अनुसार हालसम्म पर्सामा जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ कार्य सम्पन्न भएको छ। वर्षाको अभावमा समयमा धान रोपाइँ कार्य हुन नसकेकोमा भने किसानले चिन्ता जनाएका छन्। लगाइएको धानको बीउसमेत ब्याडमा नै सुक्न थालेपछि कृषक चिन्तामा परेका छन्। तर, धान भने असारको अन्तिम सातासम्ममा रोपे पनि फरक नपर्ने कृषि प्राविधिकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्