ध्यान गुरू शाक्यको स्मृतिमा श्रद्धाञ्जलीसभा



 

ललितपुर, (नेस)
५० वटाभन्दा बढी कृतिका लेखक एवं ध्यान गुरू दोलेन्द्ररत्न शाक्यको स्मृतिमा सयौंले आइतबार श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ललितपुर कार्यरत करिब एक दर्जन संघ–संस्थाले संयुक्तरूपमा पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा आयोजित श्रद्धाञ्जली एवं गुनानुस्मरण सभामा श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय शाक्यको योगदानको चर्चा गरिएको हो।

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको संयोजनमा बौद्ध विहार संघ (शाक्य वज्रचार्य समाज) नेपाल परम्परागत बौद्ध धर्म संघ, बौद्ध युवा कमिटी ललितपुर, युवक बौद्ध मण्डल नेपाल, अक्षेयश्वर महाविहार संरक्षण समिति, ललितपुर बुद्ध जयन्ती ट्रस्ट कमिटी, वज्रचार्य पूजाविधि संघले संयुक्तरूपमा सो सभाको आयोजना गरेको हो।

सभामा स्वर्गीय शाक्यको स्मृतिमा एक मिनेट मौनधारण गरी उपस्थिति सयौंले श्रद्धाञ्जली व्यक्त गरेका थिए। वज्रयानी बौद्ध परम्पराअनुसार स्वर्गीय शाक्यको सुगति र निर्वाणको कामना गर्दै दुगति परिशोधन पाठ र भिक्षुहरूले अनित्यस्मरण गर्दै पाठ गर्नुभएको थियो।
सो अवसरमा अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्यले ध्यान र ज्ञान सिकाउन पुर्याउनुभएको योगदानको सराहना गर्दै उहाँका अनुयायीहरूले साप्ताहिक धर्मचचा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा मंगलमार्ग अन्तराष्ट्रिय ध्यान केन्द्र बनाउन जग्गा दान गर्नुहुने स्वर्गीय शाक्यका अनुयायी दशलाल डंगोलले स्वर्गीय शाक्यले बुद्धको साम्प्रदायिक रहित ज्ञान र ध्यान सिकाउन सर्मपित भएर लाग्नुभएको धारणा राख्नुभयो।
सभामा मंगलमार्ग अन्तराष्ट्रिय बौद्ध ध्यान केन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले ध्यान केन्द्र संस्था स्थापना गर्नमा स्वर्गीय शाक्यको योगदनको चर्चा गर्दै उहाँको गुणको अनुशरण गर्नुपर्ने खाँचो औंल्याउनुभयो।

समाजसेवी एवं मोतीलाल शिल्पकार, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठको पनि उपस्थिति रहेको सो सभामा स्वर्गीय शाक्यका ज्येष्ठ पुत्र महेन्द्ररत्न शाक्य, केन्द्रका महासचिव सुनील महर्जनले शाक्य एक लेखक, ध्यान गुरू, ध्यान र ज्ञानको नेतृत्वकर्ताको रूपमा पहिचान स्थापित गरेको भन्दै समग्र योगदानको विविध पक्षबारे चर्चा गर्दै आ–आफ्नो धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्