पढ्न पाउनुपर्ने माग गर्दै सडकमै उत्रिए विद्यार्थी



 

कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्जको बिर्तामा रहेको सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयका शिक्षकको विवादले विद्यार्थी सडकमा उत्रिएका छन्।

खास गरी गर्मी बिदाका विषयमा प्रधानाध्यापक र शिक्षकबीच विवाद भएपछि विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। अन्य शिक्षकको असहमतिका बाबजुद प्रधानाध्यापक सुरेन्द्र कुँवरले जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेन्डर विपरीत आइतबार असार १८ गतेदेखि साउन २ गतेसम्मका लागि गर्मी बिदा दिएपछि विवाद भएको हो। प्रधानाध्यापकले विद्यालय बन्द गरेपछि विद्यार्थीले भने विद्यालय सञ्चालनको माग गर्दै सडक आन्दोलन शुरू गरेका हुन्। विद्यालयका सबै कक्षाकोठा र कार्यालयमा ताल्चा लगाइएका कारण विद्यार्थी आइतबार बिहानदेखि विद्यालय अगाडिको सडकै बसेर पठपाठन गर्दै प्रधानाध्यापक कुवँरविरुद्ध नाराबाजी गरिरहेका छन्।

जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेन्डरमा सामुदायिक विद्यालयमा साउन ५ गतेदेखि गर्मी बिदा दिनुपर्ने उल्लेख छ। तर, प्रधानाध्यापक कुवँरले भने शुक्रबार असार १८ गतेदेखि साउन २ गतेसम्म गर्मी बिदाका लागि विद्यालय बन्द हुने सूचना प्रकाशित गरका थिए। शिक्षा कार्यालयको निर्देशन विपरीत असार १८ गतेदेखि गर्मी बिदाका लागि विद्यालय बन्द गर्ने प्रधानाध्यापक कुवँरको निर्णयको शिक्षकशिक्षिकाले पनि असहमति जनाउँदै चर्को विरोध गरेका थिए। यता विद्यार्थीले पनि शिक्षा कार्यालयको निर्देशन विपरीत प्रधानाध्यापक कुवँरले आफ्नो स्वार्थका लागि विद्यालय बन्द गरेको भन्दै आन्दोलन शुरू गरेका हुन्। विद्यार्थीहरूले प्रअको कारबाहीको माग गर्दै पठनपाठन सुचारु गर्न माग गरेका छन्। यद्यपि प्रअ कुवँरले भने अहिले गर्मी बढेका कारण आफूले बन्द गर्ने निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस्