एक दिनको वर्षाले ६ स्थानमा राजमार्ग अवरुद्ध



 

नेपाल समाचारपत्र
पर्वत
शनिबार साँझदेखि परेको अविरल बर्षाका कारण पोखरा बागलुङ राजमार्गका विभिन्न स्थानमा अवरुद्ध भएको छ। प्रहरीले दिएको जानकारीअनुसार पर्वत खण्डमा मात्रै शनिबार साँझदेखि आइतबार बिहानसम्म विभिन्न ६ स्थानमा सडक अवरुद्ध भएको हो।

पहिरोले सडक नबगाए पनि सडकमाथिबाट झरेको पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएको हो। राजमार्ग सुचारु गर्नका लागि जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीको टोलीले सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा बिहान ८ बजेसम्म डोजर परिचालन गरी सञ्चालनमा ल्याएको छ।

पर्वतको कुश्मा नगरपालिका–३ बडारेखोला पहिरो आउँदा शनिबार साँझ नै अवरुद्ध बनेको थियो भने कुश्मा नगरपालिका–८ चुवाको भीरमा २ स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई शनिबार राति ११ बजे मात्रै सञ्चालनमा आएको थियो। त्यस्तै चुवाको ठाडो खोलामा पहिरो खस्दा अवरुद्ध बनेको पोखरा–बागलुङ राजमार्ग राति १२ बजेबाट मात्रै सुचारु भएको थियो।

पहिरोले कुश्मा नगरपालिका–८ चुवा कै गिलमिरी खोला, कुश्मा नगरपालिका–४ नयाँपुल, कुश्मा नगरपालिका–३ आम्बोटलगायतका स्थानमा राजमार्ग अवरुद्ध भएपछि प्रहरी चौकी देउपुर पर्वतको २० जनाको प्रहरी टोली खटिई गएको र स्थानीय स्तरमा रहेको डोजरलाई समेत समन्वय गरी आइतबार बिहान मात्र सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो।
पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–१ सम्मको करिब २० किलोमिटर पोखरा बागलुङ राजमार्ग आसपासमा जलविद्युत् आयोजनाहरू निर्माण कार्य धमाधम भइरहेको र सोही कारण पनि पहिरोको जोखिम बढेर गएको हो। आयोजना निर्माणका क्रममा स्काभेटर र डोजरहरूको प्रयोग गरी राजमार्ग आसपासका स्थानबाट सुरुङ निर्माण गर्ने गरेपछि र मोदीखोलामा आयोजनाले नै दोहन गर्ने क्रम बढेर गएपछि सडक उच्च जोखिममा परेको हो।

प्रतिक्रिया दिनुहोस्