शिक्षालाई वैज्ञानिक, व्यावहारिक ,रोजगारमूलक र गुणस्तरीय बनाउने प्रधानमन्त्रीको आश्वासन



काठमाडौँ, १८ असार । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शिक्षालाई वैज्ञानिक, व्यावहारिक रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पु¥याउन आवश्यक रहेको र यसका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक रुपमा अगाडि बढाउँदै लैजानुपर्ने औंँल्याउनुभयो ।

प्रधानमन्त्री देउवाले सबै सरोकार भएकाहरुसँग समन्वय गरी विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र नीतिगत विषयमा आवश्यकतानुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले अर्काे प्रसङ्गमा हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनु र यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनमा थप सहजता आएको महसुस गरिएको बताउँदै आगामी माघभित्र सबै तहको निर्वाचन गराई मुलुकलाई स्थायित्व र विकासको मार्गमा अगाडि बढाउनु सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो ।

बैठकमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति गोपालमान श्रेष्ठले समय र परिस्थिति अनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्व परिवेश अनुकूल गराउन तथा गुणात्मक रुपले प्रतिस्पर्धी विद्यार्थी उत्पादन गराउन आग्रह गर्नुभयो ।

त्रिविका कुलपति प्रा डा तीर्थराज खनियाले विश्वविद्यालयले काठमाडौँ उपत्यकाभित्र लागू गरेको सेमेस्टर प्रणाली व्यवस्थित गरेको, प्रविधियुक्त शिक्षाको थालनी गरी वाइफाइ र इ–लर्निङको व्यवस्थाका साथै दूरशिक्षाको समेत थालनी गरेको जानकारी दिनुभयो ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले २०७३ असार २ गतेदेखि २०७४ जेठ १७ सम्मका अवधिमा तोकिएका आवश्यकता पूरा गरी परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका ८६ हजार २९२ जना विद्यार्थी रहेको जानकारी दिनुभयो ।

तीमध्ये शिक्षाशास्त्र सङ्कायमा २६ हजार २९०, व्यवस्थापन सङ्कायमा १८ हजार १५३, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा १३ हजार २३६ र कानुन सङ्कायमा एक हजार १०८ छन् । त्यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा चार हजार ३५४, इन्जिनियरिङ अध्ययन संस्थानमा दुई हजार ३९३, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४३१ र वन विज्ञान अध्ययन संस्थानमा २४० छन् ।

ती विद्यार्थीको दीक्षान्त आगामी पुसमा गर्ने तयारी भइरहेको बताइएको छ । यसअघि प्रधानमन्त्री देउवाले त्रिविको नवनिर्मित मूल प्रवेशद्वारको उद्घाटन तथा त्रिवि केन्द्रीय कार्यालय परिसरमा झन्डोत्तोलन गर्नुभएको थियो । रासस-सिवी

प्रतिक्रिया दिनुहोस्