रुपाकोट मझुवागढी नगरपालिकाको पहिलो मेयर दिपनारायण रिजाल



रामधन राई,खोटाङ ।
असार–१८, खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको पहिलो मेयर दिपनारायण रिजाल बन्नुभएको छ ।

बिद्यार्थी कालदेखि नै राजनीतिमा निरन्तर सक्रिय भई नेकपा एमालेको तर्फबाट स्थानीय तहको निर्बाचनमा उम्मेदवार बन्नुभएको रिजालले ५ हजार ३ सय ४३ मत ल्याउँदै नगर प्रमुख बन्नुभएको हो ।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजनशेर राईले रिजालले भन्दा ६ सय २५ मत कमी वा ४ हजार ७ सय १८ मत ल्याउनुभयो भने राजनशेरसँग झिनो मतान्तरले तेश्रो बन्नुभएकी माओबादी केन्द्रका दुर्गाजयन्ती राईले ४ हजार ४ सय ३४ मत प्राप्त गर्नुभएको थियो ।

त्रीपक्षीय प्रतिस्पर्धा भएको नगरमा कुल १७ हजार ४४ मत खसेका थिए ।

साबिकको नेर्पा–३ तथा हालको वडा नम्बर ६ स्थायी ठेगाना भएको ३८ बर्षिय रिजाल त्रिभुवन बिश्व बिद्यालयबाट ग्रामिण बिकासमा बिद्यावारिधी गर्ने तयारीमा रहनुभएको छ ।

नबनिर्बाचित मेयर रिजाल नेकपा एमाले निकट बिद्यार्थी संगठनबाट दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा २०६२ सालमा स्वतन्त्र बिद्यार्थी संगठनको सभापति हुँदै राजनीतिक मुलधारमा प्रबेश गर्नुभएको थियो ।

हरेक राजनीतिक आन्दोलनहरुमा सक्रिय रहँदै हाल पार्टीको जिल्ला सचिवालय सदस्य, पार्टी स्कुल बिभाग प्रमुख तथा नगर संगठन बिभागका सचिबको जिम्मेवारीमा रहनुभएको रिजाल अध्ययन र राजनीति सँगसँगै सामाजिक संघसंस्थामा समेत सक्रिय हुनुहुन्छ ।

२०५८ सालमा भएको लाउडा बिमान प्रकरणको बिरोध स्वरुपको मसाल जुलुसको क्रममा प्रहरीको गोलीबाट घाईंते बन्नुभएको रिजाल नेपालकै इतिहासमा पहिलो पटक राजा ज्ञानेन्द्रले शाही कु गरेको भन्दै जिल्ला सदरमुकाम आएको बखत बिरोध स्वरुप कालो झण्डा देखाउँदा समेत अग्र पंक्तिमा रहनुभएको थियो ।

२०५२ सालदेखि जिल्लामा स्थापित बाल सेवा समाज नेपाल नेर्पा खोटाङको संस्थापक अध्यक्ष हुँदै २०६८ देखि २०७२ सालसम्म गैरसरकारी संस्था महासंघ खोटाङको जिल्ला अध्यक्षको कार्यभार सम्हाल्नुभएको रिजाल हाल गैसस महासंघको केन्द्रीय सदस्य रहनुभएको छ ।

नबनिर्बाचित मेयर रिजालले अधिकार सम्पन्न प्राधिकरण गठन गरी समग्र नगरको बिकास गर्ने अवधारणा अघि सार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्