व्यवसायी श्रेष्ठको अन्त्येष्टी



 

नरेन्द्र केसी, दाङ

अपहरणपछि हत्या गरिएका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको बबई नदीमा अन्त्येष्टी गरिएको छ। तुलसीपुरको शितलपुरस्थीत बबई नदीमा गरिएको श्रेष्ठको अन्त्येष्टिमा हजारौंको सहभागिता रहेको थियो। जेठ २६ गते राती अपहरित श्रेष्ठको शव २१ दिनपछि शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे लेक भञ्ज्याङ जंगलमा मृत फेला परेको थियो।

यसैबीच दाङका उद्योगी व्यापारीहरूले मध्यपश्चिमका प्रहरी प्रमुख विजयलाल कायस्थसँग उद्योगी व्यापारीहरूको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन्। उनीहरूले शनिबार दाङ आएका कायस्थसँग एकपछि अर्को घटना हुनु दुखद्
भएको भन्दै तत्काल सुरक्षाको ग्यारेन्टी गर्ने वातावरण मिलाउन आग्रह गरेका हुन्।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विमल रिजालले श्रेष्ठको शोकमा आपूmहरूले तीन दिन बजार बन्द गरेको भन्दै तत्काल दोषीहरूलाई पक्राउ गरी कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो। अपरहणमा संलग्न केही पक्राउ परे पनि झिम्पे–४ सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, तुलसीपुर–६ की १७ वर्षीया पूजा घर्ती मगर, शान्तिनगर–२ घर भई हाल तुलसीपुर–६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्ती फरार रहेको प्रहरीले जनाएको छ। अपहरणमा टीकारामले आफ्नै छोरी पूजालाई प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

पूजाले फोन गरेर व्यवसायी श्रेष्ठलाई सल्यानसम्म लगेको र त्यसपछि अन्य समूहले अपहरण गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताउनुभयो। फरार अभियुक्तबारे जानकारी दिनेलाई प्रहरीले एक लाख रुपियाँ पुरस्कारको घोषणा गरेको छ। श्रेष्ठसँगै अपहरित भनिएका घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्ती पनि फरार छन्। उनको पनि घटनामा संलग्नता भएको हुनसक्ने प्रहरीको आशंका छ। बा ११ च १०७१ नम्बरको निजी सेतो रङको कारमा तुलसीपुरबाट निस्किएका श्रेष्ठको गाडी सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोलास्थित भित्री कच्ची सडकखण्डमा फेला परेको थियो। उक्त गाडीको साथमा भारतीय एचपी ११८६४८ नं को गाडी पनि फेला परेको थियो।

यसैबीच जिल्लास्थित उद्योग वाणिज्य संघहरूले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गरेका छन्। दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराही, देउखुरी उद्योग वाणिज्य संघ लमही, नारायणपुर उद्योग वाणिज्य संघ, गढवा उद्योग वाणिज्य संघ, हापुरे उद्योग वाणिज्य संघ, विजौरी उद्योग वाणिज्य संघ, सिसहनिया उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले विज्ञप्ति जारी गरी शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।

‘यस घटनाले निजी क्षेत्र अत्यन्त दुःखित भएको छ, बेसहारा महशुस गरिरहेको छ’– विज्ञप्तिमा भनिएको छ–‘अतः यस्ता अपराधिक कार्यमा संलग्न अपराधीहरूलाई जनताले महशुस गर्ने गरी कानुनी कारबाही गर्न, मुलुकभित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास सरकारसंँग जोडदार माग गर्दछौ।’

प्रतिक्रिया दिनुहोस्