व्यापारघाटा कम गर्न मिलेर काम गर्नुपर्छः अर्थमन्त्री



 

नेपाल समाचारपत्र
काठमाडौं
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कहालीलाग्दो व्यापारघाटा कम गर्नका लागि सरकार, निजी र सहकारी मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ। राष्ट्रिय सहकारी संघ नेपालले ९५औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले सहकारी मोडेलमार्फत दिगो विकासका लागि सरकारले सहकार्य गर्ने बताउनुभयो।

सो अवसरमा अर्थमन्त्री कार्कीले मुलुक निर्माणमा सहकारीको भूमिका अपरिहार्य रहेको बताउनुभयो। ‘अहिले मुलुकको विद्यमान व्यापारघाटा कम गर्नुपर्ने चुनौती छ। त्यसका लागि सरकार र निजी क्षेत्रले मात्र पूरा गर्न नसक्ने भएकाले समुदायसँग जोडिएको सहकारीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएर संविधानले नै तीन खम्बे अर्थनीतिलाई स्वीकार गरेको हो,’कार्कीले भन्नुभयो।

नयाँ सहकारी ऐन तीन खम्बे अर्थनीतिलाई मूर्त रूप दिनेगरी आउनेमा उहाँले विश्वास राख्नुभयो। सहकारी ऐनले सहकारी व्यवसायलाई अझ अगाडि बढाउन सहयोग गर्ने उहाँ धारणा थियो। उहाँले भन्नुभयो–‘सहकारी क्षेत्र उत्पादनशील, पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा समेत क्रियाशील हुनुपर्छ।’

राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव बडालले नेपालको सहकारी अभियानको वर्तमान अवस्थाबारे चर्चा गर्नुभएको थियो। त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राज्यले सहकारीलाई धेरै महत्त्व दिएको भए पनि सहकारी अभियानले प्रतिफलमा पुनर्विचार गर्नुपर्ने अवस्था रहेको औंल्याउनुभयो।

कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी, वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, संघकी उपाध्यक्ष तथा सांसद ओमदेवी मल्ल, डा. भरत प्रधान, गणेश साह, दीपकप्रकाश बाँस्कोटा, राष्ट्रिय सहकारी विकास बोर्डका सरोजकुमार शर्मा, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानलगायतले धारणा राख्नुभएको थियो।

यसैबीच शनिबार देशका विभिन्न क्षेत्रमा रक्तदान, सरसफाई, जनचेतना, तालिम, प्रतियोगितालगायतका कार्यक्रम गरी ९५औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ। प्रत्येक वर्षको जुलाई महिनाको पहिलो शनिबारलाई विश्वभरिका सहकारीकर्मीले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरेका छन्। नेपालमा पनि ‘सहकारीको सुनिश्चिताः कोही पछाडि छुट्दैनन्’भन्ने नाराका विभिन्न कार्यक्रम गरी ९५औं सहकारी दिवस मनाइएको हो। कार्यक्रममा सहकारीसम्बन्धी करको सम्पूर्ण जानकारी दिने सहकारी कर ज्ञानमालाको विमोचन भएको थियो। सो अवसरमा उत्कृष्ट सहकारी संघ⁄संस्था पुरस्कृत पनि भएका थिए।

प्रतिक्रिया दिनुहोस्