प्रेम र ज्ञानु च्याम्पियन



 

नेपाल समाचारपत्र
काठमाडौं
बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता स्वयम्भुका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुसलान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा शनिबार च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा प्रेमले पुरुष फाइनलमा आर्मीका रोशन नगरकोटीलाई ६–२ ले पराजित गरे। स्वयम्भूका रमेश भट्टचनले कास्कीका अशिम शेरचनलाई ७–३ ले हराउदै तेस्रो भए।

राजधानी न्युज पब्लिकेसनद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा ज्ञानुले कास्की आर्चरी क्लबकी रश्मी दर्लामीलाई ६–२ ले हराइन्। आर्मीकी आइशा तामाङले कास्कीकी राज्यलक्ष्मी जोशीलाई ६–० ले हराएर तेस्रो स्थानमा रहिन् । यसमा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे।

पुरुष ट्रेडिसनल खुलामा अन्नपूर्ण आर्चरी क्लबका राज पुर्जाले फाइनलमा नेपाल छन्त्याल समाजका धनेन्द्र छन्त्यालको चुनौती ६–० ले हराएर स्वर्ण जिते । म्याग्दी मगर समाजका जितेन्द्र रोकामगरले हिमालयन भोटे युथ क्लबका नादार भोटेलाई ६–२ ले पाखा लगाउदै तेस्रो भए। यो स्पर्धाका शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद प्राप्त गरे । स्ट्यान्डर्डतर्फ द बेस्ट आर्चरीका ग्रिष्मा गुरुङले फाइनलमा आर्मीका पवन राईलाई ६–५ ले पन्छाए। आर्मीका डम्बर थापा तेस्रो भए । विजेताले १० हजार, उपविजेताले ८ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार पाए ।

बेस्ट आर्चरीका प्रजित अग्रवालले पुरुष कम्पाउन्ड स्पर्धामा सुदूरपश्चिमाञ्चलका होमबहादुर थापालाई १३९–१३३ ले पराजित गरे। राजधानीका सनातन मल्ल तेस्रो भए। शीर्ष तीनले क्रमशः १५, १० र ५ हजार नगद प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्