तब्बुको बिहे नहुनुको कारण अजय देवगण !



 

दिवंगत अभिनेतृ नुतनपछि बलिउडमा सक्षम अभिनेतृको रूपमा तब्बुलाई लिइन्छ। अभिनेतृ फराह खानकी बहिनी तब्बुले निर्देशक, निर्माता तथा अभिनेता देव आनन्दको फिल्म हम नँैजवानबाट बलिउडमा आफ्नो करिअर शुरु गरेकी थिइन्।

यस फिल्ममा उनले देव आनन्दको १४ वर्षीया छोरीको भूमिका निर्वाह गरेकी थिइन्। यसपछि उनले बोनी कपुरद्वारा निर्मित तथा शतीश कौशिकद्वारा निर्देशित फिल्म प्रेमबाट नायिकाको रूपमा काम गर्न शुरु गरेकी थिइन्। तर, उनले अभिनेता अजय देवगणसँग खेलेको फिल्म विजयपथबाट करिअरमा सफलताको शुरुआत भएको थियो। यस फिल्मको रुक रुक बोलको गीतमा उनले गरेको नृत्यको कारण उनलाई दर्शकले निकै मन पराएका थिए। पछिल्लो ३० वर्षदेखि फिल्ममा सक्रिय यी अभिनेतृको कहिल्यै पनि कुनै अभिनेतासँग नाम जोडिएको थिएन। तर, भनिन्छ कि तब्बु यस उमेरसम्म सिंगल रहनुको कारण अजय देवगण हुन्। वर्षौंको मौनतापछि तब्बु आफैंले यो कुराको खुलासा गरेकी हुन्। उनले भनेकी छिन्– ‘आजसम्म म सिंगल रहनुमा अजय देवगण जिम्मेवार छन्।’

४५ वर्षीया उनले मुम्बईको एक पत्रिकालाई दिएको एक अन्तरवार्तामा भनेकी छिन्– ‘अजय र म एक–अर्कालाई २५ वर्षदेखि चिन्छौं। उनी मेरो कजन समीर आर्याको छिमेकी हुन् भने मेरो राम्रो साथी। अजय मेरो जिन्दगीमा त्यति बेलादेखि छन्, जब म आफ्नो करिअरमा अघि बढ्न थालें। उनले हामीबीचको सम्बन्ध निभाइरहेका थिए। त्यो बेला समीर र अजय मप्रति खुबै निगरानी राख्थे र मेरो हरेक ठाउँमा फलो गरिरहन्थे’, तब्बुले हालै मात्र आएर खुलाएकी छिन्– ‘जब कुनै केटा मसँग बोल्न आउँथे। उनीहरु ती केटाहरुलाई पिट्नेसम्मको धम्की दिन्थे।

आजसम्म मेरो विवाह नहुनुको कारण केवल अजय हुन्। मलाई आशा छ कि अजयलाई मैले यो के गरें भन्नेमा पश्चाताप हुनेछ।’ उनले अन्तरवार्ताको समयमा हास्दै आफूले अजयलाई विवाहका लागि कुनै केटा खोजिदिनका लागि आग्रह गरेको समेत खुलाएकी छिन्। स्मरणीय छ कि तब्बु तथा अजय विजयपथपछि हकिकत, रक्षक, फितुर दृश्यम् जस्ता फिल्ममा सँगै काम गरेका थिए। दर्शकले यो जोडीलाई निकै मन पराएका थिए। हाल यी दुवै रोहित सेट्टीको सफल सिरिज गोलमालका चौथो संस्करण गोलमाल ब्याक अगेनमा काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्