धान दिवसको महत्त्व



 

विगतका वर्षहरूमा झैं यसपटक पनि विविध कार्यक्रमका साथ गत बिहीबार असार १५ मा १४औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको छ । ‘दुई बाली धान खेतीको विस्तार’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइएको छ । पछिल्ला वर्षहरूमा दिवस दिवसका रूपमा मात्रै सीमित भएको छैन, विगतका वर्षहरूलाई तुलना गर्ने हो भने यस वर्ष धान उत्पादनसमेत बढेको छ । यस वर्ष धानको उत्पादन ४२ लाख मेट्रिक टनबाट २१ प्रतिशतले बढेर ५२ लाख ३० हजार मेट्रिक टन पुगेको छ ।

उत्पादन परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा करिव २१ प्रतिशतले बढी हो । कृषि विकास मन्त्रालयका अनुसार यो चालू आर्थिक वर्षमा धान रोपनको क्षेत्रफल १३ दशमलव ९१ प्रतिशतले बढेर १५ लाख ५२ हजार हेक्टर पुगेको थियो । धानको कुल उत्पादन वर्षेनि घट–बढ हुने गरे पनि उत्पादकत्व भने प्रतिहेक्टर ३ हजार किलोका हाराहारीमा हुँदै आएको छ । क्षेत्रफलको आधारमा धानखेतीको ७१ प्रतिशत हिस्सा तराईमा छ भने २६ प्रतिशत पहाड र ३ प्रतिशत उच्च पहाडी भेगमा छ ।

असार महिनालाई मानो रोपेर मुरी फलाउने समयका रूपमा समेत स्मरण गरिन्छ । विज्ञहरू धानको उत्पादनले समग्र मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र खाद्य सुरक्षामा सुधार हुने बताउँछन् । कृषि मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४ प्रतिशत रहेकोमा धानको हिस्सा मात्रै करिव २० प्रतिशतका हाराहारीमा छ । यस्तै तथ्यलाई आधार मान्दै कृषि मन्त्रालयले आगामी ३ वर्षभित्र धानलगायत खाद्यान्न बालीमा आत्मनिर्भर कार्यक्रम लागू गरेको छ । कार्यक्रमको मुख्य केन्द्र प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना रहेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७१⁄०७२ देखि विभिन्न २० जिल्लामा मसिनो तथा बासनादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम शुरु गरेकोमा अहिले सो कार्यक्रम मुलुकभरका ३५ जिल्लामा विस्तार भइसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा धानको उत्पादन बढाएर ५४ लाख टन पुर्याउने रणनीतिक लक्ष्य सार्वजनिक गरेको छ । सोहीअनुसार सो लक्ष्यमा पुग्न चैतेधान र वर्षेधान प्रवद्र्धनका कार्यक्रम अघि सारिएको छ । मुलुकका विभिन्न ५० जिल्लामा चैतेधान खेती हुने क्षेत्रफल विस्तार गरी ३ लाख हेक्टर पुर्याउने लक्ष्य मन्त्रालयको छ । अहिले चैतेधान १ लाख १८ हजार हेक्टरका हाराहारीमा हुँदै आएकोमा अब ३ लाख हेक्टरमा चैतेधानको क्षेत्र विस्तार गर्ने सरकारको महत्त्वकांक्षी योजना छ ।

भनिन्छ, विश्वको कुल जनसंख्याको करिव आधा हिस्साले चामललाई मुख्य खाद्यान्नका रूपमा उपभोग गर्छन् । वर्षेनि जनसंख्या बढिरहेको अवस्थामा धानलगायत अन्य कृषि उपज हुने जमिनको क्षेत्रफल पक्कै पनि बढ्दैन, तर कृषिमा अवलम्बन गरिएको परम्परागत अभ्यास सुधार्दै समय सापेक्ष अभ्यासअनुशरण गर्ने हो भने सीमित क्षेत्रमा पनि उत्पादन बढाउन सकिन्छ । पर्याप्त सिँचाइ, आधुनिक प्रविधि, कृषकलाई तालिम, बीउ, मलजस्ता कुराको सुनिश्चितता गर्न सकिएमा धानको उत्पादन बढ्नेमा शंका छैन । यससँगै नयाँ पुस्तालाई समेत धान र अन्य खाद्यान्न बालीतर्फ आकर्षित गर्ने कार्यक्रम अघि सार्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्