बाढीले आधा दर्जन गाउँ डुबानमा



 

शिवहरिप्रसाद भट्टराई, राजविराज

अविरल वर्षाका कारण खाडो, मोहुली, त्रियुगा, जीतालगायतका नदीमा आएको बाढीले राजविराज नगरपालिकाको २ वटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन्।

मध्य रातमा आएको बाढीबाट राजविराज नगरपालिकाको वडा नम्बर ९ र १० का साथै मैनाकडेरी, बसविट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रूपनी, पकरी, रम्पुरा, मलहनीयालगायतका गाउँहरू डुबानमा परेका हुन्।

गाउँमा बाढी पसेकाले ३ फिटसम्म पानी जमेको छ। अकस्मात्को बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसमान बगाएको छ।

उक्त वडाका डेढ सय परिवार बाढीको उच्च जोखिममा छन्। एक्कासि आएको बाढीले मलेठस्थित मो. यासिनको कुखुरा फर्ममा रहेका १ हजार २ सय कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए। मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न हुँदा ठप्प भएको छ। बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगहरुभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकहरु बताउँछन्।

रूपनी गाउँपालिका–२ मा बाढी पस्दा १ सय घर डुबानमा परेका छन्। स्थानीयको खेतबारी बगाउनुका साथै पानी बस्तीमा छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेको स्थानीयबासी नरेश यादवले बताए। गत वर्ष गाउँमा पसेको बाढीले गरेको क्षति नबिर्संदै फेरि यो वर्ष पनि बाढीले दुःख दिन थालेको उनको गुनासो छ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीले जिल्लाका १ हजार ५ सय घरपरिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको बताए पनि यो संख्या ३ हजार पुग्ने स्थानीयहरू बताउँछन्।

प्रहरी उपरीक्षक द्विवेदीका अनुसार बाढीबाट जोगाउन ठाउँ–ठाउँमा अस्थायी बाँध बनाउने काममा प्रहरी खटिएको छ। यसैबीच जिल्लाको लौनियाँमा खोलाले बगाएर ल्याएको एक पुरुषको मृत शरीर प्रहरीले फेला पारेको छ। पहिचान खुल्न नसकेको मृतकबारे आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक द्विवेदीले जानकारी दिए।

 

पहिरोमा परेर एकै घरका तीनको मृत्यु
तेह्रथुम, (नेस)
म्याङलुङ नगरपालिका–५ आम्दिममा शुक्रबार राति पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। सो घटनामा थप तीन जना घाइते भएका छन्।

घरमाथिबाट खेतमा सिँचाइका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो। घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षीया प्रीति सोदेम्बा र नाति नौ वर्षीय प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। पहिरोमा परी ३६ वर्षीय सोमकुमार सोदेम्बा, २० वर्षीय लोकप्रसाद सोदेम्बा र १५ वर्षीया प्रिया सोदेम्बा घाइते छन्।

३६ घण्टापछि खुल्यो सडक, पैदलयात्रु चिप्लिएर त्रिशूलीमा
नेपाल समाचारपत्र
चितवन
दुई दिनदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड करिब ३६ घण्टापछि शनिबार बेलुका ६ बजेदेखि सुचारु भएको छ। बाटोको पहिरो पन्छाउँदै सवारी आगमनलाई निरन्तरता दिइएको हो।

प्राप्त जानकारीअनुसार शुक्रबार बिहानदेखि बाटो बन्द भएको थियो। चितवनस्थित इच्छामनकामना गाउँपालिका वडा नम्बर ६ को कालिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि राजधानीबाट बाहिरिने तथा राजधानी छिर्ने सयौं सवारीसाधन बाटोमै अलपत्र परेका थिए। सडकमा ठूल्ठूला चट्टान पन्छाउन निकै समय लागेकाले सडक खुल्न समय लागेको बताइएको छ। यसैबीच त्रिशूली नदीमा खसेर एक जना पैदल यात्री बेपत्ता भएका छन्।

नारायणगढ–मुग्लिन खण्डको सडकमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका हुन्।

प्रहरी स्रोतका अनुसार शनिबार बिहान करिब ११ः४५ बजे सर्लाहीका २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता भएका हुन्। निज चौधरी चिप्लेर सडकबाट १ सय मिटर तल त्रिशूली नदीमा खसेका थिए।

उनी बसबाट झरेर हिँड्दै आउने क्रममा घटना भएको प्रहरीले जनाएको छ। उनको शव अझै भेटिएको छैन। उनको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्