दुव्र्यसनीविरुद्ध सचेतना



 

नेपाल समाचारपत्र
काठमाडौं
लागूऔषध दुव्र्यसनीविरुद्धको सचेतना अभियानलाई पछिल्लोपटक ललितपुरमा स्थानीय महिला समूहहरूले निरन्तरता दिन थालेको पाइएको छ।

लागूऔषध दुव्र्यसनको समस्या समाधान गर्न प्रहरी प्रशासनसँगै समुदायको सचेतना र अग्रसरता पनि उतिकै आवश्यक रहेको आत्मसात गर्दै अभियानलाई निरन्तरता दिन थालिएको हो। शनिबार मणिमण्डप मिसा पुचः (महिला समूह)ले स्थानीय पटकोमा लागूऔषधविरुद्ध शनिबार सडक नाटकको आयोजना गरेको थियो।

महानगरीय प्रहरी प्रभाग मंगलबजारले राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरको शाखाको सहयोगमा सञ्चालन भइरहेको सडक नाटकलाई यस पटक पुचःले संयोजन गरेको हो। ‘तीन महिनाअघि यो नाटक हेर्दा म ज्यादेै प्रभावित भएँ। नाटकको सन्देशलाई घरघरमा पुर्याउनुपर्ने र लागूऔषध दुव्र्यसनीविरुद्ध परिवारबाटै अग्रसरता शुरू गर्न कार्यक्रमको संयोजन गरेको हो’ –स्थानीय महिला नेतृसमेत रहनुभएका पुचःका निर्वतमान अध्यक्ष हसिना शाक्यले भन्नुभयो।

पछिल्लो पटक ललितपुरका विभिन्न स्थानमा लागूऔषध सेवनकर्ताहरू भेटिएको र तिनीहरू मध्येबाटै लागूऔषधको कारोबार गर्नेहरूलाई नियन्त्रणमा लिइएको अवस्थामा प्रहरीले महासंघसँग मिलेर लागूऔषध दुव्र्यसनविरुद्धको अभियान शुरुआत गरेको थियो। ललितपुरमा अहिले नियन्त्रणमा लिएका लागूऔषध दुव्र्यसनकर्ताभन्दा ठूलो संख्यामा लागूऔषध दुव्र्यसनकर्ताहरू समाजमा रहेको हुनसक्ने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

सचेतनामूलक कार्यक्रमहरू आ–आफ्नो टोलमा लैजान एक दर्जन संघसंस्थाहरूले कार्यक्रम आयोजना गर्ने प्रस्ताव राखेको महासंघका अध्यक्ष राजेश वज्राचार्यले बताउनुभयो। सडक नाटकमा युवायुवतीहरूले नृत्यसँगै लागूऔषधविरुद्ध घर परिवार सक्रिय हुनुपर्ने, यसमा प्रहरीको साथ लिन सकिने सन्देश प्रवाह हुने नाटक देखाइएको थियो। नाटक हेर्न युवायुवतीहरूसँगै विभिन्न महिला समूहको विशेष सहभागिता रहेको थियो।

सो अवसरमा महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवम् प्रहरी निरीक्षक प्रकाश थापाले मनोरञ्जनसँगै सडक नाटकले उपयोगी सन्देश प्रवाह गरेको धारणा राख्दै आफ्ना सन्तानहरू कुलतमा फस्न सक्ने, फसेमा प्रहरीसँग आवश्यक समन्वय गरेर सुधार गृहमा लग्ने र लागू औषध कारोबार विरुद्ध समुदायको भूमिका महत्व हुने बताउनुभयो। उहाँले युवाहरू मार्फत लागू औषध दुव्र्यसनी विरुद्ध अभियान थालनी हुनु सकारात्मक रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले अपराध, सामाजिक विकृति विसंगति, घर परिवार तहसनहस हुनुको महत्वपूर्ण कारण रहेकोले यसका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औल्याउँदै यस्ता कार्यमा वडा कार्यालयको सदैव साथ, सहयोग रहने बताउनुभयो।
प्रहरी प्रभाग मंगलबजारको भवन निर्माण समितिका अध्यक्ष अजरमान जोशी, दिलेन्द्ररत्न शाक्य, आदिवासी महिला समूहका अध्यक्ष प्ररेणा वज्राचार्य र समाजसेवी मोतिशान्ति शाक्यको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्