सुरेल अगुवाको चिन्ता भाषा संरक्षण कसरी गर्ने



 

चिरञ्जीवी मास्के, दोलखा
७९ वर्ष पुगिन जुनकी सुरेल, भूकम्पले चर्किएको घरमा एक्लै बस्छिन्। तर उनलाई घरको भन्दा बढी आफ्नो भाषा लोप हुन लागेको चिन्ता छ। म त अस्ताउन लागेको घाम, घर नभए पनि चल्छ जुनकीले भनिन्– ‘भाषा त हाम्रो पहिचान हो, यो लोप भयो भने हाम्रो जत्तिकै अस्थित्व समाप्त हुन्छ। थोरै जनसंख्या र दोलखा गौरीशंकर गाउँपालिका–५ सुरीको एकैठाँउमा बस्ती भएर पनि लोपोन्मुख सुरेल जातिका युवा युवती तथा केटाकेटीले आफ्नो भाषा बोल्न छोडेका छन्। लिपि त झन् निकै अघिदेखि लोप भइसकेको छ।’ वृद्धवृद्धा र प्रौढहरूले अलिअलि आफ्नो भाषा बोल्ने गरेका छन्, युवायुवती र केटाकेटी त आफ्नो भाषा बोल्नुपर्दा सानो होइन्छ जस्तो ठान्छन्’ –जुनकीले भनिन्।

२०६३ सालमा सुरेलहरूको अगुवा अविरे सुरेलको ८३ वर्षको उमेरमा मृत्यु भएपछि भाषा, संस्कार संस्कृति क्रमशः लोप हुँदै गएको सुरेल जातिको अध्येता स्थानीय मधुसूदन आचार्यले बताए। ‘अविरे हुँदा भाषा, लिपि, संस्कार संस्कृति जगेर्नाका लागि पहल गरिरहन्थे’, मधुसूदनले भने– ‘अहिले त कसैले यसको विषयमा चासो नै दिँदैनन्।’ सुरेलहरूको अगुवा स्वर्गीय अविरे सुरेलको श्रीमती ७८ वर्षीया हरिकुमारी सुरेल पनि आफ्नो भाषा लोप हुन लागेकोमा चिन्ता लागेको बताउँछिन्। ‘खै अहिलेका युवा युवती र केटाकेटी आफ्नो भाषा बोल्नै रुचाउँदैनन्’ –हरिकुमारीले भनिन्।

जुनकी सुरेलको नाति १६ वर्षीय नरेश सुरेल भने हजुरआमाको कुरासँग सहमत छैनन्। नरेशको भनाइमा युवायुवती तथा केटाकटीले मन नपराएर सुरेल भाषा नबोलेका हैनन्। अभिभावकहरूले घरमा पनि आफ्नो भाषा नभई नेपाली भाषा नै बोल्ने गरेकाले आफूहरूले सुरेल भाषा सिक्न नसकेको नरेशको भनाइ छ। ‘घरमा कसैले पनि सुरेल भाषा बोल्दैनन्, सुरेल भाषाको लिपि र पाठ्यक्रम पनि छैन अनि कसरी हामीले आफ्नो भाषा सिक्न सक्छौं र’ –नरेशले भने। नरेशको कुरामा सही थाप्दै ११ वर्षीया आशिका सुरेलले पनि घरमा अभिभावकहरूले आफ्नो भाषा नबोल्ने भएकाले आफूहरूले सिक्न नसकेको गुनासो गरिन्। ‘आफ्नो भाषा जान्ने चाहना त छ नि’, आशिकाले भनिन्– े‘तर के गर्नु भाषा जान्नेहरूले बोल्दैनन् अनि हामीले कहाँबाट सिक्ने।’

सुरेल जाति उत्थान समाजका केन्द्रीय अध्यक्ष रमेश सुरेल भने अन्तरजातीय विवाहको कारण सुरेल भाषा क्रमशः लोप हँुदै गएको बताउँछन्। ‘धेरै सुरेल युवाहरूले अर्को जातिको महिला विवाह गरेका छन्, केही सुरेल युवतीहरू पनि अर्को जातिको केटासँग विवाह गरेर गएका छन्’, रमेशले भने– ‘त्यसैले पनि सुरेल भाषा क्रमशः लोप हँुदै गएको हो।’ भाषा र लिपि संरक्षणको लागि सुरेल भाषामा पाठ्यक्रम निर्माण गरी अध्यापन गराउनुपर्ने सुरेल जाति उत्थान समाजका केन्द्रीय अध्यक्ष रमेश सुरेल बताउँछन्। पछिल्लो तथ्यांकअनुसार १८ जना पुरुषले अन्य जातिको महिला विवाह गरेका छन् भने १७ जना महिला अन्य जातिको पुरुषसँग विवाह गरेर गएका छन्। सुरेलहरू किरात वंशको एक हाँगा हुन् भन्ने किंवदन्ती पाइन्छ। यिनीहरूको आफ्नै मातृभाषा, रीतिरिवाज र संस्कार संस्कृति रहेको छ। सुरेलले बोल्ने भाषा भोट बर्मेली परिवारमा पर्दछ।

सुरेलहरूको भाषा लोप हँुदै गए पनि संस्कार संस्कृति भने लोप भइनसकेको स्थानीय ७४ वर्षीया धनकुमारी सुरेल बताउँछिन्। ‘हामीले हाम्रो संस्कार संस्कृतिको जर्गेना गर्ने र भाषाको संरक्षण गर्ने काममा चासो दिनुपर्छ’ –धनकुमारीले भनिन्। नेपालको ९ लोपोन्मुख जातिमा पर्ने सुरलको जम्मा जनसंख्या २ सय ३७ रहेको छ। जसमा २० जना भारतको दार्जीलिङमा बस्दै आएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्