किसानलाई दाना बनाउने तालिम



 

नेपाल समाचारपत्र
स्याङ्जा
स्याङ्जाका व्यावसायिक किसानलाई तीनदिने दानाको गुणस्तरीयता तालिम प्रदान गरिएको छ। लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला ललितपुरको आयोजनामा जिल्लाका अगुवा किसानलाई दानाको गुणस्तर तालिम प्रदान गरिएको हो।

वालिङमा भएको तालिममा १५ जना व्यावसायिक किसानहरूको सहभागिता रहेको थियो। गुणस्तरीय दाना, दानाको छनोट र दाना बिग्रेको विषयमा किसानहरूलाई तालिमसँगै प्रशिक्षण गरिएको थियो।
बजारबाट खरिद गरिने दानामा पौष्टिक आहार कत्तिको हुन्छ भन्ने थाहासमेत नपाएका किसानहरूले यो तालिमपश्चात् दानाको छनोट र यसको प्रभावबारे थाहा पाइएको किसानहरूले बताएका छन्। पशुपंक्षीलाई प्रयोग गर्दै आएको दानाको गुणस्तर थाहा नपाउँदा व्यावसायिक किसानले मर्काको सामना गर्दै आएका थिए। गुणस्तरको मापन गर्न यो तालिमले सिकाएकाले अबका दिनमा सजिलो हुने महसुस भएको तालिममा सहभागी किसान चन्द्रकुमारी गुरुङले बताउनुभयो।

दानाको गुणस्तर नजान्दा हामीले व्यावसायिक रूपमा पालिएका कुखुरा नफस्टाएको गुरुङको तालिमपछिको अनुभव छ। कुन पशुपक्षीलाई कति दाना खुवाउनुपर्ने, कस्तो दाना खुवाउँदा फस्टाउने र गुणस्तरको मापन के हो भन्ने विषयमा किसानहरूलाई तालिम र प्रशिक्षण गराइएको लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका वरिष्ठ पशु विकास अधिकृत जीवलाल लम्सालले बताउनुभयो। ‘किसानको व्यवसायमा रुची त भएको तर दानाको उचित प्रयोग नगरिएको पायौं’, लम्सालले भन्नुभयो– ‘यो तालिमपश्चात् अब किसानमा केही सुधार आउने अपेक्षा हामीले लिएका छौं।’ देशभरि हेर्ने एउटै मात्र प्रयोगशाला रहेको कार्यालयले स्याङ्जालाई छनोट गरेर यो तालिम आयोजना गरिएको लम्सालले बताउनुभयो।

पछिल्लो समय स्याङ्जामा व्यावसायिक रूपले कुखुरापालन गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। व्यवासायिक रूपले कुखुरा पालनमा किसानले रुची देखाए पनि दानाको गुणस्तर नजान्दा कुखुराबाट किसानलाई खासै फाइदा भएको देखिँदैन। पशुपक्षीको पोषण र स्वास्थ्यमा सबैभन्दा बढी ध्यान दिनुपर्ने पशु विकास अधिकृत वालिङका हुमनारायण श्रेष्ठले बताउनुभयो। यो तालिमले स्याङ्जाका किसानहरूलाई थप ऊर्जा मिलेको श्रेष्ठको भनाइ छ। किसानलाई बेलाबेलामा यस्ता खालका तालिम उपलब्ध गराउन सकेमा किसानले सजिलोसँग आफ्नो व्यवसायलाई अगाडि बढाउन सक्ने विश्वास श्रेष्ठको थियो।

तीन दिनसम्म चलेको तालिमको समापन गर्दै वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनन्तराज गैह्रेले राज्यबाट प्रदान गरिएको जानकारीमूलक तालिमले व्यावसायिक किसानलाई फाइदा पुगेको महसुस भएको बताउनुभयो। तालिम सिक्ने मात्रै होइन गैह्रेले भन्नुभयो– ‘यसको सही बेला सही सदुपयोग गरेर आफ्नो पेसा व्यवसायलाई अगाडि बढाऔं।’ किसानका लागि तालिम पनि शिक्षा भएकाले किसानले यसको सदुपयोगमा ध्यान दिन गैहै्रले सहभागी किसानहरूलाई आग्रह गर्नुभयो। समापन कार्यक्रममा सहभागी किसान वेदप्रसाद खड्का, तिलकबहादुर गुरुङ, पशु विकास अधिकृत जनकराज धामीलगायतले बोल्नुभएको थियो। तालिममा कुखुरापालक, भैंसीपालक, बाख्रापालक किसानको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्