बाल संरक्षणका लागि गाउँ–गाउँमा योजना



 

नेपाल समाचारपत्र
हेटौंडा
कवानपुरका गाउँमा बालबालिकाको क्षेत्रमा काम गर्न योजना बनाइएको छ। स्थानीयरूपमा बाल संरक्षणका समस्या पहिचान गर्दै समस्या निराकरण गर्न सघाउ पुग्ने खालका योजना निर्माण गरिएका हुन्।

गाउँमा रहेका बाल संरक्षण समिति यसरी बालबालिकाको सवालमा योजना तर्जुमा कार्यमा लागिपरेका हुन्। राईगाउँ, बेतिनी, नामटार, चित्लाङ, सरिखेत, कालीकाटार, हेटौंडाको चुरियामाईलगायत गाउँमा बाल संरक्षणका सवालमा वार्षिक कार्ययोजना निर्माण गरिएका हुन्।

यसरी कार्ययोजना तयार पार्दा बालबालिकाका क्षेत्रमा कार्य भएर बालअधिकार संरक्षणमा टेवा पुग्ने बताइएको छ। स्थानीय बाल संरक्षण समितिमार्फत् बालबालिकाका लागि गर्नुपर्ने कार्य पहिचान गरी वार्षिक कार्ययोजना तयार पार्न बाल कल्याण समाज मकवानपुरले युनिसेफ नेपालको सहकार्यमा अभियान सञ्चालन गरिरहेको छ।

अभियानबाट गाउँगाउँमा बालसंरक्षणका समस्या पहिचान गरी कार्ययोजना बनाउन आफूहरू लागिपरेको समाजका कार्यक्रम संयोजक सुशीलराज गिरीले बताए। ‘गाउँगाउँमा बालअधिकार संरक्षणका लागि बनेका बाल संरक्षण समितिमार्फत् बाल संरक्षणमा टेवा पुग्ने अभियान चलाइरहेका छौं,’ उनले भने–संरक्षण समितिमार्फत् स्थानीयरूपमा आवश्यक जागरणमूलक कार्यदेखि सीपमूलक तालिमसम्मका योजना निर्माण गरिएका छन्। समितिले योजना बनाउँदा स्थानीय सरोकारवालासँग छलफल गर्ने उनले बताए।

राईगाउँस्थित बाल संरक्षण समितिकी सचिव पार्वती गोलेले आफ्नो क्षेत्रमा बीचमै विद्यालय छाड्ने, बालश्रम, बालविवाह, बालहिंसा, बहुविवाहलगायत समस्या भएकाले यी समस्या न्यूनीकरणमा सघाउ पुग्ने खालका कार्ययोजना तयार पारिएको बताइन्। उनले भनिन्– ‘हाम्रो ठाउँमा रहेका बाल संरक्षणका समस्या समाधानका लागि सघाउ पुर्याउन अभिभावक शिक्षा, अभिभावक स्वास्थ्य सचेतना, बालविवाहबारे सडकनाटक, किशोरी स्वास्थ्य सचेतना, मानव बेचबिखनविरुद्ध सचेतना, बालमैत्री शिक्षण सामग्री प्रदर्शन, बालभेलालगायत कार्यक्रम गर्न कार्ययोजना बनाएका छौं।’

साविक चुरियामाईंमा सक्रिय बाल संरक्षण समितिले बालबालिका दुव्र्यसनमा फसेको पाइएकाले उनीहरूलाई आवश्यक परामर्श प्रदान गर्ने कार्ययोजना बनाएको छ। बाल संरक्षण समितिकी अध्यक्ष सुनकेशरी रुम्बाले भनिन्– ‘यस क्षेत्रका बालबालिका दुव्र्यसनमा फस्ने गरेको पाइएको छ। यसैले यस्ता कार्यमा लाग्नबाट बचाउन उनीहरूलाई परामर्श प्रदान गर्ने योजना बनाएका छौं।’

मकवानपुरका साविक १५ गाविसमा काम भइरहेको कार्यक्रम संयोजक गिरीले बताए। उनका अनुसार मे महिनाबाट शुरू भएको ८ महिने परियोजनाले कार्यअवधिमा ५० बालबालिकालाई सहयोग गर्ने लक्ष्य लिएको छ। त्यसमा २० जना बालबालिकालाई २० हजार रुपियाँसम्म आर्थिक सहयोग गर्न सकिनेछ।
गाउँमा जोखिममा रहेका बालबालिका पहिचानदेखि उनीहरूलाई आवश्यक सहयोग सम्बन्धमा स्थानीय बाल संरक्षण समितिको निर्णयका आधारमा बाल कल्याणले काम गर्दै आएको छ। जोखिममा परेका बालबालिकादेखि उनीहरूलाई आवश्यक सहयोगसम्मको पहिचान बाल संरक्षण समितिमार्फत् गरिने भएकाले काम गर्न सहज भएको अभियानमा सक्रिय सामाजिक कार्यकर्ता शिवप्रसाद चौलागाईंले बताए।

प्रतिक्रिया दिनुहोस्