निद्रामा वीर्य स्खलन किन हुन्छ ? यसले स्वास्थ्यमा असर र सही उपचार बारे जानौं



पहिले सपना र यौनका सम्बन्धमा केही चर्चा गरौं । निदाइरहेका बेला एकपछि अर्को चित्र, विचार, भावना एवं संवेदना अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि कुनै व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ राम्रोसँग बुझ्न सकिएको छैन । सपना विशेष गरेर Rapid Eye Movement (REM) sleep (निद्रा) को स्थितिमा देखिन्छ । सपना विभिन्न किसिमका हुन्छन्, जस्तै डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी । यस्तो REM को स्थितिमा यौनाङ्गमा रगत भरिन्छ र पुरुषको लिङ्ग उत्तेजित अनि महिलामा योनिश्राव भएको पाइन्छ ।

 

यौनसम्बन्धी कुरा हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्छौं, तर यौनसम्बन्धी कुरा हामी निदाएको बेला पनि निरन्तर रूपमा चलिरहन्छ । निदाएका बेला लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । यो प्राय:जसो किशोरावस्थामा पहिलो पटक हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि प्राप्त गर्छन् । यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने wet dreams, night fall jf nocturnal emmisions जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ ।

किन निद्रामा वीर्य स्खलन भएको ?
यौन सपना किन देखिन्छ र किन निदाएको अवस्थामै यसरी वीर्य स्खलन हुन्छ ? यसको जवाफ दिन सजिलो छैन, तर सरल रूपमा भन्ने हो भने सामान्यत: प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि रागरस (सेक्स हार्मोन) ले यौन व्यग्रता तथा यौन तनाव बढाउँछ भने वीर्यको उत्पादनसमेत हुन थाल्छ । यसले स्वभाविक रूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्छ, जसलाई शान्त पार्नु पनि स्वभाविक नै हो । हस्तमैथुन वा यौनसम्पर्कबाट त्यस्तो अवसर प्राप्त हुन नसकेको स्थितिमा मानिसले यौनसपना देख्छ र पुरुषको हकमा वीर्य स्खलन तथा यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्छ । त्यसैगरी महिलामा योनिश्राव हुने र चरमसुखसम्म प्राप्त गरेको देखिन्छ । यसले के पनि संकेत गर्छ भने यौन तनाव शान्त पार्न तपाईंले गरेका प्रयास वा भनौं क्रियाकलाप पर्याप्त नभएको हुन सक्छ ।

भनिन्छ, यो यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै मिलाइदिएको एउटा स्वभाविक प्रक्रिया हो । अर्कातिर के कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ भने यौनसम्पर्क वा हस्तमैथुनजस्ता क्रियाकलापलाई सामान्य रूपमा जारी राख्दा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केही व्यक्तिले नियमित रूपमा पर्याप्त हस्तमैथुन वा यौनसम्पर्क गरे पनि उनीहरूले निरन्तर रूपमा यौन सपना देखेको पाइन्छ । अचेलका केही अनुसन्धानले यौन सपनालाई टेस्टेस्टेरोन नामक हार्मोनको शरीरमा हुने मात्रासँग जोडेका छन् । यौन सपना देख्ने व्यक्तिहरूमा टेस्टेस्टेरोनको मात्रा बढी भएको पाइन्छ ।

निद्रामा वीर्य स्खलनको उपचार
स्वप्न दोष कति पटकसम्म हुनु सामान्य हो भन्ने प्रश्नको जवाफ सजिलो छैन, यो व्यक्ति–व्यक्तिअनुसार फरक हुन्छ । तपाईंले धेरै भन्नुभए पनि कतिपटक लेख्नुभएको छैन । यो पक्कै हो कि कसैमा धेरै हुन्छ भने कसैमा थोरै हुन्छ । किशोरावस्था वा युवावस्थामा यो तुलनात्मक रूपमा धेरै हुन्छ । अविवाहित १५ वर्षको किशोरमा ३ हप्तामा एकपटक हुने देखिएको छ भने एकल वयस्क पुरुषमा ५ दशमलव ५ हप्तामा एकपटक हुने देखिन्छ । विवाहितमा भने केही कम हुन्छ, जस्तै १९ वर्षको विवाहित किशोरमा महिनामा एकपल्ट अनि ५० वर्षको विवाहित पुरुषमा २ महिनामा एकपल्ट यौनसपना देखिने घटना घट्न सक्छ । धेरै हस्तमैथुन गरिएको स्थितिमा पनि यौन सपना देख्ने कुरा कम भएको पाइन्छ । किशोरावस्था वा युवाअवस्थामा यौन भावना तथा व्यग्रता तीव्र हुन्छ र उनीहरू चेतन मनको धेरैजसो भाग यौनसम्बन्धी कुरा सोचेर बिताउँछन् । अध्ययनहरूले एक वर्षमा यस्तै ८ देखि १० पल्ट यौन सपना देखिन्छ भन्ने कुरा उल्लेख गरेका छन् । युवतीको हकमा पनि स्थिति यस्तै हो ।

उपचार के होला ?
सामान्य बोलीचालीको भाषामा यसलाई स्वप्नदोष भनिन्छ । दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ । पूर्वीय समाजमा वीर्य खेर जान दिनु हुँदैन भन्ने सोच विद्यमान थियो र अहिले पनि छ । वीर्य खेर गए कमजोरी हुने, शक्तिमा ह्रास आउने विश्वास गरिन्छ । त्यसैगरी संसारका अन्य भागमा १८ औं र १९ औँ शताब्दीमा विवाह बाहिर वा धेरै मात्रामा वीर्य स्खलन हुनुलाई spermatorrhea भन्ने खराबीको संज्ञा दिइन्थ्यो, तर यो कुनै दोष, समस्या वा खराबी नभै स्वभाविक र प्राकृतिक कुरा भएकाले यसको उपचारको आवश्यकता पर्दैन । स्वप्नदोषका सम्बन्धमा उचित जानकारी नपाइने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन् अनि आफूलाई कुनै गम्भीर रोग लागेको मान्छन् । यसलाई अन्य कतिपय कुरासँग जोडिन्छ । यद्यपि यसबाट कुनै हानिकारक असर हुँदैन ।

निद्रामा वीर्य स्खलनपछि के गर्ने ?
महिलामा त्यति चासोको विषय नभए पनि वीर्य स्खलन हुने पुरुषलाई केही असजिलो हुन्छ । यस्ता यौन उत्तेजक सपना देखिसकेर वीर्य स्खलन हुनासाथ कतिपय पुरुष बिउँझिन्छन् भने कतिपय वीर्य स्खलन हुनै लागेका बेला बिउँझिन्छन् । केहीको त निद्रा नै खुल्दैन र बिहान बिउँझिसकेपछि मात्र थाहा पाउँछन् । जे होस्, निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान दिनुपर्छ । वीर्य यौनाङ्ग क्षेत्रमा रहे संक्रमण हुने जोखिम हुन्छ । त्यसैले बिउँझिएपछि लिङ्ग, अण्डकोष तथा वरिपरिको क्षेत्र

साबुन–पानीले धुनुपर्छ ।
तन्ना वा लगाइएको पहिरनमा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुराले पनि उत्तिकै चिन्ता दिन्छ । अन्डर वेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्