आठराई त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी



 

ताप्लेजुङ, १७ असार । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विश्वनाथ सिटौला विजयी हुनु भएको छ ।

उहाँले दुई हजार २२७ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीबहादुर केक्सोले दुई हजार २१४ मत ल्याउनुभयो ।

उपाध्यक्षमा एमालेका मञ्जु भट्टराई दुई हजार १८१ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी काँग्रेसका ममता सुब्बाले दुई हजार २४ मत ल्याउनुभयो । आठराई त्रिवेणी नगरपालिकाको पाँच वडामध्ये दुई वडामा काँग्रेस, दुई वडामा एमाले र एक वडामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

वडा नं १ मा काँग्रेसका पूर्णकुमार सिटौलाको समूह, २ नं वडामा पनि काँग्रेसको सोमप्रसाद विमलीको समूह, ३ नं मा एमालेका देवी खरेलको समूह, ४ नं मा पनि एमालेको डम्बरबहादुर लिम्बूको समूह र वडा नं ५ मा नेकपा (माओवादी केन्द्र)का सन्तोष लिम्बू विजयी भएका छन् ।

यस्तै मिक्वा गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार सावा विजयी हुनुभएको छ । उहाँले एक हजार ४८४ मत ल्याउनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका भक्तबहादुर कार्कीले एक हजार ४५६ मत ल्याउनुभयो ।

उपाध्यक्षमा काँग्रेसका रद्रकुमारी लिम्बूले एक हजार ४८९ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका मीना पेदेनले एक हजार ३८२ मत ल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्