पारिजात स्मृति केन्द्र ः स्थापना र योगदान



मोहन दुवाल
साहित्यजगत्का होनहार व्यक्तित्व, साहित्यलेखन र क्रियाशीलतामा जीवन समर्पित गरेर गएका एकजना प्रतिभा, देवकोटापछिका लोकप्रिय साहित्यकार र अझ भनौं लेखिकाहरूका सर्वमान्य सर्वश्रेष्ठ स्रष्टा पारिजातको अवसान २०५० साल वैशाख ५ गते भएको हो।

मदन पुरस्कार प्राप्त गरिसकेकी सबैको मन र आँखामा छाइरहन सफल यिनीलाई जनमतका तर्फबाट सर्वप्रथम बनेपामा जनमत मासिकको पारिजात विशेष अङ्कसहित अभिनन्दन भएको थियो। पारिजात साहित्यिक अभियन्ता, मानवअधिकारका हिमायती, इन्द्रेणी सांस्कृतिक समाजका पथप्रदर्शक तथा प्रगतिशील लेखक–कलाकार संघका संस्थापक सक्रिय सदस्य, ‘उत्साह’ साहित्यिक मासिकका सम्पादक पनि हुन्। पारिजातको यस्तै खालको साहित्यिक, सांस्कृतिक, जनताप्रतिको वैचारिक अडान र सबै खालको कलात्मक योगदानको सम्मान गरेर शुभेच्छुकहरूले तत्कालै २०५० वैशाख २६ गते पारिजात स्मृति केन्द्रको स्थापना गरिएको हो।

उक्त पारिजात स्मृति केन्द्रले आफ्नो कार्यतालिका बनाएर लिपिबद्ध गरेका उद्देश्यहरूमा

(१) पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृति संरक्षण गरी यस संस्थाद्वारा निर्धारित प्राथमिकताअनुसार तिनलाई क्रमशः प्रकाशित गर्ने÷गराउने।

(२) लोककल्याणका दृष्टिकोणबाट प्राथमिकता निर्धारण गरी पारिजातका कृति स्वदेशी तथा विदेशी भाषामा अनुवाद गर्ने÷गराउने।

(३) पारिजातद्वारा प्रयुक्त वस्तु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने। (४) पारिजातको योगदानको यथोचित मूल्याङ्कन गर्न पारिजात स्मृतिग्रन्थ, अन्य सान्दर्भिक पुस्तक तथा पुस्तिका प्रकाशित गर्ने÷गराउने। (५) पारिजातको स्मृतिमा प्रत्येक वर्ष उहाँको जन्मजयन्ती मनाउने र परिचर्चा, गोष्ठी आदिको आयोजना गर्ने। (६) पारिजातको नाममा पुरस्कार स्थापना गरी सञ्चालन गर्ने।

(७) परस्पर आदानप्रदान तथा सरसहयोगका निमित्त स्वदेश तथा विदेशका साहित्यिक, सांस्कृतिक सङ्घ–संस्थासँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने।

(८) माथि उल्लिखित उद्देश्य प्राप्तिका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्रोत–साधन सङ्कलन गरी तिनको उचित व्यवस्थापन तथा सञ्चालन गर्ने।

यी माथि उल्लेख भएका उद्देश्यहरूका साथ स्मृति केन्द्र पारिजातका नाममा क्रियाशील छ। पारिजात निवास घरसँगैको म्हेपीमा विष्णुमतीकै छेउछाउमा केही जग्गा स्वामित्वमा प्राप्त गरेर पारिजात स्मृति केन्द्रको घर निर्माणको क्रममा संस्थालाई जोगाउने अभियानमा सक्रिय छन्।

पारिजातको स्मारक बनेको छ। प्रत्येक वर्ष, पारिजातको नाममा लेखक–कलाकार सङ्घर्षशील महिला प्रतिभाहरूको सम्मान हुँदै आएको देखिन्छ। प्रसिद्ध जनपक्षीय गायक तथा पारिजातका सक्रिय सहयोगी रायनको अध्यक्षतामा सदस्य–सचिव स्नेह साय्मि र कोषाध्यक्ष दिल वरदानको सक्रियतामा सिर्जनशील कार्यहरू हुँदै आएका छन्।

यस स्मृति केन्द्रका अन्य सदस्यहरूमा लक्ष्मी माली, डा. महेश मास्के, सुकन्या वाइवा, पदमरत्न तुलाधर, इन्दिरा दली, मातृका पोखरेल, वदन शर्मा र शार्दुल भट्टराईहरू संलग्न र सक्रिय छन्। म्हेपीकै पारिजात मार्गस्थित पारिजात स्मृति केन्द्रको कार्यालय अवस्थित छ। उद्देश्यमा समेटिएका थुप्रै कामहरूमा स्रष्टा÷द्रष्टाहरूको सम्मान गर्ने परम्परा २०५१ सालदेखि नै नियमितरूपमा सञ्चालन गर्दै आएको देखिन्छ। सम्मान गरिएका सिर्जनशील स्रष्टाहरूमा ‘पारिजात सृजन सम्मान’ बाट कुन्ता शर्मा (२०५१), इस्माली (२०५२), पूर्णविराम (२०५३), सुरेशकिरण मानन्धर (२०५४), घनश्याम ढकाल (२०५५), मित्रलाल पंज्ञानी (२०५६), डा. ताराकान्त पाण्डेय (२०५७), रोशन जनकपुरी (अरविन्दकुमार लाल–२०५८), कृष्ण सेन ‘इच्छुक’ (२०५९), वासुदेव अधिकारी (२०६०), सुधा त्रिपाठी (२०६१), हरिगोविन्द लुइँटेल (२०६२), डा. जगदीशचन्द्र भण्डारी (२०६३), बूँद राना (२०६४), निनु चापागाईं (२०६५), रमेशरञ्जन झा (२०६६), निभा शाह (२०६७), विमल निभा (२०६८), चैतन्य (मोहन वैद्य ‘किरण’–२०६९), प्रदीप नेपाल (२०७०), पुरुषोत्तम सुवेदी (२०७१), मोहन दुवाल (२०७२) र हेमनाथ पौडेल (२०७३) सम्मानित भएका छन्।

नारी मुक्ति अभियानमा सक्रिय रूपले लागेकी पारिजातले महिलाहरूको समूह बनाएर चेतना स्फुरण गर्ने अभियानमा लागेर भेटघाट गर्ने, अध्ययन–कक्ष सञ्चालन गर्ने लगायत थुप्रै खालका कार्यहरू सञ्चालन गरेको देखिन्छ। नारी मुक्ति नभएसम्म देशकै मुक्ति नहुने धारणा बोकेर चेतनाका फाँटहरू हुर्काउँदै आएकी पारिजातले प्रगतिशील वैचारिक धरातललाई आफ्नो पृष्ठभूमि बनाएर सक्रिय रूपले लागेको देखिन्छ। महिला आन्दोलनकै हस्ती, सङ्घर्षशील नारीका रूपमा पनि चिरपरिचित पारिजातको नाममा स्थापित ‘पारिजात सङ्घर्षशील नारी’ सम्मानले सम्मानित हुने नारीहरूमा राममाया नेपाली (२०५१), सुशीलादेवी चालिसे (२०५२), मोतीदेवी श्रेष्ठ (२०५३), नानीमैया नकर्मी (२०५४), राजेश्वरी सिंह (२०५५), साधना प्रधान (२०५६), चम्पा राना (२०५७), मरनीदेवी शाह (२०५८), शान्ता श्रेष्ठ (२०५९), छायादेवी पराजुली (२०६०), बमकुमारी बुढामगर (२०६१), शान्ता मानवी (२०६२), सन्तोषी विक (सन्ध्या–२०६३), रामकुमारी झाँक्री (२०६४), कमला नहर्की (२०६५), डा. रेणु राजभण्डारी (२०६६), शान्ता चौधरी (२०६७), विष्णुदेवी श्रेष्ठ (मुक्ता–२०६८), सहना प्रधान (२०६९), शान्तिकुमारी राई (२०७०), मिठाइदेवी विश्वकर्मा (२०७१), मसिनीमाया स्याङ्वा (२०७२), शशि श्रेष्ठ (२०७३) सम्मानित भएको देखिन्छ। राणाकालीन अँध्यारो कालरात्रिका विरुद्ध जुझेर प्रजातन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्नेहरूदेखि गणतान्त्रिक आन्दोलनसम्मका जुझारू महिलाहरूको सम्मान गर्ने कार्य गरेर यस केन्द्रले निकै महत्वपूर्ण कार्य गरेको प्रमाणित हुन्छ। ‘सृजन सम्मान’ प्राप्त गर्नेहरूमा पनि प्रगतिवादी चेतका सक्रिय लेखकहरूलाई सम्मान गरेको देखिन्छ। सम्मान गरिँदाका नाममा वरियताक्रम भत्किएको जस्तो, क्रम नमिलेजस्तो देखिँदो भए तापनि सम्मान गर्ने कार्यमा निरन्तरता देखाएर केन्द्र धन्य भएको छ।
यसै गरी पारिजात कला सम्मानले सम्मानित भइसकेका कलाकारहरूमा मोहन खड्का (२०५८), कुलमानसिंह भण्डारी (२०५९), हरिदर्शनधारी (२०६०), रामेश (२०६१), जेबी टुहुरे (२०६२), खुशीराम पाख्रिन (२०६३), किरण मानन्धर (२०६४), रामकृष्ण भण्डारी (२०६५), मानन्धर ल्याम्ह पुचः डाफा गुठी (२०६६), वदन शर्मा (२०६७), इन्द्रेणी सांस्कृतिक समाज (कीर्तिपुर–२०६८), नारदमणि हार्तम्छाली ‘कलाङ’ (२०६९), राजन काफ्ले (२०७०), जीवन शर्मा (२०७१), रविन साय्मि (२०७२) र श्याम तमोट छन्। चित्र कोर्ने कलाकार, गीत÷सङ्गीतमा सक्रिय गायक तथा सङ्गीतकारलाई दिँदै आएको यस सम्मानले जनपक्षीय कलाकार तथा गायक–सङ्गीतकारहरूलाई राष्ट्रमा चिनाउन सफल भएका छन्। यो कलाकार सम्मान २०५८ सालदेखि मात्र प्रदान गरेको देखिन्छ। वि.सं. २०७० देखि सम्मान गर्दै आएको ‘पारिजात बाल–साहित्य’ सम्मानले सम्मानित हुने बालसाहित्यकारहरूमा शान्तदास मानन्धर (२०७०), शारदारमण नेपाल (२०७१), विनयकुमार कसजू (२०७२) र विजय चालिसे (२०७३) सम्मानित भएका छन्।

पारिजातको नाममा बाल–साहित्य पाण्डुलिपि सम्मान प्राप्त गर्नेहरूमा रवीन नेपाली (२०५७), शाश्वत पराजुली (२०५८), दोर्जे छिरिङ लेप्चा (२०५९), लक्ष्मी उप्रेती (२०६०), सुकुम शर्मा (२०६१), अनन्तप्रसाद वाग्ले (२०६२), सौरभकिरण श्रेष्ठ (२०६३), अमर न्यौपाने (२०६४), माधव सयपत्री (२०६५) र विजयराज आचार्य (२०६६) छन्। पारिजात बाल–साहित्य पाण्डुलिपि प्रशंसापत्र प्राप्त गर्नेहरूमा सङ्गीत श्रोता, सविना सिन्धु, केदार श्रेष्ठहरू छन्। पारिजातका गरिमामय सिर्जना, साहित्यिक अभियानमा उनले पुर्याएर गएको यात्रा–प्रसङ्गहरू र जनता–देशका पक्षमा निरन्तर पुर्याएर गएका योगदानहरूलाई लिपिबद्ध गर्न र सिर्जनाहरूलाई अन्तर्राष्ट्रिय जगत्मा समेत पुर्याउन यस ‘पारिजात स्मृति केन्द्र’ले अवश्य प्रभावकारी भूमिका निभाउनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्